बौरियो किसानको सारथि

वार्षिक १७ लाख टन दूध उत्पादन हुँदै आएको छ । उत्पादित दूधको १५ प्रतिशत मात्रै औपचारिक तथा व्यावसायिक ढङ्गमा आउने गरेको छ । बाँकी ८५ प्रतिशत दूध घरायसी प्रयोजनमै खपत हुने गरेको छ । त्यही १५ प्रतिशतमध्ये पनि हाल एक लाख ५० हजार लिटर दूध उद्योगमा अधिक भइरहेको छ ।

किसानसँग निरन्तर हातेमालो गर्दै अघि बढेको चितवन मिल्क बन्द भएको तीन वर्षपछि पुनः सञ्चालनमा आएको छ । तीन वर्षअघि अन्तर्राष्ट्रिय बजारमा धूलो (पाउडर) दूधको मूल्य ओरालो लाग्न थालेपछि चितवन मिल्कले उक्त मूल्यमा दूध बेच्न नसकेपछि बन्द भएको थियो । तर तीन वर्षपछि नेपाल डेरी उद्योग सङ्घको पहलमा चितवन मिल्क पुनः सञ्चालनमा आएको हो ।

सरकारी तथा निजी डेरी उद्योगले चितवन मिल्कलाई दैनिक ५० हजार लिटर दूध उपलब्ध गराउनैपर्ने अनिवार्य निर्णय गरेका कारण नेपालकै ठूलो पाउडर प्लान्ट सञ्चालनमा आएको सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । ‘लाखौँ रुपैयाँ लगानी गरेर पशुपालन गरेका किसानले उत्पादन गरेको दूध यस वर्ष सडकमा पोख्ने अवस्था आइसकेको थियो,’ उनले क्यापिटलसँग भने, ‘किसानले सडकमा दूध पोख्ने अवस्था आएको भए, अर्को वर्षदेखि पशुपालन गर्ने कृषकको सङ्ख्या घट्ने अवस्था आउँथ्यो ।’

 

 

उद्योग सङ्घका अनुसार हाल दैनिक एक लाख ५० हजार लिटर दूध बढी भएको थियो । बढी भएको दूधमध्ये ४० हजार लिटर दूध पोखराको सुजल डेरीले खपत गर्दैै आएको छ । त्यसैगरी, विराटनगरस्थित दुग्ध विकास संस्थानको पाउडर प्लान्टले ४० हजार र केही दिनअघि मात्रै सञ्चालनमा आएको चितवन मिल्कले ५० देखि ६० हजार लिटर दूध खपत गर्दै आएको सङ्घले जानकारी दिएको छ ।

‘डेरी उद्योगीले पहल नगरेको भए, हाल दैनिक ४० देखि ५० हजार लिटर दूघ सडकमा पोखिन्थ्यो,’ सङ्घका निवर्तमान अध्यक्ष प्रदीप महर्जनले भने, ‘उत्पादित दूध सडकमा पोखिँदा किसानलाई मात्रै घाटा हुँदैन । त्यसको प्रत्यक्ष असर उद्योग तथा सरकारी क्षेत्रमा पनि पर्छ ।’ निजीक्षेत्रको निरन्तरको प्रयासपछि देशकै ठूलो पाउडर प्लान्ट पुनः सञ्चालनमा आउनाले सदाका लागि ‘मिल्क होलिडे’ हटाउन महङ्खवपूर्ण भूमिका खेलेको उद्योगीहरुको भनाइ छ ।

विशेषगरी यो सिजनमा धेरै दूध उत्पादन हुने, तर खपत भने अन्य महिनाको तुलनामा कम हुने गर्छ । दूध तथा दुग्धजन्य पदार्थको खपत कम हुनेबित्तिकै उद्योगले किसानबाट लिने दूधको परिमाण घटाउँछन् । एकातिर उद्योगले दूधको परिमाण घटाउने, अर्कोतिर दूधको उत्पादन बढ्ने अवस्था आएपछि मिल्क होलिडे हुने पक्का थियो । त्यसैलाई रोक्न सबै डेरी उद्योगी मिलेर चितवन मिल्क सञ्चालन गरेको राजभण्डारीले जानकारी दिए ।

सङ्घका अनुसार वार्षिक १७ लाख टन दूध उत्पादन हुँदै आएको छ । उत्पादित दूधको १५ प्रतिशत मात्रै औपचारिक तथा व्यावसायिक ढङ्गमा आउने गरेको छ । बाँकी ८५ प्रतिशत दूध घरायसी प्रयोजनमै खपत हुने गरेको छ । त्यही १५ प्रतिशतमध्ये पनि हाल एक लाख ५० हजार लिटर दूध उद्योगमा अधिक भइरहेको छ । त्यही दूधलाई व्यवस्थापन गर्न चितवन मिल्क सञ्चालनमा ल्याएको सङ्घले जानकारी दिएको छ ।
चितवन मिल्कको दैनिक एक लाख लिटर दूध खपत गर्न सक्ने क्षमता छ ।

तर, हाल कुल क्षमताको ५० प्रतिशत मात्रै उत्पादन गर्दै आएको छ । असोजबाट दूधको मुख्य सिजन सुरु हुन्छ । यसपालिको मुख्य सिजनमा दूध उत्पादन दैनिक २ लाख लिटरले बढ्ने अनुमान छ । सोही परिमाणको दूध प्रशोधन गर्न सक्ने क्षमताको चितवन मिल्क पुनः सञ्चालनमा आएको हो । चितवन मिल्कमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको ६.६६ प्रतिशत सेयर छ । चितवन मिल्कले दैनिक १५ टन धुलो दूध उत्पादन गर्न सक्छ ।