व्यवसायमा जम्दै छोरानाति

कतिपय अवस्थामा पहिलो पुस्ता अर्थात् बुबाहरु सक्रिय रुपमा दैनिक दौडधुप गर्न नसक्ने वा सक्रिय राजनीतिमा लाग्न थालेपछि व्यवसायको जिम्मा स्वतः दोस्रो वा तेस्रो पुस्तामा सरेको देखिन्छ भने अहिले छोरा वा नातिलाई व्यवसायप्रति आकर्षित गर्न पनि कलिलै उमेरमा जिम्मेवारी दिन थालिएको पाइन्छ ।

आफ्ना पिताले स्थापना गरेको उद्योग व्यवसाय होस् वा व्यापार नै किन नहोस्, त्यसलाई दोस्रो पुस्ताले ‘टेकओभर’ गर्ने क्रम नेपालमा बढ्दै गएको छ । विदेशी ज्ञान र सीप लिएर स्वदेश फर्किएका युवा (छोरा वा नाति) पुस्ताले आफ्ना पितापुर्खाले गरेको व्यवसायलाई आधुनिक तरिकाबाट अगाडि बढाउँदा त्यसले सफलता पनि पाएको देखिन्छ ।

पछिल्लो समय चौधरी ग्रुप, पञ्चकन्या ग्रुप, मुरारका अर्गनाइजेसन, गोल्छा अर्गनाइजेसन, वैद्यज अर्गनाइजेसन, ज्योति ग्रुपलगायत ठूला व्यावसायिक घरानाहरुमा दोस्रो तथा तेस्रो पुस्ताको प्रवेश बढ्दै गएको छ । कतिपय अवस्थामा पहिलो पुस्ता अर्थात् बुबाहरु सक्रिय रुपमा दैनिक दौडधुप गर्न नसक्ने वा सक्रिय राजनीतिमा लाग्न थालेपछि व्यवसायको जिम्मा स्वतः दोस्रो वा तेस्रो पुस्तामा सरेको देखिन्छ भने अहिले छोरा वा नातिलाई व्यवसायप्रति आकर्षित गर्न पनि कलिलै उमेरमा जिम्मेवारी दिन थालिएको पाइन्छ ।

व्यवसायीका अनुसार अहिले केही व्यावसायिक घरानाहरुले दोस्रो पुस्ताबाट तेस्रो पुस्तालाई समेत आफ्नो व्यवसायमा संग्लन गराइसकेका छन् । त्यसको उदाहरण हो– पञ्चकन्या ग्रुप । पञ्चकन्या ग्रुप प्रेमकुमार श्रेष्ठले स्थापना गरेका हुन् । स्थापनाको केही वर्षपछि प्रेमकुमारले छोरा प्रदीपकुमारलाई व्यवसाय हस्तान्तरण गरे । उनको नेतृत्वमा व्यवसाय फस्टाउँदै गयो । अहिले प्रदीपले आफ्ना छोराहरुलाई व्यवसायमा प्रवेश गराइसकेका छन् । प्रेमकै पालामा तेस्रो पुस्ताले व्यवसायको नेतृत्व गर्ने सम्भावना बढेको छ ।

‘हामीभन्दा छोरा वा नातिहरुले नयाँनयाँ कुरा सिकेर आएका हुन्छन्, सम्बन्धित विषयमा अध्ययन पनि गरेका हुन्छन्,’ पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ भन्छन्, ‘उनीहरुले सिकेको सीप तथा व्यवसाय सञ्चालन गर्ने तरिका आधुनिक हुन्छ, त्यसैकारण दोस्रो वा तेस्रो पुस्तालाई व्यवसायमा संग्लन गराउनुपर्छ ।’ विश्वबजारमा भएका नयाँनयाँ प्रविधिलाई आफ्नो उद्योगमा प्रयोग गर्नु तथा फरक तरिकाबाट व्यवसाय सञ्चालन गर्नु नयाँ पुस्ताको विशेषता हो ।

कतिपय उद्योगी÷व्यवसयीले आफ्नो बिजनेसलाई थप अघि बढाउन मात्रै होइन, व्यवसायलाई समयसापेक्ष बनाउँदै अघि लैजान पनि दोस्रो पुस्ताले नेतृत्व लिनुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् । मुरारका अर्गनाइजेसनका अध्यक्षसमेत रहेका पशुपतिकै व्यवसायमा तेस्रो पुस्ताले नेतृत्व लिएका छन् । आत्माराम मुरारकाले स्थापना गरेको व्यापार÷व्यवसाय अहिले शिरीष मुरारकासम्म आइपुग्दा तेस्रो पुस्ता भइसकेको छ । पशुपतिका भतिजा शिरीषले अहिले राम्रोसँग व्यवसायलाई अघि बढाएका छन् ।

त्यसैगरी सारडा ग्रुपमा पनि दोस्रो पुस्ता राम्रोसँग जम्दै गएको छ । शिवरतन सारडाले सुरु गरेको व्यवसाय अहिले गौरव सारडाको नेतृत्वमा थप फस्टाउँदै गएको छ । खासगरी व्यावसायिक घरानाले आफ्नो व्यवसायमा छोराछोरीलाई ‘इन्भल्ब’ गराउने क्रम निरन्तर बढ्दै गएको छ ।

उत्पादनमूलक उद्योग, सेवामूलक उद्योग मात्रै नभई सञ्चार उद्योगमा पनि दोस्रो पुस्ताको वर्चस्व बढ्दै गएको छ । केएमजी ग्रुप, नेपाल रिपब्लिक मिडियालगायतमा पनि दोस्रो पुस्ताको नेतृत्व हाबी हुन थालिसकेको छ । विशेषगरी, निर्वाण चौधरी, करण चौधरी, उदीप श्रेष्ठ, सौरभ ज्योति, अभिक ज्योति, अभिनव राणा, प्रबलजङ्ग पाण्डे, प्रताप पाण्डे, शिरीष मुरारका, गौरव सारडा, निरञ्जन श्रेष्ठ, अञ्जन श्रेष्ठ, निराकार श्रेष्ठ, अरनिको राजभण्डारी, चेतन भण्डारीलगायत युवा उद्यमीले व्यवसायलाई द्रुत गतिमा अघि बढाएका छन् ।

उत्पादनमूलक, सेववामूलक क्षेत्रमा युवाको नेतृत्व राम्रो देखिएको छ । सेवामूलकमध्ये पनि होटल व्यवसायमा नयाँ पुस्ताको प्रवेश अझै धेरै देखिन्छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफ्ना छोरालाई बिस्तारै व्यवसायमा प्रवेश गराउँदै छन् । ‘विदेशमा अध्ययन गरिरहेको छोरालाई बिस्तारै आफ्नै बिजनेसमा ल्याउने सोच बनाएको छु,’ ‘क्यापिटलसँगको कुराकानीमा शेखरले भने, ‘हामीभन्दा पछि आउने पुस्ता जहिले पनि एक कदम अघि हुन्छन् ।’ नयाँ पुस्ता व्यवसायमा प्रवेश गर्दा नयाँ प्रविधिसँगै विश्वबजारमा भित्रिएका सीप पनि भित्रिने उनको बुझाइ छ ।

चौधरी ग्रुपको सम्पूर्ण नेतृत्व निर्वाणको काँधमा

विनोद चौधरी सक्रिय राजनीतिमा लागेपछि उनले हेर्दै आएको व्यवसायको सम्पूर्ण जिम्मा छोरा निर्वाणलाई दिएका छन् । लामो समय व्यवयासमा लागेर सफल बनेका चौधरीले अब आफू राजनीतिमा लाग्ने र व्यवसाय छोराको जिम्मा लगाउने बताए । तर, निर्वाणले यस पटकदेखि मात्रै व्यवसायको जिम्मा लिएका भने होइनन् । उनले यसअघि नै बुबाको व्यवसायलाई सहयोग पु¥याउँदै आएका थिए । विनोदले लामो समयदेखि व्यवसायभन्दा पनि राजनीतिमा बढी चासो राख्दै आएका थिए । जुन बेलादेखि बाबुले राजनीतिमा बढी समय दिन थाले, सोही बेलादेखि नै निर्वाणले व्यवसायलाई अघि बढाएका हुन् ।

अरुण चौधरीको व्यवसाय पनि करणकै जिम्मा
विनोद चौधरीका भाइ अरुण चौधरीले पनि सक्रिय व्यवसायलाई छाडेका छन् । उनका जेठा छोरा करणलाई सम्पूर्ण व्यवसाय जिम्मा लगाइसकेका छन् । ‘बुबाको भूमिका नियामकको जस्तो मात्रै छ,’ करणले भने, ‘हामीबाट केही गल्ती हुन थाल्यो भने वा प्राविधिक रुपमा समस्या प¥यो भने मात्रै बुबाको सहयोग लिन्छौं । नत्र भने दैनिक रुपमा बुबाको संलग्नता हुुँदैन ।’

मुरारका अर्गनाइजेनमा दोस्रो र तेस्रो पुस्ता

आत्माराम मुरारकाले व्यवसाय सुरु गरे । धेरैओटा व्यवसाय उनकै पालामा स्थापना गरिएको हो । धेरै व्यवसायमा उनको प्रत्यक्ष नै संलग्नता पनि थियो । आफू सक्रिय रुपमा व्यवसायमा लाग्दैखेरी छोरा पुशपतिलाई व्यवसायमा ल्याए । पछि बाबुछोराको संयुक्त पहलपछि व्यावसायिक सफलता झन् धेरै मिल्यो ।

आत्मारामको मृत्युपश्चात् व्यवसायको सम्पूर्ण जिम्मेवारी पशुपतिको काँधमा आयो । व्यवसाय अघि बढिरहेकै बेला उनले आफ्ना भतिजा शिरीषलाई व्यवसायमा प्रवेश गराए, आज काकाभतिजा मिलेर व्यवसाय थप अघि बढाउँदै लगेका छन् ।

गोल्छामा जम्दै नाति पुस्ता

रामलाल गोल्छाले बसालेको व्यवसायको जग नाति पुस्ताले द्रुत गतिमा अघि बढाएका छन् । रामलालका छोरा हुलासचन्द्र र हंसराजले पनि व्यवसायलाई विस्तार गर्न थप योगदान दिए ।

हुलासचन्द्रपछि छोरा र हंसराजपछिका छोराले फरकफरक व्यवसाय सुरु गरे । हंसराजका छोराहरु लोकमान्य, हेमन्त, दिवाकर, दिनेश र राजकुमार एकापट्टि भए भने हुलासचन्द्रपट्टिका चन्द्रकुमार, सुरेन्द्र शेखर, सञ्जय एकापट्टि उभिएर व्यवसायलाई अघि बढाए । अहिले दुवै पक्षका नातिहरुले व्यवसायलाई शिखरतिर लम्काइरहेका छन् । रामलालका नातिबाट पनातिसम्म पनि व्यवसायको जिम्मा आइसकेको छ । अहिले आफ्ना छोरालाई शेखरले व्यवसायमा ल्याउने योजना बनाइसकेका छन् । हाल उनी अध्ययनरत छन् ।

ज्योति ग्रुपमा दोस्रो पुस्ता हाबी

ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति सक्रिय व्यावसायिक जीवनमा छैनन् । उनी नेपालको निजीक्षेत्रलाई मर्यादित एवम् सम्मानित बनाउन लागिपरेका छन् भने व्यवसाय छोराको जिम्मा लगाएका छन् । आफू ग्रुपको अध्यक्ष बने पनि व्यवसाय हेर्दैनन् । स्याकार ट्रेडिङ कम्पनी प्रालिका अध्यक्ष तथा ज्योति ग्रुप अफ कम्पनिजका निर्देशक सौरभ ज्योतिले व्यवसाय सम्हालेका छन् । सौरभले होन्डा बाइकको जिम्मेवारी सम्हालेका छन् ।

अभिकको नेतृत्व पनि कम छैन

सुरुमा हिरो होन्डा एउटै कम्पनीबाट बिक्रीवितरण हुँदै आएको थियो । जब बाइक उत्पादक कम्पनीले हिरो र होन्डाको उत्पादन छुट्टाछुट्टै गर्न थाल्यो, त्यसको असर ज्योति ग्रुपसम्म पनि पर्न थाल्यो । सौरभले होन्डा बाइक बेच्न थाले भने अभिकले हिरो बिक्री गर्न थाले । अभिकले नेपाल जनरल मार्केटिङ प्रालिको नामबाट हिरोका बाइक बिक्री गर्न थाले । आज उनको नेतृत्व पनि सफल देखिएकोे छ ।

उदीप अघि बढ्दै पञ्चकन्यामा

प्रेमबहादुर श्रेष्ठ उदीपका हजुरबुबा हुन् । पञ्चकन्याको स्थापना उदीपका हजुरबुबाले गरेका हुन् । आज उनी त्यही कम्पनीको नेतृत्व सम्हाल्दै अघि बढ्ने तयारीमा जुटेका छन् । भर्खरै विदेशमा अध्ययन गरेर नेपाल फर्किएका उदीपले कार्यकारी भूमिका लिएर अघि बढेका हुन् । प्रेमका छोरा प्रदीपले सम्हाल्दै आएको व्यवसायमा बिस्तारै नातिपुस्ताको प्रवेश बढ्दै छ ।

सारडाको नेतृत्व पनि दोस्रो पुस्तामै

राइस मिलमार्फत ६ दशकअघि उत्पादनमूलक उद्योगमा हात हालेको सारडा ग्रुपले डन्डी, सिमेन्ट, वायर, रिफाइनरी, मैदा, मदिरा, स्न्याक्स, अक्सिजन उत्पादन गर्दैै आएको छ । त्यसैगरी, निर्माणाधीन होङ्सी–शिवम् सिमेन्ट र प्रिमियर स्टिल सञ्चालनमा आउँदै छ । यी सबै उत्पादनको नेतृत्व शिवरतन सारडाका छोरा गौरवले सम्हाल्दै आएका छन् ।

खोले बाजेले, ब्रान्डिङ छोराको

आजभन्दा ३८ वर्षअघि दीनानाथ भण्डारीले काठमाडौंको सिनामङ्गलमा सानो छाप्रोबाट सुरु भएको व्यवसाय आज अमेरिकामा शाखा विस्तार गर्नेसम्म पुगिसकेको छ । देशभर ‘ब्रान्ड’ बनेको ‘बाजेको सेकुवा’को नाम सेकुवा खान आउने ग्राहकले नै राखिदिएका हुन् ।
भण्डारी थर भएकै कारण सेकुवाको अघि बाजे जोडिएर आएको हो । हो, त्यही बाजेको सेकुवालाई उनका छोरा चेतनले आज अमेरिकामा पु¥याइसकेका छन् । समयक्रममा चल्न सक्ने चेतनले देशभित्र विभिन्न ठाउँमा शाखा विस्तार गरिसकेका छन् भने देशबाहिर पहिलोपटक अमेरिकामा समेत शाखा खोल्न थालेका हुन् ।

लोमसमा छोराहरु फर्वार्ड

लोमस ग्रुपमा प्रदीपजङ्ग पाण्डे अध्यक्षको भूमिकामा छन् भने तीन भाइ छोरा कार्यकारी भूमिकामा देखिएका छन् । सिमेन्ट, औषधि तथा बैङ्क तथा वित्तीय संस्थामा छोराहरु सक्रिय रुपमा लागेका छन् । प्रतापले बैङ्क तथा वित्तीय संस्था हेर्दै आएका छन् भने प्रबलले सिमेन्ट उद्योग हेर्दै आएका छन् । त्यसैगरी, प्रज्वलले औषधि उद्योगको जिम्मेवारी सम्हालेका छन् ।

दोस्रो पुस्ताका व्यवसायीबीच फस्टाउँदै साझेदार बिजनेस

दोस्रो पुस्ताले आफ्नो व्यवसायलाई मात्रै अघि बढाएका छैनन्, साझेदारी संस्कारलाई पनि अँगालेका छन् । अहिले प्रबलजङ्ग र युवा उद्यमी भरत आचार्यबीच व्यावसायिक साझेदारी हुँदै छ । त्यसैगरी, विकास राणाका छोराहरु पनि पञ्चकन्या गु्रपका उदीपसँग साझेदारीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।