मेघौली सेराई : द सेकेन्ड प्याराडाइज

उखरमाउलो गर्मीबीच शान्त वातावरणको खोजी कसले पो नगर्ला र ? झन्, चितवनको गर्मीमा शान्त ठाउँ होस् भन्ने कल्पना त्यहाँ पुगेका पर्यटकले नगर्ने कुरै भएन ।
गर्मीमा पसिना बगाइरहँदा कल्पनामा आउन सक्छ, वरपर हरियो जङ्गल, छेउमा नदी बगेको शान्त ठाउँमा ‘मीठो हावा खान पाए’ कस्तो हुँदो हो ?
यही कल्पनालाई साकार पारिदिन्छ, चितवनमा गत वर्षदेखि सञ्चालनमा आएको मेघौली सेराईले । सेराई राप्ती नदीको किनारमा शान्त हावासँग सुसेली खेलिरहेका पक्षीहरुबीच भेटिन्छ, नजिकैको हरियो जङ्गलको केन्द्रमा भएको
‘ह्वाइट हाउस’जस्तै । तर, यसको बाहिरी रङ सेतो छैन, माटो कलरको छ ।


प्राकृतिक सौन्दर्यका हिसाबले कुनै ‘प्याराडाइज’ पुगेजस्तो लाग्ने सेराईको विशेषताचाहिँ ‘हस्पिटालिटी’ हो । किनकि, गेटमा पुग्दा÷नपुग्दै रिसोर्टका ‘ट्रेन्ड’ स्टाफहरुको मुस्कानले भरतपुरबाट ३० किलोमिटर छिचोल्दाको हैरानी बिर्साइदिन्छ । झन्, मीठो स्वरमा नेपाली ब्रान्डलाई चिनाउन थालिसकेको गीत ‘रेसम फिरिरि…’ सुन्दा त्यहाँ पुग्नेको मन आह्लादित भइहाल्छ ।
यहाँका स्टाफहरुको मन यही होटल फैलिएको १० बिगाहाभन्दा कैयौँ गुणा ठूलो भएको थाहा पाउन लामो समय पर्खिनैपर्दैन, होटलभित्र छिर्दा÷नछिर्दै आउने ‘रिफ्रेसमेन्ट ड्रिङ्क्स’ले आभास दिलाउँछ । अनि मन शान्त हुन थाल्छ– यहाँ राखिएका कलात्मक सजावटले । केही मिनेटमै सब दुःख बिर्साइदिने आतिथ्यले होटललाई थप विशिष्ट बनाएको छ ।
त्यसो त यो होटल अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको भएकाले पनि सानातिना उल्झन आउँदैनन् । झन्, यसलाई भारतको ताज होटलले व्यवस्थापन गरेको छ । ताजको व्यवस्थापन, नेपाली स्टाफको आतिथ्य तथा पर्यटकको रुचिअनुसार व्यवस्था हुने भिल्लाले नेपाली सन्दर्भमा मेघौली सेराईलाई झन् विशिष्ट बनाएका छन् ।

स्थानीय ठाउँको नामबाट लिइएको यो होटलमा १७ ओटा त भिल्लामात्र छन् । प्रत्येक भिल्लाको पछाडि प्राइभेट स्विमिङ पुल पनि छन् । ती प्राइभेट भिल्लाका भित्ता कलात्मका छन्, जसमा थारु संस्कृति झल्किन्छ । झन् विशेष त के भने यी प्रत्येक भिल्लाबाट राप्ती खोला र जङ्गल देखिन्छ । स्थानीय सीप प्रयोग गरेर बनाइएको फर्निसिङले कोठालाई आकर्षक बनाएको छ ।
अन्तर्राष्ट्रियस्तरका यी भिल्ला किन पनि विशेष छन् भने प्रत्येक भिल्लामा नुहाउने ठाउँ दुईओटा छन् । भित्रै ठूलो झरना स्टाइलको ‘सावर’ छ भने चार पाइलाको फरकमा परम्परागत ढुङ्गे धाराको डिजाइन छ । भिल्लाभित्र भए पनि ढुङ्गे धाराको माथि छानो छैन । यसले त्यहाँ नुहाउनेलाई महसुस गराउँछ– साँच्चिकै म प्राकृतिक रुपमा सार्वजनिक ढुङ्गे धारामा नुहाइरहेको छु । यस्तो झरना स्टाइलको ढुङ्गे धारामा नुहाउन मन नहुनेलाई बाथटबमा नुहाउने सुविधा त छँदै छ ।
होइन, भिल्लामा बस्न मन छैन भने पनि चिन्तित हुनुपर्दैन । किनकि, होटलमा १२ ओटा कोठा छन्, जसमध्ये एउटाचाहिँ ‘प्रेसिडेन्सियल सुइट’ हो । तीनतले भवनको छतबाट त परसम्म चितवन राष्ट्रिय निकुन्जको फैलावट देख्न सकिन्छ ।
स्थानीय सीप प्रयोग गरिएको होटलका भिल्लाका कलाले मनलाई झङ्कृत पारिदिन्छन् । स्थानीय सीप, थारु संस्कृति झल्किने होटलको विशेषता आधुनिक प्रविधिमा पनि उच्चस्तरीय सेवा हुनु हो । प्रत्येक कोठामा वाइफाई र एसीको ‘स्पिड’ लोभलाग्दो भएकाले यो होटल ‘घरभन्दा बाहिरको घर’ भन्दा फरक नपर्ला ।

 

 

भारतीय चेन होटल ताजको व्यवस्थापनले निखारिएको यो होटलले पर्यटकलाई जङ्गल सफारी पनि गराउँछ । हात्तीमा जङ्गल सफारी गर्दा अरु कैयौँ जनावर र पन्छीसँग जम्काभेट हुन्छ । ‘मोडिफाइड जिप’मा राष्ट्रिय निकुञ्जका कुनाकाप्चामा पुग्दा सँगै रहेका ‘टुर गाइड’ले पर्याप्त जानकारी पनि दिन्छन् । पाँच सय ५० प्रजातिका चरा र ६८ प्रजातिका वन्यजन्तु रहेको निकुञ्जको घुमफिर जीवनकै अविस्मरणीय पल बन्नेमा निर्धक्क हुन जोसुकै सक्छन् । सफारीमा एकसिङ्गे गैंडा, बेङ्गाल टाइगर र जङ्गली हात्ती नजिकै देख्नु कुनै आश्चर्य होइन । झन्, हात्ती सफारीमा त जङ्गलका रुखहरुबाट झुलेका पातहरुले स्पर्श गर्दा छुट्टै आनन्द आउँछ । सफारी नगर्ने हो भने होटलले ‘जङ्गल वाक’को पनि व्यवस्था गरेको छ । त्यसैले पनि ‘एडभेन्चर लभर’का लागि सेराई एकमात्र गन्तव्य मान्न सकिन्छ ।

 

भौतिक सौन्दर्य र हार्दिकताले मात्र होइन, सेराई स्वादले पनि विशेष छ । होटलमा नेपाली र स्थानीय मात्र होइन, अन्तर्राष्ट्रिय परिकार पनि पाइन्छ । र, झन् विशेषचाहिँ के भने यी परिकार चरेसको थालमा मात्र होइन, चारपाटे ढुङ्गाको थालमा पनि आउन सक्छन् । त्यसमा केराको पात राखेर झन् विशेष बनाइएको हुन्छ । र, १० कचौरामा आउने विभिन्न तरकारी, अचार तथा गेडागुडीको स्वाद कतिसम्म मीठो हुन्छ भने त्यो परैबाट आएको वासनाबाट अनुमान गर्न सकिन्छ । यो खाना जिब्रोमा पुगेपछि चाहिँ भुल्नै सकिँदैन । अनि अग्र्यानिक खाना भएकाले पर्यटकको स्वास्थ्यप्रति होटल कति सजग छ भन्ने पनि प्रमाणित गर्छ । होटलले आफ्नै क्षेत्रभित्र अग्र्यानिक उत्पादनका लागि ठाउँ छुट्ट्याएको छ । यो ठाउँ होटल परिसरमै भएकाले पर्यटक आफैले त्यहाँका उत्पादन टिपेर पकाउनसमेत सक्छन् ।
७० करोड रुपैयाँ लागतमा बनेको होटलले आफ्नै परिसरमा थारु भिलेज पनि बनाएको छ । चारओटा भवनमा होटलले थारु संस्कृति झल्काउन उनीहरुले प्रयोग गर्ने औजारहरु राखेको छ । साँझ थारु नाचले पर्यटकको स्वागत गर्ने यो होटल पुग्नु भनेको स्वर्गको अनुभूति गर्नु हो भन्दा फरक नपर्ला ।

  • तस्विरहरु: मेघौली सेराई