डेढ अर्ब नदिएपछि बिप्लव माओवादीले गर्यो एनसेलमाथि आक्रमण

बिप्लव समूहले पटक पटक पत्र काटेर एनसेलसँग एक अर्ब ५० करोड रुपैयाँ मागेको बताइएको छ । एनसेलले बिप्लवको मागबमोजिम चन्दा नदिएपछि मुख्यालयसहित मुलुकभरका विभिन्न एनसेल टावरमा आक्रमण गरेको हो ।

काठमाडौं । बहुराष्ट्रिय कम्पनी एनसेलले डेढ अर्ब रुपैयाँ चन्दा नदिएपछि नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको माओवादीले एनसेलमाथि आक्रमण गरेको तथ्य खुलेको छ ।

बिप्लव समूहले पटक पटक पत्र काटेर एनसेलसँग एक अर्ब ५० करोड रुपैयाँ मागेको बताइएको छ । एनसेलले बिप्लवको मागबमोजिम चन्दा नदिएपछि मुख्यालयसहित मुलुकभरका विभिन्न एनसेल टावरमा आक्रमण गरेको हो ।

बिप्लव माओवादीले बितेको एक वर्षमा तीन पटक गरी १ अर्ब ४० करोड रुपैयाँ चन्दा मागेको पाइएको छ । पहिलो पटक २० करोड, दोस्रो पटक ५० करोड र तेस्रो पटक ७० करोड रुपैयाँ चन्दा मागेको थियो । एनसेलले त्यतिधेरै चन्दा दिन नसकिने निष्कर्ष निकाल्दै मौन बसेपछि बिप्लव माओवादीले एनसेलमाथि आक्रमण गरेको हो ।

एनसेल स्रोतकाअनुसार पार्टी सञ्चालनका लागि भन्दै यसअघि पनि पटक पटक २–३ करोड रुपैयाँ चन्दा माग्ने गरिएको थियो । त्यतिबेला पनि चन्दा नदिएपछि विभिन्न स्थानका टावरहरुमा आक्रमण गर्ने गरेका थिए । तर, एनसेलले बीचमा केही चन्दा दिएपछि बिप्लव माओवादी चुप लागेको एनसेल स्रोतको भनाइ छ ।

एनसेलका अनुसार स्थानीय तह र प्रतिनिधि÷प्रदेशसभाको निर्वाचनपछि लगत्तै बिप्लव समूहले २० करोड, नयाँ सरकार बनेको केही समयपछि ५० करोड र सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभकर मुद्दामा फैसला गरेलगत्तै ७० करोड रुपैयाँ चन्दा माग गरेको छ । चन्दा नदिए जस्तोसुकै कारबाही गर्ने भन्दै धम्कीपूर्ण पत्र एनसेलमा पठाएको छ ।

केही समयअघि सरकारले दाबी गरेको पुँजीगत लाभकर एनसेलले नै तिर्नुपर्ने गरी फैसला गरेपछि पनि बिप्लव माओवादीले भित्री रुपमा चन्दा बार्गेनिङ गरेको र बाहिर सो मुद्दा उठाएर साहानुभूति बटुल्न खोजेको आरोप लागेको छ ।

सर्वोच्चको फैसलापछि झनै चर्को
करिब ६१ अर्ब रुपैयाँ पुँजीगत लाभकर तिर्न भन्दै सर्वोच्चले फैसला गरेपछि बिप्लव माओवादी एनसेलमाथि झन् खरोरुपमा प्रस्तुत भएको छ । सर्वोच्चको फैसलापछि बिप्लव समूहले ७० करोड चन्दा दिनू भन्दै ताकेता गरेको थियो । चन्दा नदिए जस्तोसुकै कारबाही हुने पत्राचार एनसेललाई गरेको थियो । गत शुक्रबार एनसेल मुख्यालयमा भएको बम हमलामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् भने मुलुकका विभिन्न स्थानमा रहेका एनसेल टावरमा आक्रमण भएको छ ।

चन्दा नदिएकै कारण बिप्लव समूहले एनसेलमाथि आक्रमण गरेको हिजो आइतबार गृहमन्त्री रामबहादर थापाले समेत बताइसकेका छन् । तर, उनले के कति चन्दा माग गरे भन्ने बारेमा केही खुलाएनन् । कुनै बेला थापा र विप्लव एउटै पार्टी नेकपा माओवादीमा थिए ।

शुक्रबारको बम काण्डयता प्रहरीले ३० जना बिप्लव माओवादीका कार्यक्रतालाई नियन्त्रणमा लिई सोधपुछ गरेको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले घटनाको पेरिफेरीमा रहेर अनुसन्धान अघि बढाइएको बताए । ‘घटनाको अनुसन्धानमा हामी निकै अघि बढिसकेका छौं, रहस्य छिट्टै खुल्छ,’ उनले भने ।

याे पनि पढ्नुहाेस् ।

जनताको सहानुभूति बटुल्ने तथा चन्दा उठाउने ध्येय