होसियार, सेफ्टी पिनमा पर्नुहोला !

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्र उपत्यकाभित्रका तीन जिल्लामा चल्ने सवारीसाधनभित्र विभिन्न हर्कत गर्ने १ सय १६ जनालाई प्रहरीले समातेको छ । तीमध्ये ३२ जनामाथि मुद्दा दायर गरिएको छ । सार्वजनिक सवारीमा महिलामाथि हुने दुर्व्यवहार झनै बढेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी एसएसपी पूजा सिंहले बताइन् ।

काठमाडौं : करिब ३ महिनाअघि काठमाडौंकोे डल्लु क्षेत्रमा चल्ने सार्वजनिक सवारीसाधनमा एक युवाले आपत्तिजनक भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरे । एक जना युवतीलाई लक्षित गर्दै ती युवाले गरेको हर्कत सामाजिक सञ्जाल हुँदै पत्रपत्रिकामा समेत भाइरल भयो ।

ती युवाको प्रहरीले अहिले खोजी गरिरहेको छ । महानगरीय अपराध महाशाखाको एक टोली ती युवाको खोजीमा जुटेको छ । ती युवाको हर्कतपछि भएको खैलाबेलालाई प्रहरी प्रधान कार्यालयलाई समेत गम्भीर बनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले एक विज्ञप्ति जारी गरेरै सो घटनाले प्रहरीको ध्यान केन्द्रित भएको बताएका छन् ।

यो त एक प्रतिनिधि घटना मात्र हो, अहिले पनि दिनहुँजसो राजधानीमा चल्ने सवारीसाधनमा हुने यौनजन्य हिंसाका घटना अन्त्य भएका छैनन् । सवारीसाधनमा हुने यौनजन्य हिंसा रोक्न महानगरीय प्रहरी कार्यालयको निगरानीमा गत साउनदेखि ‘सेफ्टी पिन अपरेसन’ सञ्चालन गर्दै आएको छ । र पनि त्यस्ता घटना भइरहेका छन् । अपरेसनमा ४ सयभन्दा बढीलाई कारबाही गरिसकिएको छ ।

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्र उपत्यकाभित्रका तीन जिल्लामा चल्ने सवारीसाधनभित्र विभिन्न हर्कत गर्ने १ सय १६ जनालाई प्रहरीले समातेको छ । तीमध्ये ३२ जनामाथि मुद्दा दायर गरिएको छ । सार्वजनिक सवारीमा महिलामाथि हुने दुर्व्यवहार झनै बढेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी एसएसपी पूजा सिंहले बताइन् ।

अपरेसनकै लागि महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीबाट पाँच टोली, काठमाडौं प्ररिसरबाट १५ टोली, ललितपुर परिसरबाट १० टोली र भक्तपुरबाट तीन टोली गरी ३३ टोलीले सार्वजानिक यातायातभित्र निगरानी बढाउँदै आएका छन् । ‘महिलामाथि हुने हिंसा रोक्न बिहानदेखि बेलुकासम्म उपत्यकाभित्र चल्ने सार्वजानिक यातायातभित्र सादा पोसाकमा प्रहरी खटिएका हुन्छन्,’ उनले भनिन् ।

‘सार्वजनिक सवारीमा कुनै क्रियाकलाप भएको जानकारी पाए वा खबर गर्नेबित्तिकै हामी एक्सनमा जान्छौं,’ उनले भनिन्, ‘त्यसमा सबैको सहयोग चाहिन्छ ।’ प्रहरीका अनुसार अफिस समय र भीड भएका गाडीमा महिला दुर्व्यवहार बढी भएको पाइएको छ ।

सवारीसाधनमा हुने अराजक गतिविधिको सूचना दिन परिचय गोप्य राखिने प्रवक्ता एसएसपी सिंहले बताइन् । सवारीसाधनभित्र बढ्दो महिला हिंसा रोक्न प्रहरी कठोर भएर जाग्ने भन्दै आईजीपी सर्वेन्द्र खनालले समेत प्रतिक्रिया दिँदै आएका छन् ।

‘बसभित्र त्यस्तो हर्कत गरेको देख्नेबित्तिकै १०० मा म्यासेज गर्न मिल्छ । फोन गर्न गाह्रो भए म्यासेज गर्नुहोस्, हामी तत्काल रेस्पोन्स गर्नेछौं,’ उनले भनिन् ।

यसैबीच बसभित्र हुने महिलामाथिको यौनजन्य हिंसा रोक्नुपर्ने भन्दै शुक्रबार युवतीहरुको एउटा समूह प्रहरीसमक्ष पुगेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा पुगेर उनीहरुले यस विषयमा ध्यानाकर्षण गराएका थिए ।

के हो अपरेसन सेफ्टी पिन ?

उपत्यकामा चल्ने सार्वजानिक यातायातमा सवार महिलालाई विभिन्न प्रकारका हिंसा हुने गरेको गुनासो र उजुरी बढ्यो । त्यसपछि महानगरीय प्रहरी आयुक्त कार्यालयले सम्बन्धित क्षेत्रका जानकारसँग समन्वय गरी त्यस्ता व्यक्तिलाई तह लगाउन अभियान थाल्यो । त्यही अभियानको नाम हो— अपरेसन सेफ्टी पिन ।

‘अपरेसन सेफ्टी पिन’मा एक महिला प्रहरी र दुई पुरुष प्रहरी सादा पोसाकमा खटिने गरेका छन् । त्यो टोली जति बेला पनि सार्वजनिक यातायातभित्रै हुन्छ । तर त्यो कुरा अन्यलाई थाहा हुँदैन । जब कुनै पनि व्यक्तिले महिलामाथि विभिन्न हर्कत गर्न खोज्छ, टोलीले त्यस्ता व्यक्ति नियन्त्रणमा लिएर सम्बन्धित क्षेत्रका प्रहरी बोलाएर जिम्मा लगाउने गरेको छ ।