‘न्यूनतम तलब’लाई लिएर महासङ्घ नै विभाजित, निर्णय कार्यान्वयनमा नलैजान महासङ्घ नेतृत्वलाई दबाब

महासङ्घको रोजगारदाता परिषद्ले सरकारसँग मिलेर एकैलौटी ७२ प्रतिशत तलव बढाएको भन्दै उद्योगीले नेतृत्वलाई कार्यान्वयन नगर्न चेतावनी दिँदै आएका हुन् । रोजगारदाता परिषदले कामदारको न्यूनतम ज्याला १३ हजार ४५० रुपैयाँ पु¥याउने निर्णयमा सहमति जनाएपछि महासङ्घको नेतृत्व विवादमा तानिएको छ ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले मजदुरलाई न्यूनतम ज्याला १३ हजार ४५० रुपैयाँ दिने निर्णय गरे पनि त्यसलाई कार्यान्वयनमा नलैजान महासङ्घमै आवद्ध उद्योगी, व्यवसायीहरुले दबाब दिएका छन् ।

महासङ्घको रोजगारदाता परिषद्ले सरकारसँग मिलेर एकैलौटी ३८ प्रतिशत तलब बढाएको भन्दै उद्योगीले नेतृत्वलाई कार्यान्वयन नगर्न चेतावनी दिँदै आएका हुन् । रोजगारदाता परिषदले कामदारको न्यूनतम ज्याला १३ हजार ४५० रुपैयाँ पु¥याउने निर्णयमा सहमति जनाएपछि महासङ्घको नेतृत्व विवादमा तानिएको छ ।

यसअघिसम्म न्यूनतम ज्याला ९ हजार ७०० रुपैयाँ रहेकोमा रोजगारदाता परिषद्ले एकलौटी निर्णय गरेर १३ हजार ४५० रुपैयाँ पु¥याएपछि उद्योगीहरु महासङ्घ नेतृत्वसँग रुष्ट भएका छन् ।

महासङ्घले देशभरका उद्योगीलाई हेरेर निर्णय गर्नुपर्नेमा आफ्नो क्षमता हेरेर निर्णय गरेको मोरङ उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरेले बताए । ‘महासङ्घ सरकारले तोकेको न्यूनतम ज्यालाभन्दा बढी सुविधा दिने उद्योगी पनि छन्, उनले भने, ‘तर, महासङ्घले भर्खरै खुलेका उद्योगलाई पनि हेरेर निर्णय गर्नुपर्ने हो । आफ्नो क्षमता हेरेर निर्णय गरेकाले यो कुनै हालतमा कार्यान्वयन हुँदैन ।’

महासङ्घका अध्यक्ष भवानी राणाले न्यूनतम ज्यालाको विषयमा महासङ्घभित्र धेरै विवाद भएको स्वीकार गरिन । ‘महासङ्घभित्र ठूलादेखि साना उद्योगी पनि छन्,’ उनले क्यापिटल नेपालसँग भनिन्, ‘ठूलाले त तोकिएको न्यूनतम ज्याला तथा सुुविधा दिन सक्छन्, साना उद्योग चाहीँ मर्कामा परेको भन्ने गुनासो बढेको छ र यसलाई तत्काल कार्यान्वयनमा नलैजान जिल्ला/जिल्लाको दबाब पनि छ ।’

बैङ्कको ब्याजदर चर्को भएका कारण उद्योगधन्दा चलाउन नसकिरहेको बेला न्यूनतम तलव र ज्यालासहित थप सेवा सुविधा भएकाले उद्योगीलाई कार्यान्वयनमा लैजान अप्ठ्यारो परेको उद्योगी सुनील खेतानले बताए । ‘दिन सक्ने उद्योगीले त्योभन्दा बढी पनि सुविधा दिइरहेका छन्,’ उनले भने, ‘तर, सबै उद्योगीको एउटै हैसियत छैन ।’

न्यूनतम ज्यालालाई लिएर महासङ्घको कार्यसमिति तथा पदाधिकारीमासमेत विवाद बढेको छ । कार्यसमितिका सदस्य तथा केही पदाधिकारीले रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले महासंघसँग कुनै सल्लाह नै नगरी एकलौटी रुपमा सरकारले निर्णय गरेको आरोप लगाएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जीफन्ट)का अध्यक्ष बिनोद श्रेष्ठले न्यूनतम ज्याला लागू गर्नबाट महासङ्घ पछि हट्न लागेको बताए । ‘पहिला आफैँ निर्णय गर्ने अनि अहिले कार्यान्वयन गर्न सक्दिनँ भन्न मिल्छ ?’ श्रेष्ठले प्रश्न गरे ।

न्यूनतम ज्यालाको विषयमा निर्णय हुनुपूर्व पर्याप्त छलफल नभएकाले यस्तो समस्या आएको श्रेष्ठको भनाई छ ।