कालिञ्चोक केवलकार असारबाट, लागत बढेर ४० करोड पुग्यो

मुुलुकको तेस्रो केवलकार आगामी असारदेखि दोलखाको कालिञ्चोकमा सञ्चालनमा आउने भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले दुई बर्षअघिबाट निर्माण सुरु गरेको केवलकारको ७५ प्रतिशत काम सम्पन्न भैसकेको छ ।

दोलखाको प्रमुख धार्मिक स्थल कालिञ्चोक पुग्न निर्माण भइरहेको केबलकार ४ महिनाभित्र सञ्चालनमा आउने केवलकार सञ्चालक गुरु अधिकारीले बताए ।
२६ करोड लागतमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएपनि केवलकारको लागत ४० करोड रुपैया पुगेको सञ्चालक अधिकारीले बताए । ‘सुरुमा २६ करोडको लागतमा निर्माण गर्ने भनिएपनि निर्माण अवधि बढेसँगै सामानको मुल्य पनि बढेको कारण लागत बृद्धि भयो,’ उनले भने ।

केवलकारको लागि आवश्यक सामाग्रीहरु स्वीजरल्याण्ड बाट नेपालमा ल्याइसकेको जानकारी दिदै हाल सम्म दुई वटा टावर निर्माण सम्पन्न भइसकेको र बाकी टावरको पनि काम भइरहेको कम्पनीले जनाएको छ । केवलकारमा चार वटा डब्बा हुने छ । सो डब्बाको क्षमता १० जनाको रहेको कम्पनीले जनाएको छ ।

कालिञ्चोकको कुरी बाट मन्दिर सम्म पुग्न एक किलोमिटर उकालो हिड्नु पर्छ । कतिपय धार्मिक पर्यटकहरु त्यही उकालो चढ्न नसकेकै कारण विच बाटो बाटै फर्किन बाध्य हुने गरेका छन् । केवलकार बाट मन्दिर सम्म पुग्न पाँच मिनेट मात्र लाग्ने भएकोले पनि धेरैको आकर्षणको केनद्र विन्दु हुन सक्ने सञ्चालक अधिकारीको भनाइ रहेको छ । केवलकार बाट कुरी बजारको मनोरम दृष्य हेर्न पाउनुको साथै हिमालको दृष्यहरु लाई पनि नजिक बाट नियाल्न सकिने भएकोले पनि धेरै धार्मिक पर्यटकहलाई सहज हुने अर्का सञ्चालक बालकृष्ण शिवाकोटीको भनाइ रहेको छ । पूवी पहाडी इलाकामै पहिलो रहेको सो केवलकारमा दोलखाली उद्योगी व्यवसायीहरुको लगानी रहेको छ । केवलकार निर्माण सँगै कालिञ्चोकको कुरीमा ठुला होटलहरु समेत निर्माण हुन थालेको छ ।

यसैविच केवलकार निर्माण पछि मन्दिर सम्म जाने बाटो बन्द भएको भन्दै स्थानीयहरुले दुखेसो पोखेका छन् । स्थानीय एवंम माओवादी केन्द्रका नेता नरबहादुर पाख्रिनले प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापा लाइ एक ज्ञापन पत्र बुझाउदै केवलकार निर्माणले मन्दिर सम्म जाने बाटो अवरुद्ध गरेर धर्मालम्बीहरु समस्यामा परेको बताए । यता केवलकार सञ्चालक अधिकारीले भने मन्दिर सम्म जाने बैकल्पीक बाटो निर्माण गरिदिएकोले अवरुद्ध नभएको जानकारी दिए । उनले स्थानीयहरुले भने जस्तो समस्याहरु नभएको बताउदै केहि समस्या भएमा समधानको लागि पनि आफुहरु तयार रहेको बताए ।

तस्विर: सुवास याेञ्जन