नेपाली कामदारलाई कतार पुगेको दुई घण्टामै लेबरकार्ड, उपदान र  दुई साताको बिदा दिन कतार सहमत

नेपाल र कतारबीच तीन वर्षपछि भएको जोइन्ट वर्किङ कमिटिको बैठकले विमानस्थलमा अवतरण गरेको २ घण्टामै लेबरकार्ड दिने निर्णय गरेको हो । यसअघि नेपाली कामदारहरुले लेबरकार्ड लिनका लागि ८ देखी ९ महिनासम्म लाग्ने गरेको थियो ।

काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीहरुका लागि खुशीको खबर ! अब वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका नेपाली श्रमिकले दुई घण्टाभित्रै लेबरकार्ड पाउने भएका छन् । नेपाल र कतारबीच तीन वर्षपछि भएको जोइन्ट वर्किङ कमिटिको बैठकले विमानस्थलमा अवतरण गरेको २ घण्टामै लेबरकार्ड दिने निर्णय गरेको हो । यसअघि नेपाली कामदारहरुले लेबरकार्ड लिनका लागि ८ देखी ९ महिनासम्म लाग्ने गरेको थियो ।

कतारमा बुधबार र विहीबार भएको दुई पक्षीय छलफलमा रोजगारीका लागि कतार पुगेका नेपालीले दुई घण्टा भित्रै लेबरकार्ड दिन कतार पक्ष तयार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिए । उनले लेबरकार्ड नभएपछि हेल्थ कार्ड नपाउने र हेल्थ कार्ड नहुँदा विरामी परेमा खर्च स्वंयमले बेहोर्नुपर्ने बाध्यता रहँदै आएकोमा अब लेबरकार्ड पाए लगतै नेपाली कामदारलाई सहज हुने बताए ।

बैठकमा नेपालीहरुका लागि कामदारलाई विषेश विदाको प्रस्ताव पनि अघि सारिएको छ । कामदारको कुनै आफन्तको निधन भएमा दुई सातासम्मको विदा दिनु पर्ने र आवातजावतको हवाई टिकट रोजगारदाता कम्पनीले नै वेहोर्नुपर्ने प्रस्ताव राखिएको सह–सचिव घिमिरेले बताए । नेपालको प्रस्तावमा कतारको टोली सकरात्मक देखिएको जनाएको छ । लेबरकार्ड र विषेश विदा कार्यान्वयनमा आएपछि नेपाली कामदारहरुलाई पनि यो सुविधा उपलब्ध गराउने प्रतिबद्धता कतारले जनाएका छन् ।

यसैगरी शून्य लागतमा नेपाली कामदारहरु लैजान तयार रहे पनि रोजगारदाता कम्पनीले १ महिनाको तलब बेहोर्ने विषयमा भने निर्णयमा पुग्न नसकेको छलफलमा सहभागी नेपाली टोलीले जनाएको छ । त्यस विषयमा कतारको प्राविधिक समूहसँग बसेर मात्र निर्णय दिने कतारटोलीले नेपाली पक्षलाई बताएको छ । नेपाली कामदारलाई कुनै पनि आर्थिकभार पार्न हुन्न भन्ने विषयमा कतार तयार रहे पनि रोजगारदाता कम्पनीले १ महिनाको सुविधा कामदार पठाउने कम्पनीलाई दिने विषयमा भने केही आनाकानी गरिरहेको बताए ।

लामो समयसम्म काम गरेर फर्किने बेला रित्तो हात फर्कनुपर्ने बाध्यतालाई हटाउँदै कामदारलाई उपदानको व्यवस्था गर्न माग गरिएको श्रम मन्त्रालयले जनाएको छ । नेपालको प्रस्तावमा १४/१५ बर्ष काम गरेका नेपाली कामदारलाई उपदान वा पेन्सनको व्यवस्था गर्नुपर्ने जनाएको छ

नेपालले कतारमा जाने कामदारहरु ठगी हुनबाट जोगाउनका लागि कतार जान लाग्ने खर्चको सम्पूर्ण विवरण मन्त्रालयलाई दिन आग्रह गरेको छ । यस्तै नेपालमा राख्न लागेको भिसा सेन्टरको विषयमा पनि छलफल भएको छ । नेपालमा राख्न लागेको भिसा सेन्टर निजी क्षेत्रले सञ्चालन गरे पनि श्रम मन्त्रालयमा अनिवार्य रुपमा सूचिकृत हुनुपर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । भिसा सेन्टरलाई मन्त्रालय मातहतमा राखेर सञ्चालन गर्नुपर्ने प्रस्तावप्रति पनि कतार सकरात्मक रहेको छ ।

यसैगरी, नेपाली कामदारले कम्पनी परिवर्तन गर्न पाउनु पर्ने प्रस्ताव पनि अघि सारेको छ । कामदारलाई चित्त नबुझेमा कम्पनी परिवर्तन गर्न पाउने भए पनि उनीहरुले पाउने सेवा सुविधा भने सबै नदिने गरेको हुँदा अवदेखी सबै सेवा सुविधा दिएर पठाउन तयार रहेको बताएका छन् । बैठकमा नेपाली कामदारहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन पनि प्रस्ताव राखेको छ । लामो समयसम्म काम गरेर, फर्किने बेला रित्तो हात फर्कनुपर्ने बाध्यतालाई हटाउँदै कामदारलाई उपदानको व्यवस्था गर्न माग गरिएको श्रम मन्त्रालयले जनाएको छ । नेपालको प्रस्तावमा १४/१५ बर्ष काम गरेका नेपाली कामदारलाई उपदान वा पेन्सनको व्यवस्था गर्नुपर्ने छ ।

नेपाल र कतारबीच १४ वर्षपछि श्रम समझदारी हुन लागेको हो । नेपालले कतारलाई केही महिनाअघि नै समझदारीको मस्यौदा पठाइसकेको थियो । मस्यौदामाथि छलफल नसकिएको जनाउँदै श्रम समझदारीको मिति कतार राजदुतावास मार्फत नेपाललाई जानकारी गराउने जानकारी दिएको सह–सचिव घिमिरेको भनाइ छ । नेपालले भने जतिसक्दो चाँडो श्रम सम्झदारी गर्न कतारसँग प्रस्ताव गरेको जनाएको छ ।