पर्यटक बढाउन चिनियाँ र हिन्दी भाषामा वेबसाइट

नेपालमा चिनियाँ र भारतीय पर्यटक आउने क्रम बढेसँगै सरकारले दुवै भाषामा वेबसाइट बनाउने तयारी थालेको छ । पछिल्लो समय दुई छिमेकी मुलुक चीन र भारतबाट ठूलो सङ्ख्यामा पर्यटक आउन थालेपछि सरकारले उनीहरुको सहजताका लागि आफ्नै भाषामा वेबसाइट बनाउन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।

‘नेपालमा दुई देशबाट आउने पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ,’ मन्त्री अधिकारीले भने, ‘भाषा सहजताका लागि वेबसाइट बनाउने तयारी गरिरहेको हो ।’ पर्यटन मन्त्रालयले आगामी २०२० भित्रमा नेपालमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, त्यही अन्तर्गत वेबसाइट बनाउन लागेको उनको भनाइ छ ।

पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका दूतावाससँग छलफल भइरहेको छ । सबै देशका पर्यटकलाई पनि नेपालमा भित्र्याउने कोसिस गरिरहेको उनले बताए । ‘नेपालमा रहेका धेरै पर्यटकीय स्थल ओझेलमा परेका छन्, त्यसको प्रवद्र्धन गर्न सके पर्यटक झनै थपिन्छन्,’ उनले भने ।

तर मन्त्रालयको काम नीति निर्माण गर्ने भएको र वेबसाइट बनाउनेतर्फ उसले त्यति चासो दिनु नपर्ने प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका पूर्वअध्यक्ष सुमन पाण्डेले बताए । ‘मन्त्रालयको काम नीति निर्माण गर्ने हो,’ उनले भने, ‘वेबसाइट बनाउने होइन ।’

भाषिक वेबसाइटले चिनियाँ पर्यटकहरुलाई केही मात्रामा सहज बनाउने भए पनि भारतीय पर्यटकलाई भने खासै आवश्यकता नरहेको पाण्डेको भनाइ छ । पर्यटनमन्त्री अधिकारीले वेबसाइट निर्माणभन्दा पनि पूर्वधार निर्माणमा जोड दिए राम्रो हुने पाण्डेको सुझाव छ ।

नेपालमा २०१७ मा चीनबाट मात्रै एक लाख १५ हजार र भारतबाट एक लाख ६० हजार पर्यटकहरु आएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । यो तथ्याङ्क जहाजबाट आउनेको मात्र हो । नेपाल र भारतबीच खुला सिमाना रहेकाले सडकमार्गबाट नेपाल भित्रने पर्यटकको भने तथ्याङ्क नरहेको उनले जानकारी दिए । उनले २०१०÷११ मा गरेको सर्वेक्षणमा सडकमार्ग हुँदै वार्षिक ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रने गरेको तथ्याङ्क छ ।