राष्ट्र बैङ्कको उल्टो बाटो

पछिल्ला वर्षमा संसारभरि नै विद्युतीय भुक्तानी प्रणालीप्रतिको आकर्षण बढ्दो छ । त्यसैलाई आधार बनाएर संसारका अधिकांश केन्द्रीय बैङ्कले विद्युतीय कारोबारको सीमा र प्रक्रियामा सहजता ल्याउने उपायहरु खोजिरहेका बेला नेपालमा भने उल्टो बाटोको यात्रा थालिएको सेवा प्रदायकहरुको भनाई छ ।

नेपाल राष्ट्र बैङ्कले मोबाइल बैङ्किङबाट कारोबार गर्दा एक पटकमा बढीमा ५ हजार रुपैयाँ र एक दिनमा १० हजार रुपैयाँसम्ममात्रै कारोबार गर्न सकिने प्रस्तावसहित ‘विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा’ सम्बन्धी कार्यविधिको मस्यौदालाई विज्ञहरुले उल्टो बाटोको संज्ञा दिएका छन् ।

राष्ट्र बैंकको प्रस्तावित व्यवस्थामा एक महिनामा १ लाख रुपैयाँसम्म मोबाइल बैङ्किङमार्फत कारोबार गर्न सकिने व्यवस्था रहेको छ । राष्ट्र बैंकले बिहिबार मोबाइल बैंकिङको सिमा घटाउने विषयमा सेवाप्रदायकसँग सुझाव माग गरेको थियो । बैङ्कहरुले अहिले नै दैनिक १ लाखदेखि २ लाखसम्मको सीमा मोबाइल बैङ्किङका लागि उपलब्ध गराउँदै आएका छन् । हाल प्रयोगमा आएको भन्दा ज्यादै कम सीमामा कारोबार गर्ने गरी केन्द्रीय बैङ्कले प्रस्ताव गरेको हो ।

पछिल्ला वर्षमा संसारभरि नै विद्युतीय भुक्तानी प्रणालीप्रतिको आकर्षण बढ्दो छ । त्यसैलाई आधार बनाएर संसारका अधिकांश केन्द्रीय बैङ्कले विद्युतीय कारोबारको सीमा र प्रक्रियामा सहजता ल्याउने उपायहरु खोजिरहेका बेला नेपालमा भने उल्टो बाटोको यात्रा थालिएको सेवा प्रदायकहरुको भनाई छ ।
केही बैङ्करहरुको भने उक्त सीमा बढाउन सकिने भनाइ छ । ‘मोबाइल बैङ्किङ भनेको खुद्रा कारोबारको भुक्तानीका लागि हो, त्यसैले विश्वभरि नै यसको सीमा तोकिने प्रचलन छ,’ सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन्, ‘तर अहिले प्रस्ताव गरेको सीमा ज्यादै कम भयो ।’ उनले दैनिक कारोबारको प्रस्तावित १० हजारको सीमालाई एक लाख रुपैयाँसम्म बनाउनु उचित हुने बताए । ‘सम्भवतः कानुनी व्यवस्था तयार भएर आउँदा एउटा शुन्ना थपिन्छ होला,’ उनले भने ।

मोबाइल भुक्तानी गर्ने इसेवा कम्पनीका प्रबन्ध निर्देशक विश्वास ढकालले नेपालमा बल्ल सुरु भएको डिजिटल कारोबारलाई कडाई गर्न नहुने बताउँछन् । ‘मोबाइलबाट कारोबार गर्ने सेवाग्राही बढिरहेको समयमा दैनिक सिमा ९० प्रतिशत घटाउनु ठिक छैन,’ उनले भने । कार्डभन्दा मोबाइल बैकिङ सुरक्षा मानिन्छ । माइक्रो पेमेन्टका लागि मोबाइल बैकिङले सहज बनाइरहेको समयमा कडाइ गर्ने होइन सुरक्षा झन बढाउनेतर्फ सोच्नुपर्ने उनले बताए । राष्ट्र बैङ्कका अधिकारीहरुका अनुसार हालैमात्र एनआईसी एसिया बैङ्कको स्विप्mट ह्याक गरेर रकम चोरी भएपछि केन्द्रीय बैङ्क विद्युतीय कारोबारलाई बढी खुल्ला गर्न नहुने पक्षमा छ । प्रणालीगत सुधार गर्नुको साटो भुक्तानीको सीमा घटाउने राष्ट्र बैङ्कको प्रस्तावलाई बैङ्करहरुले ‘त्रासको पराकाष्ठा’ भनेका छन् ।