आउट बाउन्डमा ट्राभलको ठगी, पैसा लिएर सुविधा छैन

नेपालबाट विभिन्न मुलुकमा घुम्न जाने नेपालीलाई नेपालमै र विदेशमा अलपत्र पार्ने क्रम बढ्न थालेपछि यसको उजुरी पनि बढ्न थालेको हो ।

नेपालबाट विदेश घुम्न जाने नेपालीहरुलाई ट्राभल कम्पनीले आकर्षक प्याकेजको लोभ देखाएर ठग्ने क्रम बढ्न थालेको छ । नेपालबाट विभिन्न मुलुकमा घुम्न जाने नेपालीलाई नेपालमै र विदेशमा अलपत्र पार्ने क्रम बढ्न थालेपछि यसको उजुरी पनि बढ्न थालेको हो ।

इन्डोनेसियाको बालीमा ५५ जनालाई घुमाउन लैजाने भन्दै ओशो भिजन ट्राभल एन्ड टुर्सले प्याकेज बनाएर २६ लाख रकम लिएपनि उनीहरुलाई इन्डोनेसिया नै पुर्याएन । रकम लिएर टिकट र होटलको प्रबन्ध नगर्दा नेपालको एयरपोर्टबाटै फर्केका पर्यटकले प्रहरीमा उजुरी गरेपछि आउटबाउन्डको नाममा ठगी हुने क्रम बढेको खुलेको हो ।

पैसा लिएर घुम्न नपठाई ठगी गरेको भन्दै उजुरी परेपछि सोह्रखुट्टे प्रहरीले ओशो भिजनका चार जना सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । प्रहरीले ओशो भिजनका मुना सिंह, कपिल अम्गाईं, हरिप्रसाद भट्ट र अप्सरा कँडेल पाण्डेलाई मुद्दा चलाएको हो ।

पछिल्लो समय ट्राभल एन्ड टुर्सको नाममा खुलेका केही कम्पनीहरुको बदमासीका कारण यो पेसाप्रतिको विश्वास सङ्कटमा पर्दै गएको व्यवसायीहरुको गुनासो बढ्न थालेको छ । झोलामा कम्पनी बोकेर हिँड्ने ट्राभल एन्ड टुर्सले सस्तोको नाममा धेरै नेपालीहरुलाई दुखदिइरहेको बताउँदै त्यसतर्फ सबैले ध्यान दिन जरुरी रहेको व्यवसायीहरुको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सीएन पाण्डेले कर्पोरेटबाट विदेश जानेहरुको समस्या नरहेको बताउँदै, व्यक्तिगत रुपमा विदेश जानेहरुको समस्या आएको बताए । पछिल्लो समय अरु केही घटनाहरु पनि भएको बताउँदै आफ्ना सदस्य ट्राभलहरुलाई त्यसतर्फ सचेत गराएका छौं, उनले भने । दर्ता भएकालाई कारवाही गर्न सकिन्छ तर दर्ता नभएका कम्पनीहरु र व्यक्तिगत रुपमा जानेहरुलाई हामीले केही गर्न सक्दैनौं, त्यसबाट सबै जोगिनुपर्ने उनले बताए ।

पछिल्लो समय सामाजिक सञ्जालमा राखिएका विज्ञापनका भरमा ट्राभल एन्ड टुर्स कम्पनीलाई विश्वास गरेर सस्तोको पछि लाग्दा धेरैले दुख पाएको सी लिङ्क्स ट्राभल्सका प्रबन्ध निर्देशक राजु ढकालले बताए ।

महारजगञ्जमा रहेको होमल्याण्ड ट्राभलले पनि विदेश लैजाने भन्दै ५ लाख रुपैयाँ लिएर फरार भएको प्रहरीमा उजुरी परेको छ ।
नेपालबाट विदेश घुम्न गएपनि प्याकेजमा रहेका सुविधाहरु समेत नहुँदा धेरै नेपाली पर्यटकहरुले विदेशमा महँगो रकम तिरेर सुविधा लिनुपर्ने बाध्यता पनि छ । नेपालमा प्याकेज दिँदा अनेकथरी सुविधा भन्ने तर विदेश पुगेपछि सुविधा नै नहुने भएपछि घुम्न जाने पर्यटकहरुलाई आर्थिक भार पर्न थालेको हो ।

कान्तिपुर होलिडेजबाट एक महिनाअघि मात्र थाइल्यान्ड घुम्न गएकी बागलुङकी मीना श्रेष्ठले ट्राभलले थाइल्यान्डको गाइडसँग समन्वय नगर्दा घुम्नुभन्दा बढी दुख पाएको बताइन् । गाइडले समयमा लिन नआउने र लैजान्छु भनेको ठाउँमा नलग्ने गरेको उनले बताइन् । ‘गाइड नआउँदा एकदिन पूरै होटलमा बस्नुपर्यो, घुमाउने ठाउँमा पनि घुमाएन’ उनले भनिन् ।