व्यवसायी हेरम्बबहादुरका साढे आठ दशक

नियमित कार्यालय जाने राजभण्डारी अहिले नेपाल डेरी, एनडिज, आइसक्रिम, फास्टफुड, नेपाल डेरी इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट प्रत्यक्ष रुपमै हेर्छन् ।

ललितपुरको खुमलटार पुग्दा उनी कारमा चढेर बाहिर कतै निस्कँदै थिए । समयभन्दा १५ मिनेट ढिला पुगेका हामीलाई उनले धेरै कुर्न चाहेनन् । ‘समयको सम्मान गर्न जान्नुपर्छ’ सायद उनी यस्तै सोच्दै कतै जाने तरखरमा थिए । हामीले भेट्यौँ । आग्रह ग¥यौँ र उनको क्याबिनमा छि¥यौँ ।
त्यही क्याबिनमा बसेर ८४ वर्षे एक व्यक्तिले नेपालको पहिलो डेरी उद्योगलाई भव्य र व्यवस्थित बनाइरहेको छ । उनी दूध, दही र नौनीसँग बढी खेले । सायद त्यसैले होला जीवनको ८४ वर्षमा पनि कमलो र रसिलो छन् नेपाल डेरी प्रालिका कार्यकारी अध्यक्ष डा. हेरम्बबहादुर राजभण्डारी ।

उनको काम र समयप्रतिको लगाव देखेर जीवनका ८४ वसन्त पार गरिसकेका छन् भन्ने ठम्याउन गाह्रै हुन्छ । उनका छोरा र नाति पुस्तासमेत व्यवसायमा जमिसकेका छन् । तर, उनी त्यही व्यवसायमा नौनीझैँ पग्लिरहेका छन् । नपग्लिऊन् पनि कसरी ? थोरै पुँजी र सीमित साधनबाट सुरु गरेको व्यवसाय अहिले देशकै ठूलो डेरीमध्ये पर्छ । अहिलेको नेपाल डेरी अर्थात् एनडिजबाट प्रख्यात भइरहेको उनको व्यवसाय सजिलै सुरु भएको भने होइन ।

२०३७ सालमा नेपाल दुग्ध विकास संस्थान (डीडीसी)को दुई कार्यकाल महाप्रबन्धक भएर निस्केपछि उनले आफ्नो अनुभवलाई व्यवसायमा लगाउने योजना बनाए । काठमाडौंमा दूध र दुग्धपदार्थको माग बढ्दो थियो । तर, डीडीसीले बजारको माग पूरा गर्न नसकेको उनलाई थाहा थियो । एकातिर किसानलाई फाइदा हुने अर्काेतिर व्यवसाय पनि हुने । उनलाई यो कुराले क्लिक ग¥यो ।

महाप्रबन्धक हुँदा पनि डीडीसीमा सुधारका काम गर्नेमै पर्छन् उनी । १५ सय लिटर क्षमताको बालाजुको डेरी प्लान्टलाई उनले प्रतिघण्टा ३ हजार लिटरमा विस्तार गरे । त्यसपछि विराटनगर र हेटौंडामा पनि ३ हजार क्षमताकै डेरी प्लान्ट स्थापना गरे । देशका विभिन्न भागमा चिज उद्योग स्थापना गराए ।

उनले व्यापारको योजना बनाइरहँदा देशमा बहुदल र पञ्चायतको राजनीतिले सडक र चोक तात्न थालिसेको थियो । सामान्य चिया पसल होस् वा कसैको विवाह व्रतबन्ध हरेक ठाउँमा राजनीतिक कुराले प्राथमिकता पाउँदै थियो । सरकारी कर्मचारीहरुबीचको बैठकसमेत राजनीतिक विषयबाट नै सुरु हुन्थे । डीडीसीबाट रिटायर्ड भएपछि उनलाई पनि राजनीतिक आबद्धताको अफर नआएको होइन, तर उनले निजीक्षेत्रबाट पनि देशलाई योगदान दिनुपर्छ भन्ने सोचे र डेरी खोल्ने योजना बुने । गरिबीको रेखामुनि ४० प्रतिशत जनता भन्ने तथ्याङ्क सार्वजनिक भएको थियो । त्यसैले उनी थोरै भए पनि किसानलाई फाइदा पुग्ने काममा लाग्न चाहन्थे ।

डेरी खोल्ने उनको योजना मात्र थियो । पुँजी भने थिएन । त्यसैले एक मध्याह्न जहाँ उनका सरकारी कर्मचारी साथी भएको बैठकमा कुरा राखे । ‘कति यो पञ्चायत र बहुदलको विषयमा कुरा गर्ने ? अब केही व्यवसायको पनि योजना बनाउनुपर्छ,’ उनले साथीहरुको त्यो छलफलमा कुरा राखेपछि डेरी उद्योगको सम्भावना रहेको पनि सुनाए, ‘त्यसपछि त्यहाँ भएका अधिकांश साथीले काम थाल्ने भन्दै हात उठाए ।’ त्यसपछि सबैले सुरुमा १०/१० हजार उठाउने सहमति भएको उनी सम्झन्छन् ।

साथीहरुले हात त उठाए । तर, पैसा जम्मा गर्ने बेलामा केवल सातजना भयौं । ‘त्यसमध्ये एकजना उद्धव अधिकारीले श्रीमतीको गहना नेपाल बैङ्कमा राखेर १० हजार लिएर आउनुभएछ,’ उनले भने । पैसाको अभाव र साथीहरुले गरेको विश्वास सम्झँदै राजभण्डारीले तीनपटक आँसु पुछे । ‘म त्यो कुरा सम्झँदा अझै पनि भावुक हुन्छु, काम गर्ने योजना बन्यो । तर पैसा थिएन, साथीहरुले श्रीमतीको गहना राखेर पैसा ल्याउनुभयो,’ उनले भने ।
सात जनाको ७० हजारले डेरी उद्योग खोल्न त सकिने अवस्था थिएन । त्यसैले राजभण्डारीले महाबौद्धको आफ्नै घरमा सानो दही र दूध पसल सुरु गरे । ‘हामीले डेरी उद्योग होइन, घरेलु डेरी सुरु ग¥यौं,’ उनले भने ।

डीडीसीबाट रिटायर्ड भएपछि पनि उनी पशु विभागको निर्देशक भए । संस्थानमा काम गरेको, सरकारी सेवामा भएको मान्छेले संस्थानसँग प्रतिस्पर्धा गर्न डेरी खोल्यो भनेर हल्ला सुरु भयो । सरकारसँग प्रतिस्पर्धा हुने खालको व्यापार गर्ने भन्दै उनलाई मन्त्रालयका मान्छेहरुले नै हप्काए ।
‘हामीले सामान्य काम सुरु गरेका थियौं, तर कृषि मन्त्रालयबाट नै मान्छेहरु आएर सोधखोज भयो, कृषि सचिवले समेत सोधे,’ उनले भने । साथीहरुले हामीले किन गर्न नहुने भन्दै प्रतिवाद गरे ।

संस्थानले दूधदहीको बजार माग धान्न सकिरहेको थिएन । माग बढी थियो, तर सामान बजारमा सहजै उपलब्ध थिएन । डीडीसीको एकाधिकार थियो । डीडीसीले कृषकलाई दूधको मूल्य आफैं निर्धारण गरेर दिने गरेको थियो । त्यसैले किसान र उपभोक्तालाई फाइदा पुग्ने गरी काम गर्नुपर्छ भन्ने उनलाई लाग्यो ।

‘कसरी गर्ने भन्दै मेरो खिल्ली पनि उडाउँथे, म सरकारी कर्मचारी थिएँ, मेरो कुरा क्याबिनेटसम्म पनि पु¥याएछन्,’ उनले भने, ‘त्यसपछि झन् गर्नुपर्छ भन्ने लाग्यो, मैले जे गर्दै छु अरुलाई मार्गनिर्देशन हुने काम गरेको छु भन्ने लागेको थियो, त्यसैले कसरी अझै राम्रो गर्ने भन्ने लाग्यो ।’
पञ्चवर्षीय योजनामा त्यतिखेर राजा वीरेन्द्रलाई कृषिक्षेत्रको ‘ब्रिफिङ’ गर्नुपर्ने थियो । राजभण्डारीले कृषिको सम्भावना र त्यही बेला आफ्नो अवस्थाका कुरा पनि राखे, उनको कुरा सुनेर राजा सकारात्मक भए अनि हौसलासमेत दिए ।

डेरी खोल्ने योजना बनाएको एक महिनामै सानो पसल सुरु भइसकेको थियो । तर, पैसा थिएन । बैङ्कले ऋण पनि दिएको थिएन । साथीहरुको विश्वास राजभण्डारीमा थियो । त्यसैले घरमै कराइमा दूध उमाल्ने, दही बनाउने र गिलासमा बेच्ने गर्न थाले । पसल नयाँ थियो । धेरैलाई थाहा थिएन, त्यसैले दुईतीन दिन उनले टोलछिमेकमा निःशुल्क बाँडे ।

दूध र दही मीठो र राम्रो छ भन्ने हल्ला चल्दै गयो । बिस्तारै ग्राहक आउन थाले, राजभण्डारीको मुहारमा पनि चमक थपिँदै गयो । भदौमा उनले व्यापार सुरु गरेका थिए । असोजमा दसैं थियो । पसलमा त लामो लाइन र भीड लाग्न थाल्यो । ‘दसैंमा एकै महिनाभित्र पसलमा भीड बढ्यो,’ उनले भने, ‘टाढाटाढाबाट पनि पसलमा दूध र दही लिन ग्राहकहरु आउन थाले ।’

महाबौद्धको त्यो ठाउँ एकातिर सार्वजनिक शौचालय, अर्काेतिर वीर अस्पतालको मूर्दाघर र नजिकैको चोकमा फोहोर फाल्ने ठाउँ थियो । उनको व्यापारका कारण उत्पन्न भीडले फोहोर ठाउँ सफा हुन थाल्यो । मुर्दाघर सम्झनाबाट हराउन थाल्यो । सानो गल्ली शिर पनि झुकाएर हिँड्नुपर्ने महाबौद्धले राजभण्डारीलाई व्यापार गर्न सिकायो ।

पसलमा भीड बढेपछि केही छिमेकीले सहयोग गरे पनि केहीले भने असहयोग नै गरे । पसलमा मान्छे हुँदा ठूलो ढुङ्गा छानोमा फाल्नेसमेत गरे । कोही छिमेकी यस्ता थिए, पसलमा नै आएर उनलाई सहयोग गर्न थाले । पसलमा बसेर दूधदही बेचिदिन थाले । त्यसपछि उनलाई पनि छिमेकीका लागि केही गर्नुपर्छ भन्ने लाग्यो ।

महाबौद्धमा चहलपहल बढ्दै थियो । डेरी ठूलो हुँदै गएको थियो । पसल थपिँदै थिए । पसलको छानोमा ढुङ्गा हान्ने छिमेकीको खाली जग्गा भाडामा मागेर अरु पसललाई उनले भाडामै लगाए । उनको यो जुक्तिले ती छिमेकीले पछि अरु जग्गामा पनि पसल बनाएर दिए र आफैं पसल पनि खोले ।
आफ्नो भाइलाई चिनियाँ सामान राख्न लगाए । एनडिजमा आउने ग्राहकले चिनियाँ सामान किन्न थाले । चिनियाँ सामान किन्ने ग्राहक एनडिज आउन थाले । यसले दुवैतिरको व्यापार बढ्दै गयो । त्यसपछि भक्तपुर, काठमाडौं, ललितपुरमा डेरी खुल्यो । ‘भक्तपुरका केही व्यक्तिले त दही हामीले बेच्ने हो, कहाँबाट काठमाडौंको राजभण्डारीले बेच्यो भनेर कुरा पनि गरेछन्,’ उनले भने ।

व्यापार बढ्दै गएपछि डेरीलाई आधुनिकीकरण गर्ने योजना बन्यो । तर, यतिखेर पनि पैसा थिएन । बैङ्कले व्यापारीलाई ऋण दिन थालेको थियो, उनले आफ्नै घर राखेर ऋण लिने विचार गरे ।

खुमलटारमा जग्गा किन्नका लागि उनले एनआईडीसी बैङ्कमा निवेदन दिए । त्यो बेला एभरेस्ट बैङ्क पनि आइसकेको थियो । ‘मैले ऋण लिँदै छु भन्ने एभरेस्टले थाहा पाएछ, त्यसपछि एभरेस्ट त मेरो पसलमै आयो,’ उनले भने । तपाईंलाई कति चाहियो भन्दै एभरेस्टले राजभण्डारीलाई प्रस्ताव राख्यो । ‘हामीले ३ करोड माग गरेको, दियो,’ उनले भने ।

पैसा पाएपछि २०५६ सालमा डेरी बल्ल आधुनिक भयो । मेसिन आयो । राजभण्डारीको समूहले कमाउँदै लगानी बढाउँदै लग्यो । २०५६ सालमा प्राइभेट सेक्टरमा धेरै डेरी भयो भनेर उनकै पहलमा डेरी एसोसिएसन स्थापना भयो । उनी नै पहिलो अध्यक्ष बने ।

डेरी क्षेत्रमा दक्ष कामदारको अभाव हुन थालेपछि २०६३ सालमा राजभण्डारीले इन्स्टिच्युट नै स्थापना गरेर तालिम सुरु गराए । अहिले कलेज नै छ ।
किसानको दूध धेरै आउन थाल्यो । डेरी उद्योग धेरै खुल्न थाले । दूध बढी हुन थाल्यो । त्यसैले दूधजन्य अरु उत्पादन बनाउनुपर्छ भन्ने उनलाई लाग्यो । त्यसपछि नै एनडिजको आइसक्रिम, पिज्जा, बर्गर र बेकरी बजारमा आउन थाल्यो ।

बेकरी र फास्टफुड अचानक खुल्यो । खासमा राजभण्डारीसँग एउटा ओभन थियो । २४ हजारमा किनेको । त्यो प्रयोग भएको थिएन । त्यसलाई बिक्री गर्न योजना बनाएका थिए । एउटा जर्मन नागरिकले ६ हजारमा किन्छु भन्यो । ‘२४ हजारमा किनेको ६ हजारमा किन बेच्ने भन्दै त्यसैमा पिज्जा बनाएको राम्रो भयो,’ उनले भने । यसरी राजभण्डारी एनडिजमार्फत फास्टफुडमा प्रवेश गरे । अहिले महाबौद्धमा सेल्फ सर्भिसमा रेस्टुरेन्ट सधैं भरिभराउ हुन्छ ।

नियमित कार्यालय जाने राजभण्डारी अहिले नेपाल डेरी, एनडिज, आइसक्रिम, फास्टफुड, नेपाल डेरी इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट प्रत्यक्ष रुपमै हेर्छन् ।

१४ लिटर दूधबाट ७० हजार लगानीमा सातजनाबाट सुरु भएको उनको डेरीमा अहिले १५ करोड लगानी पुगिसकेको छ । वार्षिक ४० करोडको कारोबार र प्रत्यक्ष तीन सय जनालाई रोजगारी दिने उद्योग भइसकेको छ । सुरुमा सातजना प्रवद्र्धक रहेकोमा अहिले सङ्ख्या त्यति नै छ । त्यसमध्ये पाँचजना पुरानै हुन् भने दुई नयाँ थपिएका छन् ।

‘चुनौतीलाई स्वीकार गर्न ८४ वर्षमा पनि काम गरेको छु,’ उनले भने । हामीले उनीसँग डेढ घण्टा मागेका थियौँ । उनले सवा एक घण्टामा कुराकानीकको बिट मारे । सायद सुरुको १५ मिनेट उनले हिसाब गरे कि !