होटल व्यवस्थापनमा नेपाली ‘प्लेयर’को प्रवेश

स्विट्जरल्यान्ड र लन्डनमा होटल म्यानेजमेन्टको अध्ययन गरेका शाह अन्नपूर्ण होटलमा फुड एन्ड बेभरेजको असिस्टेन्ट हेडका रुपमा कार्यरत थिए । पर्यटकहरु काठमाडौंबाहिर बढी रमाउन खोज्ने तर होटलको सुविधा भने राम्रो नभएको अवस्थामा त्यो आवश्यकतालाई पूर्ति गर्न दि पिक सञ्चालनमा ल्याएको बताउँछन् ।

काठमाडौं । यसअघिसम्म विदेशीले मात्रै होटल व्यवस्थापनको जिम्मेवारी लिइरहे पनि अहिले नयाँ ‘प्लेयर’का रुपमा नेपाली प्रवेश गरेका छन् । होटल म्यानेजमेन्ट क्षेत्रमा अध्ययन गरी होटल क्षेत्रमै लामो समय अनुभव बटुलेका चार जना युवाहरुको समूहले ‘दि पिक हस्पिटालिटी’ नामक कम्पनी खोलेका छन् ।

यसरी नेपाली युवाहरुको समूहले होटलको व्यवस्थापनको जिम्मेवारी लिएको नेपालकै पहिलो पटक भएको कम्पनीका अध्यक्ष दीपक लेखकले जानकारी दिए । दि पिक हस्पिटालिटीले भैरहवाको बालापुरको चारतारे होटल बोधी रेडसन र काठमाडौंको तीनतारे होटल ‘एयरपोर्ट’ होटलको जिम्मेवारी लिइसकेका छन् । बोधी रेडसन जनवरी १ बाट जिम्मेवारी लिएका हुन् भने एयरपोर्ट होटल मार्च १ बाट जिम्मेवारी लिने गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

होटल क्षेत्रमा करिब १० देखि १५ वर्ष काम गरेर अनुभव बटुलिसकेका दीपक लेखक, यादव पाण्डे र विशान शाहको सक्रियतामा द पिक हस्पिटालिटी सञ्चालनमा ल्याएका हुन् । पाँचतारे होटलको माथिल्लो तहमा काम गरेर अनुभव लिइसकेका ती युवाहरुले विशेषगरी राजधानीबाहिरका होटलहरुको व्यवस्थापन गर्ने लक्ष्य लिएका छन् । नेपालको पर्यटन काठमाडौंकेन्द्रित भएको तर काठमाडौंबाहिर धेरै सम्भावना रहेको निष्कर्ष उनीहरुको छ ।

काठमाडौंमा भन्दा बाहिर धेरै राम्रा होटल खुलेका छन् । तर सुविधा राम्रो छैन । त्यस्ता होटल लिएर बेस्ट म्यानेजमेन्ट गर्ने योजना भएको द पिकका सञ्चालक लेखकले बताए । अहिलेसम्म ठूला होटलमा विदेशी म्यानेजमेन्टले जिम्मेवारी लिएर सेवा दिइरहेको छ । ‘तर, नेपालीहरु पनि यो क्षेत्रमा अब्बल छन् भनेर देखाउन पनि अघि बढेका छौं,’ उनले भने ।

तारे होटलहरुले काठमाडौंभित्र र बाहिर दिने सेवा सुविधा फरक छ । सेवासुविधा फरक भएकै कारण पर्यटक सन्तुष्ट हुन सक्दैनन् । तर, दि पिकले व्यवस्थापन गरेका होटलहरुमा एकै किसिमको सेवासुविधा पाउने सञ्चालक लेखकको भनाइ छ । उनी अस्ट्रेलियामा एमबीए गरेर २०१२ बाट होटल ह्यातमा सेल्स म्यानेजर भएर काम सुरु गरेका थिए । हाल अन्नपूर्ण होटलको ग्रुप डाइरेक्टर भइसकेका छन् ।

नेपाली युवाहरुले पनि होटल व्यवस्थापन गर्न सक्छन् भन्ने देखाउन दि पिकको स्थापना गरिएको सञ्चालकमध्येका एक पाण्डेको भनाइ छ । अहिलेसम्म नेपालमा विदेशी व्यवस्थापकले मात्र तारे होटलको व्यवस्थापनको जिम्मेवारी लिइरहेका छन् । ‘नेपालमा आएर विदेशीहरुले आपूmहरुलाई विज्ञ सम्झने तर हामी किन विज्ञ नहुने ?’ उनको प्रश्न छ ।

‘हामीसँग पनि अन्तर्राष्ट्रिय विज्ञता छ, हामी सबै विदेशमा अध्ययन गरेर पाँचतारे होटलमा काम गरेको अनुभवलाई सदुपयोग गर्छौं’, उनले भने, ‘अहिले विदेशीहरुले होटल व्यवस्थापनको नाममा धेरै पैसा बिदेसिएको छ । अब हामीले काम गरेको पैसा त यही लगानी गर्छौं ।’

सिङ्गापुरमा अध्ययन गरेका पाण्डेसँग ह्यात होटल र अन्नपूर्ण होटलमा काम गरेको अनुभव छ । पाण्डे अन्नपूर्ण होटलमा फुड एन्ड बेभरेजको हेड थिए । सधैंभर अर्काको काम गर्नुभन्दा केही नयाँ गरौं भन्ने सोच राखेर अघि बढेको सञ्चालकमध्ये एक शाहले भने, ‘होटलमा नेपाली व्यवस्थापनको खाँचो महसुस गरेर यस क्षेत्रमा लागेका हौं ।’

स्विट्जरल्यान्ड र लन्डनमा होटल म्यानेजमेन्टको अध्ययन गरेका शाह अन्नपूर्ण होटलमा फुड एन्ड बेभरेजको असिस्टेन्ट हेडका रुपमा कार्यरत थिए । पर्यटकहरु काठमाडौंबाहिर बढी रमाउन खोज्ने तर होटलको सुविधा भने राम्रो नभएको अवस्थामा त्यो आवश्यकतालाई पूर्ति गर्न दि पिक सञ्चालनमा ल्याएको बताउँछन् ।

नेपालमा आउने पर्यटकहरुले जुन आशा र सोचका साथ आउने गर्छन्, यहाँका होटलहरुले त्यस किसिमको सेवा सुविधा नपाएपछि निरास भएर फर्कने गरेको उनको भनाइ छ । होटल क्षेत्रमा धेरै चुनौतीहरु रहेको शाहको टिप्पणी छ । चौबीसै घण्टा काम गर्नुपर्ने र बिदाको दिन पनि बस्न नपाइने भएकाले सेवालाई चुस्त र एकरुपता दिन धेरै समस्या हुने उनको भनाइ छ । तर आफूहरु यस्ता चुनौतीलाई सामना गर्दै जाने तयारीमा रहेको बताए ।