प्रतिबन्धित दुई सय र पाँच सयका भारु नाेट चलाइने

नेपाल राष्ट्र बैङ्कले केही दिनभित्रै सार्वजनिक सूचना जारी गरेपछि ती नोट चलनचल्तीमा आउने छन् । भारत सरकारले नेपालमा ठूला दरका भारु चल्न दिने गरी बाटो खोलिदिएपछि नेपालले पनि छिट्टै चलनचल्तीमा आउने बाटो खोल्न लागेको हो ।

काठमाडौं । नेपालमा प्रतिबन्धित दुई सय र पाँच सय भारतीय रुपैयाँ (भारु)का नोट अब नेपालमा चलाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले केही दिनभित्रै सार्वजनिक सूचना जारी गरेपछि ती नोट चलनचल्तीमा आउने छन् । भारत सरकारले नेपालमा ठूला दरका भारु चल्न दिने गरी बाटो खोलिदिएपछि नेपालले पनि छिट्टै चलनचल्तीमा आउने बाटो खोल्न लागेको हो ।

राष्ट्र बैङ्कले पाँच सय र दुई सय दरका नोट २५ हजार भारुसम्म बोकेर नेपाल र भारत ओहोर दोहोर गर्ने पाइने व्यवस्था गर्न लागेको हो । यस्तो सुविधा नेपाली र भारतीय नागरिकलाई मात्रै लागू हुनेछ । नोटबन्दीअघि पनि पाँच सय र एक हजार दरका नोट २५ हजारसम्म लिएर हिँड्न पाइने व्यवस्था थियो । भारत सरकारले सन् २०१६ डिसेम्बरमा पाँच सय र एक हजार दरका नोट नचल्ने गरी प्रतिबन्ध लगाएको थियो ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले दुई सय र पाँच सय दरका नोट पूर्ववत् व्यवस्थाअनुसार चलनचल्तीमा ल्याउने बताए । केही समयअघि सरकारले दुई हजार र पाँच सय दरका भारु नोट चलनचल्तीमा नल्याउने गरी प्रतिबन्ध लगाएको थियो । राष्ट्र बैङ्कले पनि ती नोट चलाउन प्रतिबन्ध लगाएको सूचना जारी गरेको थियो । तर, पछि राष्ट्र बैङ्कले भारतीय रिजर्व बैङ्कलाई दुई सय पाँच सय दरका नोट चलाउन दिन आग्रह गर्दै पत्राचार गरेको थियो ।

नोटबन्दीपछि भारतले एक हजार दरको नोट छाप्नै छोडेको छ । उसले एक हजारको सट्टा दुई हजार दरका नोट चलनचल्तीमा ल्याएको छ । सरकारले पनि यसबारेमा भारतीय सरकारसँग कुरा गरेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको वर्तमान वस्तुस्थिति र खुला सीमाका कारण ठूला दरका भारु नोट चलाउनु आवश्यक रहेको क्यापिटल म्यागजिनसँग कुरा गर्दै बताएका थिए ।

राष्ट्र बैङ्कको विदेशी विनिमय विभागका अनुसार भारतबाट यससम्बन्धी पत्र आएको छ । भारतबाट २५ हजार रुपैयाँ बराबरका दुई सय र पाँच सयका नोट ल्याउन र लैजान खुला गर्न सकिने आशयको पत्र राष्ट्र बैङ्कमा आएको छ । शिवाकोटीले क्यापिटल नेपालसँग कुरा गर्दै भारतमा दुई सय र पाँच सयका नोट लैजान र ल्याउन पाउने गरी केही दिनमा राष्ट्र बैङ्कले सार्वजनिक सूचना जारी गर्ने बताए ।

भारत सरकारले यसअघि नेपालका बैङ्कमा जम्मा भएका पाँच सय र हजारका नोट नसाटेर अन्याय गरेको पनि शिवाकोटीले बताए । यद्यपि नोटबन्दीका बेला नेपालको वित्तीय प्रणालीमा भएको ५ करोडभन्दा बढी भारु अझै भारतले साटिदिएको छैन । ‘वैधानिक प्रणालीमा जम्मा भएको पैसा नसाट्नु भारत सरकारको गलत कार्य हो,’ उनले भने, ‘अहिले पनि हामीले राष्ट्र बैङ्कमा जम्मा भएको रकम साट्नुपर्छ भन्ने दाबी गरिरहेका छौं ।’

भारतले भुटानका नागरिकको भारु सटही गर्यो तर, नेपालका नागरिकमाथि भारतले अन्याय गरेको उनको भनाइ छ । ‘जसरी भुटानका नागरिकले सहजै सटही गर्न सके त्यसैगरी नेपालीले पनि पाउनु पर्छ,’ उनले भने । सरकारले २०२० लाई पर्यटन वर्ष मनाउन लागेको र धेरै भारतीयहरु नेपाल आउने चाहना राख्ने भएकाले पनि सरकारसँग भारु चलाउन दबाब थियो । विगतमा भारु नोट बोकेर आएको आरोपमा भारतका मन्त्रीसमेत नेपालमा पक्राउ परेका थिए ।