पब्जीलाई प्रतिबन्ध लगाउन हेल्लो सरकारमा उजुरी !

पब्जी एउटा अनलाइन मल्टिप्लेयर बेटल रोयल खेल हो, यसलाई पब्जी कर्पोरेसनले विकास गरेको हो । पब्जी कर्पोरेसन भिडियो गेम डेभलपर दक्षिण कोरियाली कम्पनी ब्ल्युहोलको सब्सिडियरी हो ।

काठमाडौं । युवा तथा बालबालिकामाझ अहिले निकै लोकप्रिय छ— अनलाइन खेल प्लेयर अननोन्स बेटलग्राउन्ड (पब्जी) । तर पछिल्लो समय यसविरुद्ध हेल्लो सरकारमा व्यापक गुनासा बढिरहेका छन् । पब्जीका कारण स्कुले विद्यार्थीदेखि युवासम्म यसको लतमा फसेको भन्दै यसप्रति प्रतिबन्ध लगाउन सरकारसमक्ष माग गर्नेहरू बढेको उपसचिव एवम् हेल्लो सरकारका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिएका छन् । पोर्नसाइटको सट्टा पब्जी खेलमाथि तत्काल प्रतिबन्ध लगाइदिन अनुरोधसहितका माग आइरहेको उनले बताए ।

केही दिनअघि विद्यालयका प्रधानाध्यापकले अभिभावकहरुलाई स्कुलमा बोलाएर सबै अभिभावकलाई उनीहरुको मोबाइलबाट पब्जी खेललाई अनस्टल गरिदिन आग्रह गरेको एउटा खबर पनि हेल्लो सरकारमा आएको प्रमुख उपाध्यायले बताएका छन् । कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकबाट यस्ता गुनासा आउने गरेका छन् । केटीहरुको तुलनामा यसको लत केटाहरुमा धेरै रहेको उनको भनाइ छ ।

‘बालबालिकाबाहेक युवामा पनि यसको क्रेज रहेछ, रातमा उठेर चिच्याउने ‘हान हान, मार मार’ भनी कराउने गर्छन् भन्ने गुनासा पनि आएका छन्’, उनले भने । पब्जी खेलको लोकप्रियता बढेसँगै विद्यार्थी र युवाहरुको खाने, सुत्ने, पढ्ने समयतालिकामा परिवर्तन आएको छ । लतमा लागेका कतिपय पब्जीप्रेमीलाई परामर्शदाताकोमा लैजानुपर्ने अवस्था आएको उनले बताए ।

‘आज पनि पब्जीसम्बन्धीको गुनासोसहितको एउटा समाचार हेल्लो सरकारमा आएको थियो । हामीले त्यसलाई सञ्चार मन्त्रालयमा पठाएका छौं,’ उपाध्यायले भने । हेल्लो सरकारमा आउने दैनिक औसत सय गुनासामध्ये तीनदेखि पाँचवटा गुनासो पब्जी खेललाई लिएर हुन्छन् । करिब दुई महिनादेखि यी गुनासा आइरहेको उनले बताए ।

सञ्चार मन्त्रालयमा ती गुनासा पठाइरहेको तर हालसम्म मन्त्रालयबाट कुनै निर्देशन तथा प्रतिक्रिया नआइरहेको उनले जानकारी दिए । पब्जी एउटा अनलाइन मल्टिप्लेयर बेटल रोयल खेल हो, यसलाई पब्जी कर्पोरेसनले विकास गरेको हो । पब्जी कर्पोरेसन भिडियो गेम डेभलपर दक्षिण कोरियाली कम्पनी ब्ल्युहोलको सब्सिडियरी हो ।