अर्थमन्त्रीको प्राथमिकता राजस्वभन्दा पनि औद्योगिक प्रवर्द्धनमा, आउला त उद्योगमैत्री बजेट ?

देशभित्र ठूलो सङ्ख्यामा रोजगारी वृद्धि, दोहोरो आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन उद्योग र पूर्वाधारको विकास अत्यावश्यक भएको भन्दै अर्थमन्त्री खतिवडाले सोही अनुसार बजेट बनाउन लगाइरहेको अर्थका एक उच्च अधिकारीले बताए ।

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा राजस्व बढाउनेभन्दा पनि उद्योगको प्रवद्र्धन गर्ने बजेट ल्याउने तयारीमा जुटेका छन् । उद्योगको विकासबाटै देशले लिएको आर्थिक विकासको लक्ष्य पूरा हुने भन्दै अर्थमन्त्री खतिवडाले सोही अनुसार बजेट निर्माण गर्न अर्थका उच्च अधिकारीलाई निर्देशन दिएका छन् ।

देशभित्र ठूलो सङ्ख्यामा रोजगारी वृद्धि, दोहोरो आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन उद्योग र पूर्वाधारको विकास अत्यावश्यक भएको भन्दै अर्थमन्त्री खतिवडाले सोही अनुसार बजेट बनाउन लगाइरहेको अर्थका एक उच्च अधिकारीले बताए । ‘यसपाली राजस्वभन्दा पनि उद्योग, पूर्वाधार तथा सूचना प्रविधिलाई विकास गर्ने गरी बजेट आउँछ,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘यो पटक अर्थमन्त्री खतिवडाको ध्यान राजस्वमा केन्द्रीत भएको छैन ।’

अर्थमन्त्री खतिवडाले आउँदो बुधबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दैछन् । सरकारलाई जहिले पनि आयातमुखी अर्थतन्त्रको पक्षमा वकालत गर्यो भन्ने आरोप लाग्ने गरेको थियो । आगामी बजेटबाट त्यो मानसिकता हट्ने अर्थ मन्त्रालय स्रोतले दाबी छ ।

केही दिनअघि उद्योगमन्त्री तथा उद्योग सचिवले पनि औद्योगिक वातावरण बन्नेगरी बजेट ल्याउन अर्थमन्त्रीसमक्ष आग्रहसमेत गरेका थिए । त्यसैगरी, अर्थमन्त्री खतिवडा आफैँले पनि यस आगामी आर्थिक वर्षको बजेटले राजस्वलाईभन्दा पनि उद्योग, पूर्वाधारलगायतका क्षेत्र जहाँबाट पर्याप्त मात्रामा रोजगारी सिर्जना हुन्छ, त्यही क्षेत्रमा बजेट केन्द्रीत हुने बताउँदै आएका थिए ।

केही दिनअघि उद्योगी/व्यवसायीसँगको भेटमा बजेट राजस्वमुखीभन्दा पनि उद्योगमैत्री आउने बचनसमेत दिएका अर्थमन्त्री खतिवडाको आश्वासनले उद्योगमैत्री बजेट आउनेमा उद्योगीहरु आशावादी भएका छन् । भेटमा उद्योगीहरुले उद्योगको विकास गर्न छुट दिनु नपर्ने तर, प्रोत्साहन आवश्यक भएको बताएका थिए ।

पछिल्ला केही वर्षयता नेपालमा नयाँ उद्योग खोल्नेक्रम रोकिएको छ । सिमेन्ट बाहेक अन्य क्षेत्रमा नयाँ उद्योग स्थापना हुन सकेका छैनन् । यस्तै वैदेशिक लगानी पनि खुम्चीँदै गएको छ । यदि आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री भएमा उद्योगधन्दाहरुले विकासको गति लिने देखिन्छ ।