विप्लव समूहको हिंसात्मक गतिविधि बढेपछि सरकार गम्भीर, बिप्लवका कार्यकर्ता समात्न देशैभर प्रहरीको सर्च अप्रेशन

बिप्लव समूहले चन्दा आतङ्क र हिंसात्मक गतितिविधि दुवै बढाएको निष्कर्ष निकाल्दै सरकारले विप्लव माओवादीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको छ । सरकारको निर्देशनपछि प्रहरीले देशैभर विप्लव कार्यकर्ता पक्राउ गर्न प्रहरीले सर्च अप्रेशन सुरु गरेको छ ।

काठमाडौं । राजनीतिक दलको नाममा चन्दा आतङ्क र हिंसात्मक गतिविधि बढाएको भन्दै सरकार नेत्रविक्रम चन्द (विप्लव समूह) नेतृत्वको नेकपा माओवादीप्रति आक्रामक बनेको छ । पछिल्लो समयमा विप्लव समूहले देशभरि आतङ्क मच्चाएपछि सरकार गम्भीर बनेको छ ।

बिप्लव समूहले चन्दा आतङ्क र हिंसात्मक गतितिविधि दुवै बढाएको निष्कर्ष निकाल्दै सरकारले विप्लव माओवादीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको छ । सरकारको निर्देशनपछि प्रहरीले देशैभर विप्लव कार्यकर्ता पक्राउ गर्न प्रहरीले सर्च अप्रेशन सुरु गरेको छ ।

स्थानीय निकायको निर्वाचनका बेलामात्र बिप्लव नेतृत्वको नेकपा माओवादीले ३ दर्जनभन्दा बढी स्थानमा बिस्फाेटनको घटना गराएको थियो । निर्वाचनको प्रचारमा जुटेका विभिन्न दलका नेताहरुलाई सडकमा एम्बुस समेत थाप्यो । एक नम्बर प्रदेशको भोजपुरमा मुख्यमन्त्री शेरधन राईको गाडीमा बम प्रहार गर्यो, अनि नुवाकोटमा काग्रेस नेता डा. रामशरण महत चढेको गाडी एम्बुसमा पारेको थियो । देशभर दर्जनौ स्थानमा बम विष्फोट गरायो । दाङमा निर्वाचनको बुथमै बम विष्फोट गरएको थियो ।

चुनाव सकिएलगत्तै प्रहरीले सो घटनाहरुमा संलग्न बिप्लव समूहका नेता तथा कार्यक्रर्तालाई पक्राउ गर्न थाल्यो । सोही सिलसिलामा गएको साउनमा बिप्लव समूहको पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालगायतका नेतालाई पक्राउ गरी कारबाही थाल्यो तर प्रहरीको कारबाही प्रभावकारी हुन सकेन ।

यता खड्गबहादुरमाथि प्रहरीले अनुसन्धान थालेको थियो, उता सर्वोच्चले पक्राउन नगर्नु र नगराउनु भन्दै अन्तरिम आदेश दियो, त्यसपछि प्रहरीको कारबाही त्यहीं खुम्चियो । त्यसपछिका दिनहरुमा बिप्लव समूहको मनोबल झनै बढ्यो, र चन्दा आतङ्क र विष्फोटका घटना झनै बढायो ।

चन्दा माग्ने, नदिएमा बम राखेर व्यापारी तथा उद्योगपतिलाई तर्साउन थाल्यो । त्यसको एक नमुना थियो नख्खुस्थित बहुराष्ट्रिय मोबाइल सेवा प्रदायक एनसेनल प्रालिकोे मुख्यालयमा एक जनाको ज्यानै जानेगरी भएको बम विस्फाेट ।

चन्दा नदिएकै कारण बम बिस्फाेट गराएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । उक्त घटना यता प्रहरीले ४४ जना बिप्लव माओवादीका नेता कार्यक्रर्तालाई पक्राउ गरेको छ ।

बिहीबार मात्र प्रहरीले बिप्लवको गाँउमा छापामारी अत्याधुनिक हतियार बरामद गरेको छ । यता प्रहरीले बिप्लव समूहको खोजी थालेको छ । उता बिप्लव समूहले छापामार शैलीमा सरकारी सम्पतिमा क्षति पुर्याउनेदेखि विभिन्न स्थानमा बम राख्ने काम गर्दै आएका छन् ।

बिहीबार मात्र सो समूहले रोल्पाको काग्रेस पार्टी कार्यालय र गाँउपालिकाको भवनमा बम राख्यो भने, बुधबार रातिमात्र रोल्पामा तीन ओटा सरकारी गाडीमा आगजनी गर्यो ।

प्रहरी अहिले बिप्लव समूहको चहलपहल हुने र उनीहरुको सैन्य तालिम हुने स्थानको पहिचान गरी सर्च अप्रेशनमा जुटेको छ । गएको सातामात्रै धरानमा सेनाले बोक्ने एम १६ अत्न्याधुनिक राईफलसहित बिप्लव समूहका नेता पक्राउ परे । प्रहरीले गएको बैशाखा यता बिप्लव समूहका ३८२ जना नेता कार्यकर्ता पक्राउ गरेको छ ।

कहिले कति पक्राउ ?

सार्वजनिक कार्यक्रममा खुलेरै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बिप्लव माओवादीको हिंसात्मक गतिविधि भयो, त्यसलाई नरोके भोलिका दिनमा झनै समस्या हुने भन्दै प्रतिक्रिया दिन थालेका छन् ।

‘राजनीतिक बहानामा कुनै पनि हिंसात्कम गतिविधि गर्नु अपराध हो,’ नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीले क्यापिटल नेपालसँग कुरा गर्दै भने, ‘नख्खु बम बिस्फाेटको घटना र सोही राति अन्य स्थानमा भएका विभिन्न घटनाका आभारमा अनुसन्धान अघि बढेको छ।’ ‘घटनामा संलग्न भएकालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढेको छ, अझै केही फरार छन्,’ उनले भने ।

‘हिंसात्मक गतिविधि गर्ने कुनैलाई पनि प्रहरीले छुट दिँदैन, चाहे त्यो राजनीतिक दल होस् या कुनै व्यक्ति प्रहरीले पक्राउ गरी आवश्यक कारबाही गर्छ, अहिले प्रहरी त्यसमै जुटेको छ,’ उनले भने ।