तत्काल सञ्चालन हुन सक्छन् पाँच एयरपोर्ट : प्राधिकरण

‘स्थानीय तहकै मागअनुसार एक साताअघि बागलुङको बलेवा एयरपोर्ट सञ्चालनमा आएको छ, अन्य थप पाँचओटा पनि सञ्चालन गर्न सकिन्छ ।

स्थानीय तहले सञ्चालनको जिम्मेवारी लिए तत्काल पाँचओटा एयरपोर्ट सञ्चालन गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ । लामो समयदेखि अवरुद्ध रहेका २० ओटामध्ये पाँचओटा एरपोर्ट सञ्चालन गर्न सकिने क्यानका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले बताए ।

सबै ठाउँमा सडकमार्गको पहुँच पुगेका कारण धेरै एयरपोर्टहरु बन्द भएको प्रवक्ता श्रेष्ठको भनाइ छ । स्थानीय तहले तदारुकता देखाएमा सञ्चालनका लागि आफूहरु तयार रहेको उनले बताए । ‘स्थानीय तहकै मागअनुसार एक साताअघि बागलुङको बलेवा एयरपोर्ट सञ्चालनमा आएको छ, अन्य थप पाँचओटा पनि सञ्चालन गर्न सकिन्छ’, उनले भने ।

लामो समयदेखि बन्द रहेका दाङको टरिगाउँ, डोटी एयरपोर्ट, मसिनेचौर, मेघौली र साँफेबजारका एयरपोर्ट सञ्चालन गर्न सकिने र अन्य १४ ओटा भने सञ्चालन गर्न नसकिने क्यानको भनाइ छ । सबै ठाउँमा सडक मार्ग पुगेको र हवाइ मार्गभन्दा सडक मार्गबाट यात्रुहरुलाई यात्रा गर्न सस्तो पर्ने भएकाले पनि एयरपोर्ट सञ्चालनमा समस्या आएको प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘सुरुसुरुमा सडक मार्ग नभएकाले एयरपोर्ट बनाइयो, अहिले सडक पुग्यो, एयरपोर्ट बन्द भए,’ श्रेष्ठले भने ।

बन्द रहेका सबै एयरपोर्टमा हेरालुका रुपमा एक÷एक जना चौकीदार राखिएको बताइएको छ । एयरपोर्टमा रहेका सामग्रीको सुरक्षा र अतिक्रमणबाट रोक्न वार्षिक लाखौं रुपैयाँ खर्च गरेर चौकीदार राखिएको छ । ती चौकीदारलाई प्रति महिना १५ देखि २० हजार रुपैयाँसम्म तलब दिने गरिएको बताइएको छ । चौकीदारलाई मात्र वार्षिक सरदर २० हजारका दरले २० ओटा एयरपोर्टमा गरी ४८ लाख रुपैयाँ खर्च हुने गरेको छ ।