बैङ्कमै मन, बैङ्कमै जीवन

एक दशकभन्दा बढी कार्यकारी अध्यक्ष भएका पाँडे अहिले बैङ्कका अध्यक्ष छन् । ‘खासमा म बैङ्कबाट बाहिरिनुपर्छ भन्ने सोचमा थिएँ,’ उनले बैङ्कमै बसिरहनुको कारण प्रस्ट्याए, ‘तर केही साथीहरुले अझै बैङ्कलाई अघि लगेर छाड्न आग्रह गरेपछि बसिरहेको छु ।’ कालु पाँडेको लिगेसी बोकेका पृथ्वीबहादुर पाँडे बैङ्किङका सुपरस्टार हुन् । बैङ्किङ विषयमा बिस्तारै कम बोल्न थालेका यी सुपरस्टार अब पर्यटनमार्फत आफ्नो दोस्रो अवतार देखाउने तयारीमा छन् ।

उनका लागि संसारमा सबैभन्दा उत्कृष्ट विश्वविद्यालय हुन्— आफ्नै बुबा । दरबारमार्गको नेपाल इन्भेस्टमेन्ट बैङ्कको मुख्यालयमा उनले करोडौं रुपैयाँ पर्ने सयौं पेन्टिङ झुन्ड्याएका छन् । उनको क्याबिनमा पुग्दा जोकोहीलाई लाग्छ, यो क्यानभास हो । भित्तामा झुन्डाइएका पेन्टिङ र इन्स्टलेसन आर्टले उनको क्याबिन र मुख्यालय बैङ्क कम, सङ्ग्रहालय बढी देखिन्छ । तर, क्याबिनअघि पेन्टिङका बीचमा झुन्डाइएको एउटा तस्बिर उनलाई विशेष लाग्छ । त्यो तस्बिर हो सरदार भीमबहादुर पाँडेको, जसले त्यसबखतको नेपाल पुस्तक लेखे । उनी हुन्, नेपालका स्थापित एवम् चर्चित बैङ्कर पृथ्वीबहादुर पाँडेका बुबा ।

कालु पाँडेका ११औं पुस्ता पृथ्वीबहादुर पाँडे बैङ्किङ क्षेत्रमा ‘पायोनियर’ मानिन्छन् । राष्ट्र बैङ्क, वाणिज्य बैङ्क, हिमालयन बैङ्कदेखि नेपाल इन्भेस्टमेन्ट बैङ्कसम्म आइपुग्दा उनले नेपालको बैङ्कको अवस्था र प्रणालीका विषयमा राम्रो अनुभव बटुलेका छन् ।

खासमा उनलाई आफू बैङ्कर नै बन्छु भन्ने लागेको थिएन । तर घरमा आयोजना गरिएको एउटा पार्टीले उनलाई यो क्षेत्रतर्फ डो¥यायो । पार्टीमा राष्ट्र बैङ्कका गर्भनर र अर्थमन्त्री उपस्थित थिए । हो, त्यही दिनपछि पाँडेको करिअर बैङ्किङतर्फ मोडियो ।

बुबाको प्रत्यक्ष निगरानीमा रहेका पाँडे उनको कूटनीतिक यात्रामा सँगै हुन्थे । उनका बुबा भीमबहादुर पाँडेलाई नेपालको कूटनीति एवम् इतिहासका ‘अब्बल’ मानिन्छ । जर्मनी र भारतको राजदूत भएका भीमबहादुर जहाँ जान्थे, परिवारलाई सँगसँगै लैजान्थे ।

‘नेपालका लागि जर्मनको राजदूत भएपछि सन् १९६५ अगस्टमा हामी जर्मन गयौं,’ बैङ्कका सहयोगीले प्लेटमा ल्याएको स्याउको एक टुक्रा खाँदै उनले भने, ‘मलाई बुबाले जर्मनीमा स्कुल पढाउन खोज्नुभयो । तर भाषा मिलेन । अनि म त्यो बेला जर्मनीबाट बेलायत गएँ ।’

बेलायतबाट जर्मनी आउने–जाने भइरहेको थियो । ‘बुबा जर्मनीको समयावधि सकिएर भारतको राजदूत हुनुभएको थियो,’ उनले विगत सम्झिए, ‘उहाँ सन् १९६९ देखि १९७२ सम्म भारतको राजदूत हुनुभयो । म पनि भारत नै गएँ । त्यहाँको दिल्ली युनिभर्सिटीबाट चार्टर्ड अकाउन्टेन्ट पढेर सन् १९७८ मा नेपाल फर्कें ।’

त्यतिखेर भीमबहादुर पाँडे पनि नेपाल फर्केका थिए । एक दिन पाँडेको घरमा पार्टी भएको थियो, जहाँ तत्कालीन अर्थमन्त्री र गभर्नरको पनि उपस्थिति थियो । उनका बुबाले पृथ्वीबहादुरलाई अर्थमन्त्री र गभर्नरसँग चिनाए, ‘मेरो छोरा भारतबाट सीए पढेर आएको छ ।’ त्यो बेला नेपालमा सीए पढेर आउने ज्यादै थोरै थिए । ‘सायद म चौधौं व्यक्ति थिएँ होला सीए पढ्ने,’ पृथ्वीबहादुरले बैङ्किङतर्फ लाग्नुको कारण खोले, ‘मेरो घरमा पार्टी थियो । त्यो बेला त्यहाँ अर्थमन्त्री र गभर्नर आउनुभएको थियो । बुबाले त्यहाँ मेरो छोरा सीए पास गरेर आएको छ भनेर चिनाउनुभयो । गभर्नरले हामीले दुई जना सीए लिन विज्ञापन गरेको, कसैको आवेदन आएको छैन । छोरालाई राष्ट्र बैङ्कमा पठाउनुस् भनेर बुबालाई भन्नुभयो । अर्थमन्त्रीले हामीलाई पनि अर्थ मन्त्रालयमा पनि सीए चाहिएको छ भन्नुभयो ।’

पाँडे केही समय खाली बस्ने मुडमा थिए– बिन्दास भएर । सम्भ्रान्त परिवारको लिगेसी उनमा जो थियो । तर उनी आफूले चाहेजस्तो बिन्दास हुन पाएनन्, राष्ट्र बैङ्कमा जागिर खान गए । ‘मैले जागिर गर्दिनँ भनेपछि बुबाले योगदान गर्नुपर्छ, हाम्रो परिवार राष्ट्रका लागि योगदान गर्दै आएको हो भन्दै सम्झाउनुभयो,’ उनले भने, ‘त्यो बेला क्वालिफाइड मान्छे धेरै थिएनन् राष्ट्र बैङ्कमा । म जागिरका लागि गएँ । तलब थियो १ हजार २ सय ७५ रुपैयाँ ।’

त्यो बेला व्यापारभन्दासरकारी जागिरमै बढी इज्जत थियो । उनका दाइ र भाइ पनि आर्मीमा गइसकेका थिए । उनलाई पनि राष्ट्र बैङ्कमा गएर राष्ट्रसेवा हुन्छ भन्ने लाग्छ भने जान्छु भन्ने लाग्यो । र, बुबाको आदेश पालन गरे ।

सन् १९७८ मा राष्ट्र बैङ्क प्रवेश गरेर सन् १९९३ सम्म राष्ट्र बैङ्कका विभिन्न डिपार्टमेन्टमा उनले काम गरे । बैङ्किङ सुपरिवेक्षणको काम उनले नै सुरु गरेका थिए । एकपटक उनी अमेरिका गएका थिए । अमेरिकाबाट फर्केपछि उनलाई बैङ्क खोल्नुपर्छ भन्ने लाग्यो । ‘त्यसपछि मैले प्रक्रिया अगाडि बढाउने सोचेँ,’ उनले भने ।

तर राष्ट्र बैङ्कमा बसेर कसरी निजी बैङ्क खोल्नु ?

त्यसैले, पाँडेले राष्ट्र बैङ्कबाट ६ महिना बिदा लिएर बैङ्क खोल्ने प्रक्रिया थाले । राष्ट्र बैङ्कमा निवेदन दिए । राष्ट्र बैङ्कबाट एक महिनामै निवेदन स्वीकृत भयो । तर, अर्थ मन्त्रालयमा गएर फाइल रोकियो । बैङ्क खोल्ने विषयको फाइल अर्थ मन्त्रालयबाट दरबारमा पुग्यो । दरबारमा गएर किन फाइल रोकियो भन्ने प्रश्न कसले गर्ने ?

त्यतिबेलासम्म ६ महिना बिदामा ४ महिना सकिइसकेको थियो । राष्ट्रिय वाणिज्य बैङ्कमा पनि विभिन्न समस्या आइरहेका थिए । त्यहीबीचमा उनलाई तत्कालीन अर्थमन्त्री भरतबहादुर प्रधानले वाणिज्य बैङ्कमा जानुप¥यो भनेर आग्रह गरे ।

राष्ट्र बैङ्कको जागिरबाट ६ महिनाको बिदा लिएर आफैं बैङ्क खोल्न हिँडेका पाँडेलाई अर्काे सरकारी बैङ्कमा जान अफर आयो । आफैंले बैङ्क सञ्चालन गर्ने योजना बुनेका उनलाई वाणिज्य बैङ्कमा जाने मन हुने कुरै थिएन । तर यसपटक पनि उनलाई बुबाले योगदानको कुरा सम्झाए । त्यसपछि जानुको विकल्प रहेन । गए ।

‘मेरो योजना एउटा बैङ्क खोलेर त्यसलाई ‘उत्कृष्ट’ बनाउने थियो । त्यसको लाइसेन्सका लागि दौडधूप चलिरहेको थियो,’ उनले भने, ‘वाणिज्य बैङ्क जाने इच्छा थिएन । त्यहाँ काण्डैकाण्ड मच्चिइरहेको थियो । तर पनि बुबाको आग्रहपछि गएँ ।’

वाणिज्य बैङ्कमा भइरहेको समयमा अर्थ मन्त्रालयमा रामशरण महत र महेश आयार्य विज्ञ सल्लाहकारका रुपमा आए । उनीहरुसँग नियमित भेटघाट हुन थाल्यो । त्यही नियमित भेटघाटको उनले सदुपयोग गरे– नयाँ बैङ्क खोल्ने फाइल रोकिएको कुरा राखेर ।

‘मैले कुरा गरेपछि प्रक्रिया अघि बढाउने भनेर महतले भन्नुभयो । तर अर्थ मन्त्रालयमा फाइल भेटिएन,’ उनले भने । पछि सबै नयाँ डकुमेन्ट बनाएर पेस ग¥यौं, लाइसेन्स पनि पाइयो ।’

बैङ्कको नाम पनि उनैले जुराए– हिमालयन बैङ्क ।

लाइसेन्स पाएपछि वाणिज्य बैङ्कमा बस्ने कुरा भएन । पाँडेले वाणिज्य बैङ्कको जागिर छाडिदिए । ‘मैले वाणिज्य बैङ्क छाड्दा अर्थमन्त्री ‘सहयोग गर्ने बेला कहाँ छाड्ने ?’ भनेर रिसाउनुभएको थियो,’ उनले बैङ्क स्थापनाको सुरुवाती समय सम्झिए, ‘पछि मेरो सट्टामा दुई जनाको नाम दिन भन्नुभयो, मैले तीनजनाको नाम दिएँ ।’

हिमालयन बैङ्क स्थापना गर्दा राष्ट्र बैङ्कले पाँडेलाई समावेशी टिम बनाउन भनेको थियो । ‘मलाई निर्देशन थियो, बाहुन, क्षेत्री, मारवाडी, नेवार सबै हुनुपर्छ । हामीले पनि सोहीअनुसार साझेदार खोज्यौं । मेरा बुबाकै अध्यक्षतामा बैङ्कको पहिलो बैठक बसेको थियो,’ उनले भने ।

पाँडे हिमालयन बैङ्कमा सन् २००१ सम्म बसे । बैङ्क स्थापित भयो । ठूलो भएपछि उनले छोडे । ‘मलाई लाग्यो, बैङ्क स्थापित भयो । अब अरुले पनि चलाउन सक्छन् । मैले नयाँ गर्नुपर्छ भनेर पूर्वाधार विकास बैङ्कको तयारी गरेँ,’ उनले भने, ‘तर, त्यो बेला आवश्यक ऐनकानुन नभएकाले पूर्वाधार बैङ्क स्थापनाको योजना पूरा भएन ।’

राष्ट्र बैङ्कको एउटा कार्यक्रम थियो । त्यहाँ इन्डोसुइस (अहिलेको नेपाल इन्भेस्टमेन्ट बैङ्क)का मार्क पनि आएका थिए । इन्डोसुइस बैङ्कमा फ्रेन्चहरुको पनि लगानी थियो । मार्कले पाँडेलाई सोधे, ‘तपार्इंले हिमालयन बैङ्क छाड्दै हुनुहुन्छ ?’ पाँडेले हो भनेपछि उनले इन्डोसुइसको सेयर लिन आग्रह गरे ।

‘एउटा योजना बनाएर बसेको थिएँ, अर्काे प्रस्ताव आयो । मैले नलिने भन्ने सोचेर सेयर मूल्य २ सय ९० भनिदिएँ,’ उनले विगत सम्झिए, ‘भोलिपल्ट भेट्न आएर अलिकति बढाउन मिल्छ पो भन्यो । मैले त ठट्टा गर्दै भनेको पो थिएँ । मैले २० थपेर ३१० भनेँ, उसले हुन्छ भन्यो । त्यसपछि हामीले इन्डोसुइसको ५० प्रतिशत सेयर लियौं । त्यसपछि बैङ्कको नाम परिवर्तन भयो– नेपाल इन्भेस्टमेन्ट बैङ्क ।’

पाँडेको बैङ्किङ करिअरमा चौथो बैङ्कमा पाइला पुग्यो ।

‘३ सय १० मूल्यमा सेयर दिएपछि म खास दङ्ग थिएँ । अझ भन्नुपर्दा एक प्रकारको बेहोसी,’ उनले नयाँ सेयर लिँदाको समय सम्झिए । पाँडेले त्यो सेयर किनिसकेपछि नै बेचेको भए करोडौं कमाउन सक्थे । उनी भन्छन्, ‘मैले ५ सय रुपैयाँभन्दा बढीमा त्यो सेयर बेच्न सक्थेँ । ओभरनाइट कमाउन सक्थेँ । तर बैङ्कलाई शक्तिशाली बनाउनुपर्छ भनेर लागेँ ।’

अहिले साँच्चै पाँडेले बैङ्कलाई नेपालकै ‘ठूलो’ र ‘शक्तिशाली’ बनाएका छन् ।

वाणिज्य बैङ्कमा हुँदा पाँडेले इन्डोसुइसको बोर्डमा प्रतिनिधित्व गर्दै आएका थिए । त्यसैले पनि हुन सक्छ, फ्रेन्चले उनलाई राम्रोसँग चिन्यो । खासमा त्यो सेयर लिन नेपालका ठूला १५ भन्दा बढी गु्रप दिलो ज्यान दिएर लागिपरेका थिए ।

‘मैले लिएपछि गु्रप बनाएँ । गु्रपलाई सेयर दिएँ । सानो बैङ्क थियो । ठूलो बैङ्क बनाउनेतर्फ लागियो । राष्ट्र बैङ्कले आठ अर्ब रुपैयाँभन्दा पनि हामीलाई कुनै समस्या भएन,’ उनले भने ।

एक दशकभन्दा बढी कार्यकारी अध्यक्ष भएका पाँडे अहिले बैङ्कका अध्यक्ष छन् । ‘खासमा म बैङ्कबाट बाहिरिनुपर्छ भन्ने सोचमा थिएँ,’ उनले बैङ्कमै बसिरहनुको कारण प्रस्ट्याए, ‘तर केही साथीहरुले अझै बैङ्कलाई अघि लगेर छाड्न आग्रह गरेपछि बसिरहेको छु ।’

कालु पाँडेको लिगेसी बोकेका पृथ्वीबहादुर पाँडे बैङ्किङका सुपरस्टार हुन् । बैङ्किङ विषयमा बिस्तारै कम बोल्न थालेका यी सुपरस्टार अब पर्यटनमार्फत आफ्नो दोस्रो अवतार देखाउने तयारीमा छन् ।

नेपालको सबैभन्दा ठूलो सपिङ मल छायाँदेवी कम्प्लेक्स निर्माण गरेका पाँडेले नेपालमा हिमालय एयरलाइन्स भित्र्याएका हुन् । कुराकानीको बिट मार्दै उनले आफ्नो योजना सुनाए, ‘अब पर्यटनबाट समृद्धि खोज्ने हो ।’