राजधानीका एक दर्जन पेट्रोलपम्प हटाउने महानगरको तयारी : आयल निगमको विरोध

सडक छेउमै खोलिएका पेट्रोलपम्पले ट्राफिक जाम गराएको निष्कर्ष निकाल्दै महानगरले तत्काल राजधानीका १५ ओटा पेट्रोलपम्प हटाउने निर्णय गरेको हो । महानगरले नेपाल आयल निगम लिमिटेडलाई पत्र लेख्दै सडक छेउमै खोलिएका पम्प हटाउन भनेको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा ट्राफिक जाम गराउने एक दर्जन पेट्रोलपम्प हटाउने भएको छ ।

सडक छेउमै खोलिएका पेट्रोलपम्पले ट्राफिक जाम गराएको निष्कर्ष निकाल्दै महानगरले तत्काल राजधानीका १५ ओटा पेट्रोलपम्प हटाउने निर्णय गरेको हो । महानगरले नेपाल आयल निगम लिमिटेडलाई पत्र लेख्दै सडक छेउमै खोलिएका पम्प हटाउन भनेको छ ।

महानगरले टेकुमा रहेको कनक पेट्रोलपम्प, सोल्टीमोडको सीता पेट्रोलपम्प, बालाजुको कोतधुकु पेट्रोलपम्प, त्रिपुरेश्वरका जयन्ती र मायाराम भोलाराम, कलङ्कीका बाबा, स्यामा र त्रिशूल पेट्रोलपम्प, गैरीगाउँको भ्याली रिकेस पेट्रोलपम्प, जडीबुटीको कामाख्या पेट्रोलपम्प, जोरपाटीका जुबी र बराल पेट्रोलपम्प, दमकलचोकको एचपी इन्टरनेसनल इन्क, एकान्तकुनाको गायत्री पेट्रोलपम्प तथा महाराजगङ्जको सीता पेट्रोलपम्पलाई तत्काल हटाउने निर्णय गरेको होे ।

ती पेट्रोलपम्पका कम्पाउन्ड कम रहेकाले तेल भर्ने सवारी साधनको लाइन सडकसम्म पुगेर ट्राफिक जाम भएको देखिएपछि हटाउने निर्णय गरेको हो ।

निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले एकै पटक १५ ओटा पम्प विस्थापित गर्दा उपभोक्तामा ठूलो असर पर्ने बताए । ‘पाँच वर्षयता काठमाडौंमा कसैले पनि नयाँ पम्प बनाउनका लागि आवदेन दिएका छैनन्,’ उनले भने, ‘नयाँ नबन्ने र भएका पम्पलाई पनि एकै पटक हटाउँदा भोलि बजारमा तेल भर्न अप्ठयारो हुन्छ ।’

नयाँ पेट्रोलपम्प खोल्न महँगो हुने, र तेल बेचेर एकदमै कम नाफा भएपछि तेल व्यवसायीहरु अन्य व्यवसायतर्फ आकर्षित भइरहेका छन् । त्यति नै लगानीमा अन्य व्यवसाय गर्दा मनग्गे आम्दानी हुने भएकाले पनि व्यवसायीहरु पेट्रोलियम क्षेत्रभन्दा अन्य क्षेत्रमा रुचि देखाएका हुन् ।