आफ्नै घर आउन दिन्न सरकार

गुल्मीकी मीना भण्डारी पनि दुबई गएको १३ वर्ष भयो । सन् २००६ मा दुबई गएकी उनी पनि घरेलु कामदारकै रुपमा काम गर्दै आएकी छन् । उनलाई १३ वर्षसम्म यहाँ बस्दा कुनै दुःख भएन । दुई वर्षअघिसम्म मीनालाई घर जानआउन कुनै रोकावट थिएन । हाँसीखुसी एकमहिने छुट्टी बिताएर मीना फर्किने गरेकी थिइन् । उनलाई पनि त सरकारले रोकिदिएको छ ।

काठमाडौं । नवलपरासीकी लक्ष्मी पौडेल घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा सयुक्त अरब इमिरेटस (यूएई) गएको ९ वर्ष भयो । सन् २०१० देखि पौडेल (यूएई) को दुबईमा एक जनाको घरमा काम गर्दै आएकी छन् । सोही रोजगारीमार्फत लक्ष्मीले तीन जनाको परिवार हुर्काउँदै आएकी छन् ।

तर उनी घर आउन नपाएको २ वर्ष हुन लाग्यो । लक्ष्मीलाई घर आउजाउको हवाई टिकट तथा एक महिनाको बिदा मिलेको छ । र पनि उनी घर आउन पाएकी छैनन् । लक्ष्मीको घर आउने बाटो सरकारले छेकेको छ । दुई साताअघि हप्ता दुबईको बुर्जुमानमा भेटिएकी लक्ष्मीले भनिन्, ‘साहुले घरपरिवारलाई भेटेर आऊ भनेका छन् । तर मसँग घर जाने आँट छैन, गएपछि सरकारले यता आउन दिँदैन, अनि मैले कसरी तीन जनाको परिवार पाल्ने ? साहुहरुले आफ्नै छोरी जस्तै गरी घरमा राखेका छन्, म घर जान नपाउँदा उनीहरुसमेत दुःखी छन् । यो कुरा मेरो सरकारले बुझेन । र आँखाभरि आँसु झार्दै लक्ष्मीले भनिन्, ‘घर जाऊँ, यहा आउन पाइँदैन । नेपालमा गरीखाने बाटो छैन, नजाऊँ बच्चाहरुको साह्रै याद आउँछ ।’

लक्ष्मीसँगै भेटिएकी गुल्मीकी मीना भण्डारी पनि दुबई गएको १३ वर्ष भयो । सन् २००६ मा दुबई गएकी उनी पनि घरेलु कामदारकै रुपमा काम गर्दै आएकी छन् । उनलाई १३ वर्षसम्म यहाँ बस्दा कुनै दुःख भएन । दुई वर्षअघिसम्म मीनालाई घर जानआउन कुनै रोकावट थिएन । हाँसीखुसी एकमहिने छुट्टी बिताएर मीना फर्किने गरेकी थिइन् । उनलाई पनि त सरकारले रोकिदिएको छ ।

करिब एक महिनाअघि १ लाख १० हजार तिरेर दुबई आएकी अर्की घरेलु कामदार देवी केसीको दुःख पनि सानो छैन । घरमै पुगेका दलाललाई १ लाख १० हजार तिरेर भारतको राजधानीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई पुगेकी उनको पनि पीडा बेग्लै छ ।

‘नेपालबाट सीधै आउन पाएको भए चार घण्टामा यहाँ आउन पाइन्थ्यो, सात दिन लगाएर यहाँ आएँ, नआऊँ भने नेपालमा गरीखाने बाटो छैन । दलालको पछि लागेरै यहाँ आएँ,’ उनले भनिन्, ‘दलाललाई करिब २ लाख तिरेर यहाँ आउने दिदीबहीनी दिल्लीमा छ्यापछयपती छन्, सरकारले रोख्ने नै हो भने पहिला हामीलाई नेपालमा गरी खाने बाटो देखाओस् । अनि भारतबाट आउने अवैध बाटो पनि बन्द गरोस् । हामीलाई यसरी आउन रहर छैन ।’

करिब २ वर्षदेखि घर जान नपाएकी लक्ष्मीले सरकारले नै दलाललाई पोस्ने गरेको बताइन् । ‘हामीलाई कुनै दुःख छैन हामी बिदामा गएर फर्कन चाहन्छौं भने किन रोक्ने ?’ उनले भनिन्, ‘राज्यले हामीलाई केही व्यवस्था गर्नुपर्यो । होइन भने हामीलाई गरेर खान दिनुपर्यो । हामीलाई घरमा बस्न मन छ । तर के गर्नु हाम्रो जीवन चलाउनुपर्यो नि । हामीलाई दुःख भए किन फर्कन चाहन्थ्यौं ?’

दुबईको जुमेरामा भेटिएकी यी तीन जना त एक उदाहरण मात्र हुन् । यूएईस्थित नेपाली दूतावासका अनुसार ५० हजार घरेलु कामदार महिला यूएईमा कार्यरत छन् । उनीहरुलाई सरकारले घर आउने बाटो बन्द गरेको छ । २०७३ चैत २० गतेदेखि सरकारले घरेलु कामदारको श्रम स्वीकृति रोकेपछि उनीहरुको घर आउने बाटो बन्द भएको हो । सरकारी निर्णयले खाडीमा काम गर्ने खासगरी महिला प्रभावित भएका छन् ।

नयाँले जान नपाउनु ठीकै हो, तर बर्सौंदेखि कार्यरत ५० हजारभन्दा बढी महिलाको घर आउने बाटो रोकिएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनपछि २०७३ चैत २० गतेदेखि सरकारले खाडीमा घरेलु कामदारमा जान रोक लगाएको थियो ।

तत्कालीन समितिका सभापति प्रभु शाहले खाडीका विभिन्न मुलुकको भ्रमण गरी घरेलु कामदारमा जान रोक्न सरकारलाई सुझाव दिएका थिए । सरकारले घरेलु कामदारको श्रम स्वीकृति रोक्दा समस्या समाधान हुनुभन्दा झनै बढेको छ ।

खाडी जाने कामदार दलालमार्फत गन्तव्य पुग्ने गरेका छन् । त्यसरी जाँदा मानव तस्करको जालोमा पर्ने गरेका छन् । स्रोतका अनुसार दैनिक १० देखि १५ जना युवती डेढ लाखभन्दा बढी खर्च गरेर भारतीय बाटो हुँदै खाडी मुलुक पुग्ने गरेका छन् । त्यसरी जाँदा कतिपयमाथि बाटोमा यौन र अन्य दुव्र्यहारका प्रयास एवम् घटना हुने जोखिम पनि हुन्छ ।