चोर बटुल्दै काठमाडौं प्रहरी

चोरीका घटनालाई शून्यमा झार्न अहिले काठमाडौं प्रहरी सक्रिय छ । केही समयअघि प्रहरीले ८० जनाभन्दा पाकेटमारलाई पक्राउ गर्यो, पक्राउ परेका अधिकांश पाकेटमार पनि प्रहरी हिरासतमा छन् । केहीको मुद्दा अदालतमा पुगेको प्रहरीले जनाएको छ ।

काठमाडौं : हिजोआज काठमाडौंमा चोरीका घटना भएको खबर कमै सुनिने गरेका छन् ।

किन त ?

यसको कारण यस्तो छ, किनभने प्रहरीले काठमाडौंका चोरलाई पक्रिएर हिरासतमा राखेको छ । त्यसैले अहिले छिटफुटबाहेक चोरीका घटना नभएको प्रहरी दाबी छ ।

चोरीका घटनालाई शून्यमा झार्न अहिले काठमाडौं प्रहरी सक्रिय छ । केही समयअघि प्रहरीले ८० जनाभन्दा पाकेटमारलाई पक्राउ गर्यो, पक्राउ परेका अधिकांश पाकेटमार पनि प्रहरी हिरासतमा छन् । केहीको मुद्दा अदालतमा पुगेको प्रहरीले जनाएको छ ।

पाकेटमारपछि अहिले काठमाडौं प्रहरी चोर बटुल्ने अभियानमा जुटेको छ । करिब २ साताको अवधिमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ७० भन्दा बढी चोरलाई पक्राउ गरेको छ ।

पक्राउ परेका चोरले अन्य चोरको सूचना दिएको र ती चोर पक्राउ पर्न बाँकी रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए ।

‘काठमाडौंभरिका पाकेटमार पक्राउ गर्यौं, त्यसले राम्रो सन्देश दियो । काठमाडौंमा अहिले पाकेटमारी छैन । त्यसैगरी हामीले चोरी निर्मूल पार्न चोर पक्राउ अभियान थालेका छौं, ७० जनाको हाराहारीमा चोर पक्राउ परेका छन् । उनीहरुले पोलेका र हाम्रो सूचनामा भएका केही चोर पक्राउ गर्न बाँकी छ’, उनले भने ।

यी हुन् काठमाडौंका धेरै चोरी हुने स्थान

प्रहरीले काठमाडौंमा धेरै चोरी हुने स्थानको पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी बढाएको छ । अहिले प्रहरीले अहिले सोही स्थानहरुबाट धेरै चोर पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौंको नयाँ बानेश्वर, बौद्ध, महाराजगन्ज, बालाजु, बूढानीलकण्ठ, कोटेश्वर र जडिबुटी क्षेत्रमा धेरै चोरी हुने गरेका छन् । यसअघि चोरका अखडा रहेका कालिमाटी, कलङ्की, स्वयम्भु, कपन नयाँ बजारलगायतका क्षेत्र थिए । सो क्षेत्रका चोरले अहिले नयाँ अखडा रोजेको प्रहरीको ठम्याइ छ । प्रहरीले चोरका पुराना अखडामा बढी निगरानी गरेपछि चोरले नयाँ स्थान पहिचान गरेको प्रहरीले जनाएको छ ।

पुराना कागज बटुल्ने र प्लम्बरको काम गर्ने नै चोर

कवाडी–सीसी बोतल र पुराना कागज बटुल्ने र कतिपय प्लम्बरको काम गर्ने र चोरबीच सहकार्य हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कवाडी बटुल्ने कतिपयले आफैं चोरी गरे पनि अधिकांशको काम भने चोरी गर्ने मिल्ने घर र क्षेत्रको जानकारी चोरलाई दिने हो । ‘सीसी, बोतल र पुराना कागज बटुल्नेमाथि खासै शङ्का गरिँदैन । उनीहरु सबैको घरदैलो चहार्दै हिँड्छन्,’ काठमाडौं प्रहरी प्रमुख लामाले भने, ‘तिनीहरुको असली काम भनेको चोरी गर्नु र चोरलाई सघाउनु हो । त्यसैले त्यस्ता व्यक्ति आफ्नो टोलमा आउँदा सतर्क हुनुपर्छ ।’

प्रहरीका अनुसार काठमाडौंमा प्लम्बरको काम गर्नेहरु पनि चोरीमा लाग्ने गरेका छन् । धाराको पाइप होस् या पानी तान्ने मोटर होस्, हामी बनाउन पाए अन्य कुरामा केही ध्यान दिँदैनौं । दिउँसो मोटर बनाएर जाने चोर फेरि आएर आफंैले बनाएको मोटर निकालेर जाने गरेको गुनासा प्रहरीमा पटकपटक आउने गरेको प्रहरी अधिकारी बताउँछन् ।

घरको धारा बनाउने बहानामा चोर घरभित्र छिर्ने र घरको रेकी गर्ने पछि कोही नभएको बेला उनीहरु नै आएर चोरी गर्ने गरेको एसएसपी लामा बताउँछन् ।

सबै चोरी दिउँसो

प्रहरीमा परेका चोरीका उजुरी हेर्दा सबै चोरी दिउँसो भएको देखिन्छ । दिउँसो घरमा कोही नहुने र वरिपरिको मान्छेले वास्तै नगर्ने भएका कारण काठमाडौंमा सबै चोरी दिउँसो हुने गरेको एसएसपी लामा बताउँछन् ।

‘घर खाली छाडेर बाहिर जानुपरे प्रहरीलाई खबर गर्दा हुन्छ, मान्छेहरुमा त्यो चेतना छैन, चोरी भएपछि मात्र चेत खुल्छ,’ एसएसपी लामाले भने ।

प्रहरीका अनुसार धेरैजसो भाडामा बस्नेहरुको चोरी धेरै हुन्छ । एकै घरमा धेरै जना बस्ने र अन्यको खासै चासो नराख्नुले गर्दा चोर हो कि घरमा बस्ने अर्को मान्छे हो भन्ने विषयमा पत्तो नपाइने गरेको प्रहरीको भनाइ छ ।