किन असफल हुन्छ व्यवसाय ?

सबैखाले व्यवसाय असफल हुन्छन् भन्ने छैन, कतिपय व्यवसायमा सही योजना, लगानी तथा उदारताजस्ता सवालमा ध्यान पु¥याउँदा तिनले सफलता हात पार्छन् । असफल नेतृत्व, नयाँपनको अभाव, उपभोक्ताको रुचिसँग सरोकार नराख्नु, गैरनाफामूलक व्यावसायिक मोडेल, कमजोर वित्तीय व्यवस्थापन तथा वाञ्छित ढङ्गमा व्यवसाय वृद्धि र आकार विस्तार गर्न नसक्दा पनि व्यवसाय असफल हुन जान्छ ।

सुरु गरेका हरेक व्यवसाय सफल हुन्छन् भन्ने निश्चित हुँदैन । विभिन्न कारणले व्यवसाय असफल हुने गर्छन् । अमेरिकाका प्रसिद्ध म्यानेजमेन्ट कन्सल्ट्यान्ट पिटर ड्रकरले भनेका छन्, ‘हाम्रो व्यवसाय के हो भनेर जब व्यवस्थापनले तीक्ष्ण र स्पष्ट ढङ्गमा प्रश्न गर्दैन अथवा हेक्का राख्दैन, तब व्यवसाय असफल हुन्छ ।’ लगानीकर्ता हुन् या कम्पनीको उच्च पदमा आसीन व्यक्ति, तिनमा सम्बद्ध व्यवसायबारे ज्ञान नहुँदा कतिपय व्यवसाय डुबेका छन् ।

प्रविधिको उच्चतम प्रयोगमार्फत व्यवसायलाई ‘अपग्रेड’ गरेर लैजान सक्नु व्यावसायिक सफलताको एउटा महङ्खवपूर्ण कडी हो । जसले व्यवसायलाई समयसापेक्ष बनाउँछ, प्रविधिमैत्री बनाएर लैजान्छ त्यही व्यवसायी सफल हुन्छ । तर, प्रविधिलाई आत्मसात् नगर्ने व्यवसायी बीच बाटोमै रोकिन्छ भन्ने मत राख्छन्, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा ।

पछिल्लो समय प्रविधिमा उपभोक्ता धेरै जानकार भइसकेका छन्, उनीहरुले प्रयोग गर्ने हरेक वस्तु ‘एड्भान्स’ भइसकेको बेलामा उद्योगी÷व्यवसायी ‘म्यानुअल’ सिस्टमबाट माथि उठ्न सकेनन् भने यो क्षेत्रबाट आफैं पलायन भएर जाने कुरामा गोल्छा सहमत छन् । ‘एउटा उद्योगीले बजारमा भित्रिएका हरेक वस्तुमाथि नजर डुलाउनु आवश्यक छ । दैनिक नयाँनयाँ प्रविधि बजारमा भित्रिएका हुन्छन्, तिनको प्रयोगमार्फत सामान उत्पादन भइरहेका छन्,’ गोल्छा भन्छन्, ‘आफ्नो उद्योगलाई पनि सोही दिशामा नढाल्ने हो भने व्यवसाय गर्न कठिन हुन्छ । प्रविधिमैत्री हुन नसक्नुको परिणाम हो नेपालमा कतिपय व्यवसाय असफल हुनु ।’

लगानीकर्ताले प्रविधिको प्रयोग, पर्याप्त लगानी, चुस्तदुरुस्त व्यवस्थापन, गुणस्तरीय उत्पादन र आयातित वस्तुको बजारलाई नजिकबाट नियाल्न सकेन भने व्यवसाय बन्द गर्नुको विकल्प नहुने उनको बुझाइ छ ।

उद्योगी÷व्यवसायीले आफूलाई समयसापेक्ष बनाउन नसकेकै कारण नेपालमा विगतमा थुप्रै एयरलाइन्स कम्पनी डुबेका छन् । त्यति मात्रै होइन, कुनै दिन अत्यन्तै लोकप्रिय बनेको मायोज चाउचाउसमेत बन्द हुन पुगेको छ । विगतमा लामो समय लोकप्रिय बनेको क्वालिटी आइसक्रिम पनि बन्द भएको घटनाले कतिपय व्यवसायीलाई अहिले पनि झकझकाउँछ । घरजग्गा व्यवसायलाई व्यवस्थित बनाउन नसक्दा लगानीकर्ता जेलसमेत गएका घटना छन् ।

माथि उल्लेख गरेका पाँचओटा कुरालाई लगानीकर्ताले ख्याल नगरेकाले नेपालका ठुल्ठूला उद्योगले आफ्नो उत्पादन बन्द गर्नुपरेको गोल्छा बताउँछन् । कुनै व्यवसाय कुशल व्यवस्थापन नभएकाले टाट पल्टिएका छन् भने कुनैचाहिँ प्रविधिको प्रयोग नभएकाले बन्द भएका छन् ।
‘जति व्यवसाय बन्द भएका छन्, तिनको एउटै मात्र कारण हुन्छ भन्ने छैन,’ गोल्छाले भने, ‘फरकफरक कारणबाट व्यवसाय बन्द हुन पुगेका छन् ।’ विशेषगरी, कतिपय व्यवसायी घरजग्गाको कारोबारबाट टाट पल्टिएका छन् । त्यत्तिकै मात्रामा एयरलाइन्स कम्पनी पनि बन्द भएका छन् । विगतमा ख्याति कमाएका नेकोन, एभरेस्ट, कस्मिक, माउन्टेनजस्ता थुप्रै एयरलाइन्स कम्पनी बन्द हुन पुगे । कतिपय हेलिकोप्टर कम्पनी पनि बन्द भएका छन् । यो समस्या बैङ्क तथा वित्तीय संस्थामा पनि नदेखिएको होइन । २०४६ को परिवर्तनपछि खुलेका कतिपय फाइनान्स कम्पनी तथा बचत सहकारी निक्षेपकर्ताको लगानीसहितै डुबेका छन् । नियामक निकायको कमजोर कार्यशैली तथा फितलो नीतिनियमका कारण पनि सेयर लगानीकर्ता तथा सर्वसाधारणको रकम डुबेको छ । ठुल्ठूला कर्पोरेट हाउसले करोडौं रुपैयाँ लगानी गरेर स्थापना गरेका उत्पादन पनि छोटो समयमै बन्द गर्ने अवस्थामा पुगेका छन् ।

कुनै जमानामा वाइवाईसँग प्रतिस्पर्धामा उत्रिएको मायोज चाउचाउको उत्पादन अहिले बन्द छ । त्यसैगरी, कुनै समय घरजग्गा व्यवसायमा आक्रामक बनेका सुधीर बस्नेतको दौड पनि लामो समय टिक्न सकेन । त्यसैगरी, कुनै दिन जनताको मनमनमा बसेको बैङ्क (तत्कालीन किस्ट) पनि जनताको विश्वास जितिरहन नसक्ने अवस्थामा पुग्यो ।

यस्ता सबै व्यवसाय ‘फेलियर’ हुनुमा व्यवस्थापनको कमजोरी नै प्रमुख कारण भएको नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणा बताउँछिन् । व्यवसायी–व्यवसायीबीच हुने ‘कर्पोरेट गेम’ले पनि एउटाको व्यवसायलाई चौपट बनाउने र अर्काको फस्टाउने अवस्था आएको समेत देखिएको छ । व्यवसायीबीच स्वस्थ प्रतिस्पर्धा नहुँदा पनि लगानी डुब्ने गरेको देखिएको छ ।

‘व्यवसायले कति धेरै नाफा दिन्छ त्यो मुख्य कुरा होइन । मुख्य कुरा व्यवसाय निरन्तर चल्नु हो । त्यसको आम्दानीले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सकियोस्,’ नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा भन्छन्, ‘व्यावसायिक पहिचान बनाउन पनि उद्योगीले आफ्ना तर्फबाट पहल गर्नुपर्छ ।’

कतिपय अवस्थामा लगानीकर्ताले आफ्ना कर्मचारीको भरमा कम्पनी वा उद्योगधन्दा छाड्ने गरेकाले पनि अन्त्यमा समस्या आएको छ । ‘सम्पूर्ण व्यवस्थापन कर्मचारीको हातमा छाड्दा पनि व्यवसायमा समस्या आएका छन्,’ उनी भन्छन्, ‘लगानीकर्ताले आफ्नो उद्योगको बारेमा निरन्तर जानकारी नराख्दा समस्या आएको देखिन्छ ।’ यसका अतिरिक्त नेपालमा कतिपय व्यवसाय छिटो धनी हुने मनसायमा खोलिएकाले पनि छोटो अवधिमै असफल हुन पुगेका छन् ।

कतिपय व्यवसाय विस्तारको सम्भावना नभएकै कारण विफल हुन्छन् । व्यवसाय सुरु भएपछि त्यसको विस्तारका लागि क्षमता भए/नभएकोबारे राम्रोसँग अध्ययन हुनुपर्ने शर्माको भनाइ छ । व्यवसाय विस्तार हुन सकेन भने वा युुगअनुसार अपडेट हुन नसक्दा पनि व्यवसाय नै बन्द हुने उद्योगीहरु बताउँछन् ।
व्यावसायिक योजना नहुनु

व्यवसाय सुरु गर्नुअघि व्यावसायिक योजनाको आवश्यकता पर्छ । कसैले व्यावसायिक योजना नै नबनाई व्यवसाय सुरु गरेको अवस्थामा उक्त व्यवसाय असफल हुने निश्चित छ ।

तर, नेपालमा जुनजुन व्यवसाय असफल भएका छन्, ती व्यावसायिक योजना नबनाएर होइन । मायोज चाउचाउ प्रतिष्ठित उद्योगी राजेन्द्र खेतानको हो । उनी बलियो तथा प्रतिष्ठित व्यावसायिक पृष्ठभूमिका व्यक्ति हुन् । तर पनि उनको त्यो व्यवसाय असफल हुन पुग्यो । त्यसैगरी, भवन भट्टको बीबी एयरवेज पनि केही समयअघि बन्द भयो । उक्त कम्पनी सुरु भएको छोटो समयमै बन्द भएको थियो । तर, उनले पनि व्यावसायिक योजना नबनाएकै कारण बन्द भएको होइन । त्यस्ता धेरै व्यवसाय छन्, जो व्यावसायिक योजना बनाउँदाबनाउँदै पनि असफल भएका छन् ।

यसो भन्दैमा व्यावसायिक योजनाबिनै व्यवसाय सञ्चालन गर्न नहुने महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् । व्यवसाय सुरु गर्ने क्रममा बजारको अध्ययन अत्यन्तै जरुरी पर्ने उनको भनाइ छ ।

पुँजी अपर्याप्तता

व्यावसायिक योजना बनाउँदैमा व्यवसाय सफल हुन्छ वा प्रगति पथमा लम्किन्छ भन्ने हुँदैन । त्यस्तो हुन्थ्यो भने मायोजको उत्पादन बन्द नहुनुपर्ने हो । त्यसैले व्यवसाय गर्दा सबै कुरालाई उत्तिकै ख्याल गर्नुपर्छ । जब व्यवसाय सुरु गर्ने सोच बन्छ, त्यसलाई आवश्यक पर्ने पुँजी व्यवस्थापन गर्न सकिएन भने सोचेअनुरुप व्यवसाय अघि बढ्न सक्दैन ।

प्रतिस्पर्धीलाई कमजोर ठान्नु

व्यवसाय सुरु गर्ने जोकोहीले पनि आफ्नो प्रतिस्पर्धीलाई कमजोर आकलन गर्दा पनि ठूलो समस्या उत्पन्न भएको पाइन्छ । एउटै उत्पादनमा दुई व्यवसायीबीच प्रतिस्पर्धा हुन सक्छ । तर, एकअर्काले कसैलाई पनि कमजोर ठान्नु हुन्न ।

प्रविधिसापेक्ष नहुनु

आजको युगमा प्रविधिले धेरै ठूलो फड्को मारेको छ । नयाँनयाँ प्रविधिसँग मानिसको परिचय र प्रयोग बढिरहेकै बेला उद्योगले आफ्नो उत्पादन बढाउन प्रविधिलाई आत्मसात् नगर्ने हो भने उद्योग चल्न सक्दैन । प्रविधिले उत्पादन बढाउन, उत्पादन लागत घटाउन ठूलो सहयोग पु¥याउने भएकाले सोहीअनुसार व्यवसायी अघि बढ्नुपर्छ ।

गुणस्तरमा ‘कम्प्रोमाइज’

प्रतिस्पर्धाी युगमा गुणस्तरीय उत्पादन सबैभन्दा ठूलो कुरा हो । गुणस्तरीय उत्पादन छ भने, त्यो व्यवसाय असफल हुने सम्भावना निकै कम हुन्छ । एकअर्को उद्योगसँग प्रतिस्पर्धा गर्नका लागि गुणस्तरीय उत्पादन आवश्यक छ । उपभोक्ताको रोजाइमा पर्ने एउटा प्रमुख कारण गुणस्तर पनि हो ।

कमजोर प्रवद्र्धन

कतिपय मानिस व्यवसाय सुरु त गर्छन् । तर त्यसको प्रचार सही ढङ्गले गर्दैनन् । पहिलाको जमानामा प्रचारप्रसार गर्नु निकै खर्चिलो काम हुन्थ्यो । तर अहिलेको समयमा प्रचारप्रसार गर्न निकै सहज छ । डिजिटल जमानामा अधिकांशका हातमा स्मार्टफोन पुगिसकेको छ । प्रत्येक व्यक्ति कुनै न कुनै रुपमा सामाजिक सञ्जालमा जोडिएको हुन्छ । फेसबुुक, ह्वाट्सअप, ट्वीटरजस्ता माध्यमबाट आफ्नो व्यवसाय प्रचार गर्न सकिने अवस्था छ । उत्पादन प्रवद्र्धनका निम्ति सञ्चारका विभिन्न माध्यमको उपयोग नगरी अब स्तरीय उत्पादन मात्रैले काम चल्दैन । आफ्नो ‘प्रडक्ट’बारे उपभोक्तालाई प्रचुर जानकारी गराउन सक्नुपर्छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार जब कुनै पनि व्यवसायले नाफा आर्जन गर्न सक्दैन, खर्च धान्न सक्ने गरी पर्याप्त रिभेन्यू उठाउन सक्दैन, तब त्यो असफलतातिर उन्मुख भएको मानिन्छ । एउटा नाफामुखी व्यवसायले आफ्नो कम्पनीको सारा खर्च धान्न सक्ने गरी नगद प्रवाह गर्न नसकेको अवस्थालाई व्यावसायिक असफलता मानिन्छ ।

नयाँ व्यवसाय सुरु गरेको पहिलो वर्षमै असफल हुने कतिपय अन्तर्राष्ट्रिय अध्ययनले देखाए पनि खासमा यसका निम्ति दुई वर्ष लाग्ने देखिन्छ । इन्भेस्टोपिडियाका अनुसार ३० प्रतिशत दोस्रो वर्षमा, ५० प्रतिशत पाँच वर्ष तथा ६६ प्रतिशत व्यवसाय आरम्भ भएको १० वर्षको अवधिमा सफल–असफलको निष्कर्षमा पुग्ने गरेको छ । २५ प्रतिशत व्यवसाय भने स्थापनाको १५ वर्षमा निक्र्योलमा पुग्ने देखिन्छ । उल्लिखित अवधिमा सबैखाले व्यवसाय असफल हुन्छन् भन्ने छैन, कतिपय व्यवसायमा सही योजना, लगानी तथा उदारताजस्ता सवालमा ध्यान पु¥याउँदा तिनले सफलता हात पार्छन् । असफल नेतृत्व, नयाँपनको अभाव, उपभोक्ताको रुचिसँग सरोकार नराख्नु, गैरनाफामूलक व्यावसायिक मोडेल, कमजोर वित्तीय व्यवस्थापन तथा वाञ्छित ढङ्गमा व्यवसाय वृद्धि र आकार विस्तार गर्न नसक्दा पनि व्यवसाय असफल हुन जान्छ ।
व्यवसाय आन्तरिक मात्र होइन, कतिपय अवस्थामा बाह्य कारणले पनि असफल हुन सक्छ ।

युद्ध, मन्दी, उच्च दरको कर, बैङ्कको उच्च ब्याजदर, सरकारद्वारा अपनाइएको कडा नियमनजस्ता कारणले पनि व्यवसाय असफल हुन सक्छ । बजारमा सधैँ एउटै शैलीको वस्तुको माग नरहन सक्छ । बलियो सञ्चार क्षमताका कारण उपभोक्ताको रुचिमा छिटोछिटो परिवर्तन आइरहेको देखिन्छ । प्रविधिमा नयाँपन दिन नसक्दा पनि उत्पादन बजारले अस्वीकार गर्न सक्ने अवस्था आउँछ । नेपालजस्तो हरदम प्राकृतिक प्रकोपको मारमा पर्न सक्ने भौगोलिक बनावटयुक्त मुलुकमा वस्तु बिक्रीमा तीव्र फेरबदल आउन सक्छ । छोटो दूरीमै हावापानी फरकफरक हुने हुनाले नेपालमा खाने–पिउने र लगाउने कुरामा भिन्नता छ ।

कमजोर व्यवस्थापकीय निर्णय, अपर्याप्त मार्केटिङ, समान खालका अन्य व्यवसायसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि असफलताको कारण हुन सक्छ । साथै, सर्वसाधारणले कम्पनीका उत्पादन मन पराउने क्रम घट्दै जानुले पनि व्यवसाय डुब्न सक्छ । यस्तो अवस्थामा पुगेको व्यवसायलाई देशको कानुनले नै बन्द गरिदिनुभन्दा आफैं बन्द गर्नु बुद्धिमानी हुन्छ ।