लुक्ला एयरपोर्टमा कामै नगरी फर्जी बिल, क्यान महानिर्देशक र विमानस्थल प्रमुखको मिलेमतो

जापान सरकारको सहयोगमा एयरपोर्टमा सोलार जडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ४ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरे पनि उनले कामै नगरी काम सकिएको भन्दै पैसा लिएका थिए ।

काठमाडौं । लुक्ला एयरपोर्टमा सोलार प्लान्ट राख्ने ठाउँ बनाउन तत्कालीन विमानस्थल प्रमुख योगेन्द्र कुँवरले ४ लाख २५ हजार रुपैयाँको फर्जी बिल बनाएको रहस्य खुलेको छ ।

जापान सरकारको सहयोगमा एयरपोर्टमा सोलार जडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ४ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरे पनि उनले कामै नगरी काम सकिएको भन्दै पैसा लिएका थिए ।

लुक्ला एयरपोर्टका तत्कालीन प्रमुख कुवँरले सोलार प्लान्ट राख्ने ठाउँ बनाएको भन्दै ती बिलमा आफैले किर्ते हस्ताक्षर गरेका थिए । कुँवरले क्यानलाई सबै काम सकिएको जानकारी गराएर बिलमा प्राविधिक दिनेश परियारको हस्ताक्षर र प्रमाणित नगराई पैसा लिएका हुन् ।

सोलार जडानका लागि जापानी टोली लुक्ला पुगेपछि सोलार जडान गर्ने ठाउँ नबनेको भन्दै प्राधिकरणमा गुनासो गरेपछि सो रहस्य खुलेको हो ।

जापानी टोलीले जानकारी गराएपछि क्यानको टोली स्थलगत निरीक्षणका लागि लुक्ला एयपोर्ट गएको थियो । तर काम नदेखिएपछिस्पष्टीकरण लिएर कुँवरलाई नेपालगञ्ज सरुवा गरिएको छ । हाल उनको ठाउँमा क्यानले ईमानाथ अधिकारीलाई कार्यालय प्रमुखका रुपमा पठाएको छ । जापानीहरुले तत्कालै सोलार प्लान्ट राख्नका लागि ठाउँ नबनाएमा जरिवाना गर्ने चेतावनी दिएपछि क्यानले हतारहतारमा फेरि खर्च गरेर ठाउँ बनाएको थियो ।

कार्यालय प्रमुखका रुपमा अधिकारी सरुवा भएर गएपछि माघ १ गते सबै काम सम्पन्न गरी सोलार प्लान्टका लागि ठाउँ बनाएका छन् । क्यान आफैले खर्च गरेर पुनः सोलार प्लान्ट राख्ने ठाउँ बनाएको हो ।

सोलार प्लान्ट राख्ने ठाउँ हेर्नका लागि पटक पटक केन्द्रबाट प्राविधिक पठाउन अनुरोध गर्दापनि दुर्गम भएको कारण आफुहरु आउन नसक्ने र डकुमेन्ट पठाइदिन भनेपछि बिलहरु पठाएको कुँवरले बताए । ‘मैले कुनै अनियमितता पनि गरेको छैन र बिलमा पनि हस्ताक्षर पनि गरेको छैन,’ उनले भने ।

काम भैरहेको थियो र निर्माण कम्पनीलाई रकम दिनका लागि भुक्तानी लिएको उनले बताए । सोलार प्लान्ट राख्ने ठाउँ निर्माण गरिरहेका बेला बर्खाका कारण केही भत्किएको र नजिकैको घर ढल्ने डरले लामो काम नगरेको उनको भनाइ छ । यस विषयमा क्यानले सामान्य सोधपुछ गरेको र आफ्नो नियमित सरुवा भएको उनले बताए ।

क्यान महानिर्देशक गौतमले गरेनन् कारबाही

काम नै नगरी भुक्तान लिए पनि क्यानका महानिर्देशक सञ्जिव गौतमले कुँवरलाई कारबाही भने गरेका छैनन् । कुँवरले लिएको रकम फिर्ता नै नलिई गौतमले त्यही कामलाई नयाँ बजेट दिएर सुरु गरेका हुन् ।

‘गौतमले कुँवरबाट पैसा असुल गर्नुपर्ने थियो र नक्कली बिल बनाउने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने थियो तर त्यस्तो भएन,’ क्यान स्रोतले क्यापिटल नेपाललाई भन्यो । ‘यसमा गौतमको पनि मिलेमतो देखियो ।