प्रहरी भन्छ— तत्काल निगमको भवन खाली गर्न सकिन्न

महानगरीय ट्राफिक महाशाखापछिको नेसनल टे«डिङको करिब ३५ रोपनी जग्गा किन्ने प्रक्रिया अघि बढेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महाशाखाको कार्यालय राख्ने गरी सरकारले जग्गा प्रहरीलाई किनिदिने तयारी गरेको छ ।

काठमाडौं : काठमाडौं प्रहरी र महानगरीय अपराध महाशाखाको कार्यालय कहाँ स्थापना गर्ने भन्ने वैकल्पिक व्यवस्था नभएसम्म नेपाल आयल निगमको भवन खाली गर्न नसकिने प्रहरीले जनाएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पमा हनुमानढोकास्थित प्रहरीको भवन चर्किएर बस्न नहुने भएपछि काठमाडौं प्रहरी र महाशाखाको कार्यालय टेकुस्थित नेसनल ट्रेडिङको भवनमा सारिएको थियो ।

त्यति बेला जिल्ला सुरक्षा व्यवस्था समितिको निर्णय गराएर दुवै प्रहरी कार्यालय त्यहाँ सारिएको थियो । अहिले दुवै प्रहरीले प्रयोग गर्दै आएको भवन निगमले नेसनल ट्रेडिङबाट २०७४ असार ११ गते आफ्नो नाममा ल्याएको बताएको छ । प्रहरी बसेको भवनमा आफ्नो कार्यालय सार्ने भन्दै निगमले उक्त भवन खाली गर्न प्रहरीलाई ताकेता गरिरहेको छ । तर पनि प्रहरी अहिल्यै सरिहाल्ने पक्षमा छैन ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम कार्कीले क्यापिटल नेपालसँग कुरा गर्दै भने, ‘हामी दुवै सरकारी निकाय हौं, सरकारले हामीलाई अन्यत्र व्यवस्था नगरेसम्म हामी कहाँ जानु ? निगमले जग्गा खाली गर्न भनेपछि हामीले त्यसको विकल्प हेरेका छौं, प्रहरीलाई आवश्यक भवन निमार्ण गर्न नेसनल ट्रेडिङको रामशाहपथमा रहेको जग्गा किन्ने प्रक्रिया अघि बढेको छ ।’

महानगरीय ट्राफिक महाशाखापछिको नेसनल टे«डिङको करिब ३५ रोपनी जग्गा किन्ने प्रक्रिया अघि बढेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महाशाखाको कार्यालय राख्ने गरी सरकारले जग्गा प्रहरीलाई किनिदिने तयारी गरेको छ । गत सोमबार निगमले परिसर र महाशाखालाई पत्र काटेर प्रहरीले प्रयोग गर्दै आएको नेसनल ट्रेडिङको भवन खाली गर्न भनेको थियो ।

भूकम्पले निगमको बबरमहलस्थित कार्यालय चर्किएको र त्यहाँ पुनर्निर्माण आवश्यक भएकाले निगमको कार्यालय राख्न प्रहरी बसेको घर खाली गर्ने उद्देश्यले निगमले प्रहरीलाई पत्र पठाएको थियो । निगमले सो भवन तथा जग्गा किनेको र हाल भएका प्रहरी कार्यालय अन्यत्र सार्न गृह मन्त्रालय र आपूर्ति मन्त्रालयलाई गत कात्तिक ७ गते नै पत्राचार गरेको जानकारी गराउँदै कार्यालय खाली गरिदिन आग्रहसमेत गरेको जनाएको छ ।