जनताको सहानुभूति बटुल्ने तथा चन्दा उठाउने ध्येय

अब पनि विप्लव समूहलाई खुला छाडिए आगामी दिनमा झनै समस्या आउने भन्दै गृहले विप्लव र उनका कार्यकर्तालाई पक्राउ गरी कानुनी कारबाही गर्न सुरक्षा निकायलाई परिचालनसमेत गरिसकेको छ ।

विप्लव माओवादी गत साता बहुराष्ट्रिय कम्पनी एनसेलमाथि बम पड्काएर जनसाधारणको सहानुभूति बटुल्न तथा त्यसलाई देखाएर चन्दा उठाउने रणनीतिमा जुटेको छ । विगत १ वर्षदेखि प्रायः सुस्त देखिएको विप्लव समूह एकाएक चर्चामा आएको छ । यद्यपि विप्लव समूह एनसेलमाथिको आक्रमणमा मौन छ ।

अर्बौं रुपैयाँ पुँजीगत लाभकर छलेको विषयमा हालै सर्वोच्च अदालतले एनसेलले नै पुँजीगत लाभकर तिर्नुपर्ने निर्णय गरेको थियो । विगतमा एनसेलबाट पुँजीगत लाभकर छल्ने प्रपन्च भएपछि जनसाधारणले एनसेललाई ठग कम्पनीका रुपमा चित्रित गर्दै आएका छन् । विप्लव समूहले ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएर जनसाधारणको सहानुभूति बटुल्न खोजेको रुपमा धेरैले अथ्र्याउन खोजेका छन् ।

उता, गृह मन्त्रालयले पनि विप्लव समूहले चन्दा उठाउन र जनस्तरमा आफ्नो सहानुभूति बटुल्नकै लागि गत शुक्रबार राति ललितपुरलगायत देशका विभिन्न स्थानमा बम विष्फोट गराएको निष्कर्ष निकालेको मात्रै छैन आगामी दिनमा खरो रुपमा उत्रने सङ्केत पनि गरेको छ । अब पनि विप्लव समूहलाई खुला छाडिए आगामी दिनमा झनै समस्या आउने भन्दै गृहले विप्लव र उनका कार्यकर्तालाई पक्राउ गरी कानुनी कारबाही गर्न सुरक्षा निकायलाई परिचालनसमेत गरिसकेको छ ।

एनसेल मुख्यालयमा भएको घटनामा एक जनाको मृत्युसमेत भएको छ भने दुई जना घाइते भएका छन् । यस्तो घटना एनसेल मुख्यालयमा मात्रै नभएर मुलुकका विभिन्न ९ स्थानमा भएको छ । बागलुङको बागलुङ नगरपालिका–७ मूलपानी, गलकोट, नगरपालिका–८ काँडेवास र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा त्यसै राति आक्रमण भएको छ । त्यसैगरी एनसेलका रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारको टावर, कास्कीको पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थितको टावर तथ काभ्रेपलान्चोकको कोसीपारी भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको बीटीएस टावरमा पनि आगजनी भएको छ ।

घटना यतिमै सीमित छैन । त्यसै दिन रुपन्देहीको गैंडहवा गाउँपालिका ३ सूर्यपुरा, पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका ७ अम्रसा, कन्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ तथा सल्यानको स्वर्गद्वारी नगरपालिका ३ थामुडांडास्थित एनसेल टावरमा पनि आगजनी भएको छ । यसरी एनसेलको मुख्यालयसहित मुलुकका विभिन्न ठाउँमा रहेका कार्यालय र टावरमा आक्रमण गरेर विप्लव समूहले एकातिर जनताको मन तान्ने कोशिश गरेको पाइन्छ भने अर्कोतिर यही घटनालाई देखाएर चन्दा असुलीलाई तीव्रता दिने रणनीतिमा लागेको देखिन्छ । एनसेलले सरकारलाई करिब ४० अर्ब रुपैयाँ पुँजीगत लाभकर तिर्न बाँकी छ ।

गत वर्ष मङ्सीरमा प्रदेश र सङ्घीय संसदको निर्वाचन सकिएपछि विप्लव समूह एक हिसाबले शान्त जस्तै देखिएको थियो । यद्यपि स्थानीय निर्वाचन र प्रदेश तथा सङ्घीय संसदको निर्वाचनताका बम विस्फोट गराई धनजनको क्षति पु¥याएको आरोपमा विप्लव र उसका कार्यकर्ताको खोजीक्रमलाई सरकारले तीव्रता दिएको थियो । यसबीचमा पार्टीप्रवक्ता खड्कबहादुर विश्वकर्मालगायतका केही नेता पक्राउ पनि परे । प्रहरीले प्रवक्ता विश्वकर्मालाई घटना भएका विभिन्न जिल्लामा पु¥याउने काम गरे पनि पटक पटक अदालतले तारेखमा छाड्न थालेपछि सरकारले पनि लचकताको नीति अख्तियार गर्दै विप्लव कार्यकर्ता पक्राउ गर्न छाडेको थियो ।

नेपालमा लगानी सम्मेलन गर्न लागिएको पूर्वसन्ध्यामा भएको बम आतङ्कले वैदेशिक मात्रै होइन स्वदेशी लगानीकर्ता पनि त्रसित बनेको स्थिति छ । यही त्रासमा खेलेर विप्लव समूहले चन्दा उठाउन सक्रिय हुनेछ । लामो समयदेखि अर्धभूमिगतजस्तै रहेको विप्लव माओवादी पैसा अभावमा पार्टी सञ्चालनमै अप्ठ्यारो भोग्दै आएको छ ।

नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी उत्तम सुवेदीकाअनुसार शुक्रबारको बम विष्फोटपछि अनुसन्धानका लागि ३० जनाभन्दा बढी व्यक्तिलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । ‘घटना कसले गराएको भन्ने यथेष्ट प्रमाण छैन, हामी त्यसैको अनुसन्धानमा जुटेका छौं, विगतमा भएको घटना र शुक्रबारको घटना हेर्दा विपलव समूह नै हुने आकलनमा छौं,’ क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने ।

विप्लव समूहका सबै नेता भूमिगत
शुक्रबार राति बम विष्फोटको घटनापछि विप्लव नेतृत्वको माओवादीका सबै नेता भूमिगत भएका छन् ।

स्थानीय निकायको निर्वाचनका बेला भएका घटनामा प्रहरीले पक्राउ गरी कारबाहीपछि छाडेका नेताहरु केही दिनअघिसम्म खुला रुपमा देखिए पनि शुक्रबारपछि भूमिगत भएका छन् । सरकारले विप्लवलगायतका नेतालाई जहाँ देख्यो त्यहीँ पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएपछि नेताहरु एकाएक भूमिगत भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

२०५२ सालमा सशस्त्र विद्रोह सुरु गर्दाको माओवादी भने यतिबेला ४ ओटा पार्टी बनेका छन् । त्यसमध्येको मुख्यपक्ष तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेसँग गाभिएर नेकपा बनाउँदै सरकार चलाइरहेको छ भने डा बाबुराम भट्टराई नयाँ शक्ति खोलेर बसेका छन् । त्यस्तै अर्का सदस्य मोहन वैद्यले पनि वैद्य माओवादीका रुपमा पार्टी चलाइरहेका छन् । विप्लव माओवादीका रुपमा नेत्रविक्रम चन्द सशस्त्र विद्रोह गर्ने भन्दै भूमिगतजस्तै छन् ।