विमानस्थलका क्याफे सञ्चालक श्रेष्ठले प्रधानमन्त्रीदेखि प्रहरी नेतृत्वसम्मलाई प्रभावमा पारी अवैध धन्दा चलाएको खुलासा

काठमाडौं । करिव २५ लाख बराबरको अवैध विदेशी मुद्रासहित गत शुक्रबार पक्राउ परेका विमानस्थलका क्याफे सञ्चालक सुवास श्रेष्ठको जालो प्रधानमन्त्रीदेखि प्रहरी उच्च तहसम्म रहेको रहस्य खुलेको छ ।

श्रेष्ठले तत्कालिन पर्यटन मन्त्री शरदसिंह भण्डारीसँग सेटिङ मिलाएर अन्तर्राष्ट्रिय विमानस्थल भित्र सम्पुर्ण सुरक्षा घेरा पार गरेर अन्तिममा क्याफे संचालन गर्दै आएका थिए ।

श्रेष्ठले उक्त ठाँउमा क्याफे चलाउन राष्ट्रिय सुरक्षा परिषद र बिमानस्थल सुरक्षा समितिको समेत शिफारिस लिएर क्याफे संचालनको अनुमति पाएका थिए । सुरक्षा परिषदमा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीको प्रतिनिधी हुन्छन् ।

यति धेरै सुरक्षा निकाएको नेतृत्वमा भएको समितिबाट समेत श्रेष्ठले संवेदनशिल क्षेत्रमा क्याफे संचालन गर्दा सुरक्षा चुनौती नरहने सुझाव दिएको थियो ।

त्यसैगरी श्रेष्ठले बिमानस्थल सुरक्षा समितिबाट पनि उक्त क्याफे संचालन गर्दा सुरक्षा चुनौती नरहेको शिफारिसपत्र लिएका थिए । सो शिफारिसका आधारमा श्रेष्ठलाई क्याफे सञ्चालनको स्थान मिलेको थियो ।

श्रेष्ठले क्याफे संचालनको जिम्मा लिँदाताका विमानस्थलमा कार्यरत एक अधिकृतका अनुसार उच्च तहमा सेटिङ मिलाएरै क्याफे चलाउने ठाँउ हात पारेका थिए ।

“श्रेष्ठले संचालन गरेको क्याफेमा सामान्य पानी, कोक, चक्लेट लगाएत हल्का खाने कुरा राख्ने भनेर खोलिएको हो । तर उनले पनि खाने कुरा मम चाउमिनदेखि सबै खाने कुरा बेच्न थाले । ती सबै खानेकुराका प्याकेट बाहिरबाटै लिने गरेको थिए, तीनको सुरक्षा जाँच समेत हुने गरेको थिएन” ती अधिकृतले भने।

स्रोतका अनुसार श्रेष्ठको उच्च पंहुच देखेरै प्रहरी कर्मचारीदेखि अध्यागमनका अधिकारी र विमानस्थलका कर्मचारीहरुले उनको बिरोध गर्न सकेका थिएनन् ।

प्रधानमन्त्रीदेखि प्रहरीका हाकिमसम्म च्यानल

स्रोतका अनुसार श्रेष्ठको सम्वन्ध प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रहरीको उच्च तहसम्म छ । “हामीलाई धेरै पठक शंंका लागेको थियो, त्यो कुरा माथिल्लो निकाएमा नपुर्याएको पनि हैन, तर के गर्नु हाम्रै हाकिमको वाक्लो उठबस छ, श्रेष्ठको बिरोधको कुरै सुन्न मान्दैनन्, कसरी गर्नु कारवाही” विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतले क्यापीटल नेपालसँग भने ।

स्रोतका अनुसार व्यापारी श्रेष्ठले पछिल्लो समयमा प्रधानमन्त्री ओलीसँग समेत पहँच बनाएका थिए । श्रेष्ठलाई प्रधानमन्त्रीसम्म पुुर्याउने काम गरेका थिए, प्रधानमन्त्री निकट गोबिन्द थापाले ।

स्रोतका अनुसार गोबिन्द थापा र श्रेष्ठबीच घनिष्ठ सम्वन्ध छ, थापालेनै श्रेष्ठलाई प्रधानमन्त्री निवास बालुटावार पटक पटक पुर्याएर प्रधानमन्त्रीसँग पहुँच बिस्तार गराएका थिए ।

श्रेष्ठ र उच्च प्रहरी अधिकारीबीच घनिष्ट सम्वन्ध छ । उनको प्रहरी माथिल्लो तहमा पनि उत्तिकै उठबस भएको विमानस्थल स्रोतले जानकारी दियो । “हामीले कारवाही गर्न खोजेर के गर्नु, हाम्रै अधिकारी उनका डिनर पाटनर अनि विदेश घुमाउने दाता हुन्” एक प्रहरी अधिकारीले भने ।
आफु मुछिने डरले उच्च प्रहरी अधिकारी तै चुप मैचुप

पक्राउ परेका श्रेष्ठले पोल खोल्ने डरले प्रहरी प्रधान कार्यालयदेखि बिमानस्थलसम्म खैलाबैला भएको छ । राज्यको सबै सुरक्षा निकाय भन्दा मागि रहेर अवैध ब्यापार गर्दैमा तल्लीन श्रेष्ठलाई छुटाउन र उनको बिगतका गतिविधिलाई लुकाउन प्रहरी अधिकारीहरुनै लागी परेको स्रोतको दाबी छ ।

पछिल्लो समयमा श्रेष्ठको पहुँच देखेर भरखरै बिमानस्थलको जिम्मेवार समालेका प्रहरीका एसएसपी सन्दीप भण्डारी समेत नजिक हुन थालेका थिए ।

श्रेष्ठ पक्राउ पर्दा पनि भण्डारीलेनै नियम मिचेर छाडेका थिए तर पछि त्यो कुरा मिडियामा चुहिएपछि श्रेष्ठ परिवारलाई फेरी पक्राउ गरी राजश्वमा बुझाइएको थियो ।