डन गोरखालीले थला पारेको काठमाडौं मल अब सञ्चय कोषले सञ्चालन गर्ने, मलका पसल हटाउँदै कर्पोरेट कार्यालय मात्र राख्ने

डन राजु गोरखालीले ठेक्का लिएर चलाएदेखि थला परेको काठमाडौं मलमा भएका सबै पसल हटाएर अब बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालयजस्ता कर्पोरेट अफिसलाई मात्र भाडामा दिने तयारी गरिएको गौतमले जानकारी दिए ।

काठमाडौं । राजधानीको सुनधारास्थित व्यापारिक भवन काठमाडौं मल कर्मचारी सञ्चय कोष आफैले सञ्चालन गर्ने भएको छ । कोषले पसल–कवल भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीलाई हटाउन लागेको हो । कोषले काठमाडौं मल आफैले सञ्चालन गर्न लागेको कोषका प्रशासक तुलसी गौतमले बताए ।

डन राजु गोरखालीले ठेक्का लिएर चलाएदेखि थला परेको काठमाडौं मलमा भएका सबै पसल हटाएर अब बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालयजस्ता कर्पोरेट अफिसलाई मात्र भाडामा दिने तयारी गरिएको गौतमले जानकारी दिए । ‘काठमाडौं मलमा समस्या आएपछि हामीले सञ्चालन गर्ने तयारी थालेका छौं,’ कोषका प्रशासक गौतमले भने, ‘अब भवनमा कर्पोरेट कार्यलय मात्र हुने छन् ।’

 

डन गोरखालीको अन्तरकथा– पशुपतिको बालुवा, डिस्कोमा खुकुरी प्रहारदेखि काठमाडौं मलसम्मको यात्रा

 

गएको पुसदेखि गोरखाली पक्षसँगको ठेक्का तोडिएको छ । डन गोरखालीका कारण एकातिर भवनको बेहाल भएको थियो भने अर्कोतर्फ जथाभावी भाडा असुलेर व्यापारीको भागाभाग भएको थियो ।

गोरखालीसँग ठेक्का तोडिएपछि मलमा भएका केही व्यापारीले राजनीतिक शक्ति प्रयोग गरी समिति बनाएर सोही समितिमार्फत कोषको भवन चलाउने चलखेल गर्दै आएका थिए ।

त्यसरी व्यक्तिसँग मिलेर भवन सञ्चालन गर्न दिँदा विवाद हुने देखिएपछि कोष आफैले सञ्चालन गर्ने र पसल हटाएर कार्यालय प्रयोजनका लागि मात्र दिने तयारी गरेको हो ।

कोष स्रोतले भन्यो, ‘मलमा भएका केही व्यापारी मिलेर समिति बनाई मल भाडामा लिन विभिन्न उपाए लगाउँदै आएका थिए, त्यसका लागि दलका नेतादेखि शक्तिकेन्द्रसमेत धाउँदै आएका थिए ।’