चौबीसै घण्टा विद्युत् उपलब्ध हुने भएपछि सेजभित्र उद्योग पूर्वाधार निर्माणको बाटो खुल्यो

तत्कालको समस्या समाधान गर्न प्राधिकरणले भैरहवाबाटै सीधै विद्युत् उपलब्ध गराउने र पछि सब स्टेसन बनाएर दिने जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले भैरहवा सेजलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि सेजभित्र उद्योगको पूवार्धार निर्माण गर्न बाटो खुला भएको छ ।

‘अहिलेसम्म विद्युत् आपूर्ति नभएकै कारण उद्योगीले उद्योग स्थापनाका लागि पूर्वाधार बनाउन सकेका थिएनन्,’ विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले क्यापिटल नेपालसँग भने, ‘सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेजलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि पूर्वाधार निर्माणका लागि औपचारिक रुपमा बाटो खुला भएको हो ।’

नेपालमा उत्पादन भई विदेशमा समेत निर्यात गर्दै आएको गोल्डस्टार सुजले भैरहवा सेजभित्र उद्योग स्थापनाका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसक्दा पनि विद्युत् अभावकै कारण पूर्वाधार निर्माणको काम सुरु गर्न सकेको थिएन । तर अब उक्त कम्पनीलाई औपचारिक रूपमा बाटो खुला भएको कार्यकारी निर्देशक भट्टले जानकारी दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सेजभित्र स्थापना हुने उद्योगको पूर्वाधार निर्माण गर्दा चाहिने विद्युत् उपलब्ध गराउन तयार भएको बताए । ‘विद्युत् नभएर काम रोकिन्न,’ उनले भने, ‘आजैबाट उद्योगीले पूर्वाधारण निर्माण गर्न चाहने हो भने विद्युत् उपलब्ध हुन्छ ।’

तत्कालको समस्या समाधान गर्न प्राधिकरणले भैरहवाबाटै सीधै विद्युत् उपलब्ध गराउने र पछि सब स्टेसन बनाएर दिने जानकारी दिएको छ । ‘पूर्वाधारको काम नरोकियोस् भनेर प्राधिकरणले भैरहवाबाटै विद्य्त उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो,’ उनले भने, ‘तर व्यावसायिक उत्पादन गर्ने बेलासम्म सेज र प्राधिकरण मिलेर सब स्टेसन लाइन बनाइसक्छौँ ।’

सेजका कार्यकारी निर्देशक भट्टले अहिलेसम्म सम्झौता गरेको सम्पूर्ण उद्योगीलाई पूर्वाधार निर्माण गर्न आग्रह गर्ने बताए । ‘अहिले जुत्ता उद्योग, कृषिजन्य वस्तुको प्रशोधनलागयत उद्योग स्थापना गर्न सेजसँग सम्झौता भएको छ,’ उनले भने, ‘ती उद्योगलाई पूर्वाधार बनाउन आजै आग्रह गर्छौं ।’
भैरहवा सेजभित्र उद्योग स्थापना गर्न १९ ओटासँग सम्झौता गरिसकिएको छ । ती उद्योगले उक्त सेजमा झन्डै पाँच अर्ब रुपैयाँ लगानी गर्ने जनाइएको छ । ती उद्योगहरूले सञ्चालनका लागि ६ महिनादेखि एक वर्षको अवधि मागेका छन् ।

भट्टका अनुसार सेजभित्र फलफूल, रेडिमेड गार्मेन्ट, पीभीसी म्याट, सिमेन्ट ब्लक, सिमेन्ट इलेक्ट्रोकल, फेब्रिक, रबर तथा जुत्ता, तारजन्य उत्पादन, मेडिकल हर्ब, साबन, डिप इरिगेसन पाइप, गार्मेन्ट प्रोसेसिङ इन्डस्ट्रिज, अदुवा प्रशोधन उद्योग, मिनरल वाटर उद्योग, विद्युतीय गाडीको एसेम्बलिङ उद्योग र जुससम्बन्धी उद्योग छन् ।

सरकारले ऐन र नियमावली तयार गरेपछि उद्योगीसँग प्रस्ताव आह्वान गरेको थियो । त्यसमा विभिन्न कम्पनीले प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये १९ ओटा कम्पनी छनोट भएका थिए । सरकारले सेजमा स्थापित उद्योगलाई अन्य उद्योगको तुलनामा विशेष सुविधा दिने बताएको छ । त्यस्ता उद्योगले कम्तीमा ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने हुन्छ । यो क्षेत्रमा स्थापना हुने उद्योगले सजिलै कच्चापदार्थ र निकासी गर्न सक्ने सुविधा छ ।