कपडाको जस्तै समस्या काश्मिरी स्वीटर उद्योगमा, सम्भव छ कपडा उद्योगलाई जस्तै सुविधा दिन ?

बङ्गलादेश, चीन तथा भारतलगायतका देशमा उत्पादित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग बन्द हुने अवस्था आएको उद्योगीहरुले बताएका छन् । बङ्गलादेश, चीन, तथा भारतले यस्ता उद्योगलाई राम्रै सहुलियत दिएकाले ती उद्योगबाट उत्पादित वस्तुसँग यहाँका व्यवसायीले प्रतिस्पर्धा गर्न नसकिएको ट्राइकोट इन्डष्ट्रिज प्रालिका प्रबन्धनिर्देशक शक्ति गोल्यानले बताए ।

काठमाडौं । सरकारले कपडा उद्योगमा देखिएका समस्या समाधान गरेको केही समय बित्न नपाउँदै काश्मिरी स्वीटर उद्योगका समस्या पनि बाहिर आएका छन् ।

विदेशी कपडासँग स्वदेशी उत्पादन प्रतिस्पर्धी बन्न नसकेर उद्योग नै बन्द हुन थालेपछि सरकारले ती उद्योगलाई विभिन्न सहुलियत दिएर रेस्क्यू गरेको थियो । सरकारले रेस्क्यू गरेको केही महिनापछि काश्मिरी धागोबाट कपडा बनाउने उद्योगका समस्या पनि सहतमा आएका हुन् ।

बङ्गलादेश, चीन तथा भारतलगायतका देशमा उत्पादित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग बन्द हुने अवस्था आएको उद्योगीहरुले बताएका छन् । बङ्गलादेश, चीन, तथा भारतले यस्ता उद्योगलाई राम्रै सहुलियत दिएकाले ती उद्योगबाट उत्पादित वस्तुसँग यहाँका व्यवसायीले प्रतिस्पर्धा गर्न नसकिएको ट्राइकोट इन्डष्ट्रिज प्रालिका प्रबन्धनिर्देशक शक्ति गोल्यानले बताए ।

शतप्रतिशत काश्मिरी धागोबाट बनेका कपडा विश्वबजारमा प्रतिस्पर्धी बन्न नसकेकाले उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘यी उद्योग ३५ देखि ५ सय प्रतिशतसम्म भ्यालु एड हुनेभित्र पर्छन्,’ गोल्यानले भने, ‘त्यसैले सरकारले सहुलियत दिएन भने हाम्रा उत्पादनले प्रतिस्पर्धा गर्न असम्भवप्रायः हुन्छ ।’ यी उद्योगलाई स्थिर राख्न सकियो भने यसका उत्पादनहरु निर्यातको ठूलो सम्भावना छ । यसबाट ठूलो मात्रामा विदेशी मुद्रासमेत आर्जन गर्न सकिने गोल्यान बताउँछन् ।

सरकारले कपडा उद्योगलाई उपलब्ध गराएजति सुविधा मात्रै दिएमा उद्योग प्रतिस्पर्धी बन्न सक्ने उद्योगीको भनाइ छ । सरकारले कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत, ब्याजमा पाँच प्रतिशत, डाइज तथा केमिकलमा १० देखि १२ प्रतिशत अनुदान दिएको छ । सोही अनुदान काश्मिरी स्वीटर उद्योगलाई पनि दिए उत्पादन प्रतिस्पर्धी बन्ने उनीहरुको भनाइ छ । निरन्तर बढ्दो व्यापार घाटा कम गर्न यस्ता उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उद्योगीहरु बताउँछन् ।

कुनै समय नेपालबाट ४ अर्ब रुपैयाँबरारबको पश्मिना ९स्वीटर० निर्यात हुन्थ्यो । तर, आज त्यो घटेर एक अर्ब रुपैयाँमा खुम्चिएको छ । कारण, विदेशी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु ।

नेपालबाट पश्मिनाको सल र स्वीटर निर्यात हुन्छ । नेपाल राष्ट्र बैङ्कको चालू आर्थिक वर्षको ६ महिने तथ्याङ्क हेर्दा पनि पश्मिनाको सल निर्यात भएको देखिन्छ । तर, स्वीटर निर्यात सूचीमै छैन ।

उद्योगीका अनुसार स्वीटर ६११०१० कोड नम्बरबाट निर्यात हुने गरेको छ । तर, पश्मिनाकै सल ६२१४ कोड नम्बरबाट निर्यात हुने गरेको छ । नेपालमा अहिले ३५ ओटा उद्योगले भारत सहित तेस्रो मुलुकमा स्वीटर निर्यात गरिरहेका छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा पनि सल निर्यातको मात्रै परिमाण र रकम उल्लेख छ । त्यसबाट के कुरा प्रस्ट हुन्छ भने, नेपालबाट नगण्य मात्रामा मात्रै स्वीटर निर्यात हुने गरेको प्रबन्धनिर्देशक गोल्यानले बताए ।

शतप्रतिशत काश्मिरी धागोबाट बनेको स्वीटरको उत्पादन लागत अन्य देशको तुलनामा नेपालमा एकदमै महँगो भएकाले विश्वबजारमा प्रतिस्पर्धा गर्न नसकेकाले निर्यात ओरालो लागेको उनको भनाइ छ । खासगरी, भारत, चीन तथा बङ्गलादेश सरकारले काश्मिरी धागोको स्वीटर उत्पादनमा ठूलो सहुलियत दिएकाले उनीहरुसँग प्रतिस्पर्धी बन्न नसकेको उनको भनाइ छ ।

चीन, बङ्गलादेश तथा भारत सरकारले दिएको सुविधासरह नेपाल सरकारले उपलब्ध गराए, विश्वबजारमा नेपाली उत्पादनले पनि प्रतिस्पर्धा गर्न सक्ने छन् ।

चीनले ९ प्रतिशत नगद तथा ५० प्रतिशत विद्युतमा अनुदान दिएको छ । त्यसैगरी, उद्योग राख्न सरकार आफैले जग्गा उपलब्ध गराउँछ । त्यही कारणले चीनको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी नेपाली उद्योग मर्कामा परेको उनको भनाइ छ ।

त्यसैगरी बङ्गलादेशले पनि पाँच प्रतिशत नगद तथा बैङ्कको ब्याजमा पनि अनुदान दिएको छ । जग्गा पनि सस्तोमा उपलब्ध गराएकाले उनीहरुको उत्पादन सस्तोमा बजारमा आएको हो ।

नेपाल सरकारले पनि उपलब्ध गराउँदै आएको ३ प्रतिशत नगद अनुदानलाई बढाएर पाँच प्रतिशतसम्म पु¥याउनु पर्ने उद्योगीहरुको माग छ । कपडा उद्योगलाई दिइएसरह ब्याज तथा विद्युतमा अनुदान दिए, हाम्रा उत्पादन विश्व बजारमा फैलिन सक्ने र प्रतिस्पर्धी बन्ने गोल्यानले बताए । सरकारले उपलब्ध गराएको तीन प्रतिशत नगद अनुदान लिन पनि एकदमै गाह्रो भएको र त्यसलाई सजिलो बनाउन उनीहरुले आग्रह गरेका छन् ।

उद्योगीका अनुसार ३५ देखि ५०० प्रतिशतसम्म भ्यालु एड हुने क्षेत्र आज धरासायी बन्न पुगेको छ । कतिपय उद्योगले फाइबर ल्याएर धागो बनाएर कपडा बनाएर निर्यात गरिरहेका छन् भने कतिपय उद्योगले काश्मिरी धागो ल्याएर कपडा बनाएर निर्यात गरिरहेका छन् ।

एकातिर ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने क्षेत्र, विदेशी मुद्रा भित्र्याउने क्षेत्रलाई सरकारले बचाउन थोरै सहयोग गर्नुपर्ने उद्योगी गोल्यान बताउँछन् ।

 

उद्योगीका अनुसार अहिले एउटा उद्योगले कम्तीमा पनि ५ देखि १० करोड रुपैयाँसम्मको उत्पादन निर्यात गरिरहेका छन् । ठूला उद्योगले त २४÷२५ करोड रुपैयाँसम्म निर्यात गरिरहेको उद्योगीहरु बताउँछन् ।