सरकारलाई कर नतिरे देशभरका एनसेल टावर ध्वस्त पार्ने बिप्लव समूहको चेतावनी

राज्यलाई तिर्नुपर्ने बक्यौता कर भुक्तानी नगरे देशभरिका एनसेल टावर ध्वस्त पार्ने चेतावनी दिएको छ । सर्वोच्च अदालतले एनसेल बिक्रीको लाभ कर तिर्न आदेश दिइसकेको छ । सर्वोच्चको आदेशअनुसार एनसेलले ७५ अर्ब रुपैयाँ लाभकर तिर्नुपर्ने छ ।

काठमाडौं । नेकपा बिप्लव माओवादीले मोबाइल सेवा प्रदायक एनसेल प्रालिमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । चन्दा नदिएको भन्दै फागुन १० गते एनसेलको मुख्यालयमा एक जनाको ज्यान जानेगरी बम विस्फोट गराएको बिप्लव माओवादीले फेरि एनसेलमाथि आक्रमण गर्ने चेतावनी दिएको हो ।

राज्यलाई तिर्नुपर्ने बक्यौता कर भुक्तानी नगरे देशभरिका एनसेल टावर ध्वस्त पार्ने चेतावनी दिएको छ । सर्वोच्च अदालतले एनसेल बिक्रीको लाभ कर तिर्न आदेश दिइसकेको छ । सर्वोच्चको आदेशअनुसार एनसेलले ७५ अर्ब रुपैयाँ लाभकर तिर्नुपर्ने छ ।

बिप्लव र उसका नेता कार्यकर्तालाई प्रहरीले देशभरि अप्रेसन चलाएर खोजी गरीरहेका बेला समूहका पोलिटब्युरो सदस्य पदम राईले राजधानीमा सगरमाथा टेलिभिजनमा अन्तरवार्ता दिँदै देशभरिका एनसेल टावर ध्वस्त पार्ने चेतावनी दिएका हुन् ।

सगरमाथाका संवाददाता अमित काफ्लेसँगको अन्तरवार्तामा बिप्लव नेतृत्वको माओवादी पार्टीका पोलिटब्युरो सदस्य राईले एनसेलले राज्यलाई तिर्ने कर नतिरे देशैभरका एनसेल टावर हान्ने पार्टीको नीति सार्वजनिक गरेका छन् ।

‘राज्यलाई तिर्नुपर्ने कर एनसेलले तिर्नुपर्छ भन्ने पार्टीको स्पष्ट लाईन छ, त्यो नगरे पार्टी आफ्नो ढङ्गले अघि बढ्छ, त्यसमा कसैको केही लाग्दैन,’ राईले भनेका छन् ।

‘राज्यलाई तिर्नुपर्ने कर तिर भन्दा हामी अपराधी भयौं, हामीलाई फसाउन खोजियो, बम विस्फोटमा एक जनाको ज्यान गएको छ, त्यसमा पार्टी दुःखी छ, यसको जिम्मा सरकारले लिनुपर्छ,’ उनले भने ।

राईले अरुण तेस्रो राष्ट्रहितका निम्ति नरहेको भन्दै उक्त आयोजना बन्न नदिनेसमेत दाबी गरे । बिप्लवका कार्यकर्ताले अरुण तेस्रो आयोजनामा पनि आक्रमण गरिसकेका छन् । चन्दा नदिएको झोकमा बिप्लव समूहले गत शुक्रबार साँझ मात्र वैदेशिक रोजगार सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराएको थियो ।

करिब ४ महिनाअघि सङ्घको कार्यालयमा चन्दा माग गरेको र चन्दा नदिएपछि अध्यक्षको घरमा बम बिस्फोट गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बिप्लव समूहले भारतीय लगानीमा रहेका उद्योग व्यवसायलाई पनि लक्षित गरेको छ ।