भूकम्प प्रभावित जिल्लामा ब्रोडब्यान्ड नेटवर्क परियोजना सम्पन्न

नेपाल टेलिकम, सुबिसु केवलनेट प्रालि तथा मर्कन्टायल कम्युनिकेसन प्रालिले काम सकेका हुन् ।

भूकम्प प्रभावित जिल्लालगायत ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउन छानिएका पाँचमध्ये तीन कम्पनीले ब्रोडब्यान्ड एक्सेस नेटर्वक परियोजनाको काम सकेका छन् । नेपाल टेलिकम, सुबिसु केवलनेट प्रालि तथा मर्कन्टायल कम्युनिकेसन प्रालिले काम सकेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट छानिएका नेपाल टेलिकमसहित सुबिसु केवलनेट, मर्कन्टायल कम्युनिकेसन, वर्ल्डलिङ्क कम्युनिकेसन, भायोनेट कम्युनिकेसनले भूकम्प प्रभावित ११ जिल्लासहित २६ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउन काम सुरु गरेपनि सुबिसु केवल नेट, मर्कन्टायल कम्युनिकेसन र नेपाल टेलिकमले ब्रोडब्यान्ड एक्सेस नेटर्वक परियोजनाको काम सम्पन्न गरेका हुन् ।

सुबिसु केबल नेट प्रालिले काम सम्पन्न गरिसकेको कम्पनीका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । ‘प्रदेश नम्बर २ का आठ जिल्ला तथा भूकम्प प्रभावित तीन जिल्लामा काम सम्पन्न भइसकेको छ’, पराजुलीले भने, अहिले ती सम्पन्न भएका योजना कर्यान्वयनमा पनि आइसकेका छन् ।’

सुविसुले ८ जिल्लाका १२ सय ५ स्थान र मर्कन्टायलले ६ जिल्लाका ११ सय ८३ स्थानमा भने ब्रोडब्यान्ड नेटवर्क परियोजनाको कामलाई तीव्रता दिएका छन् । दुई वर्षभित्र भूकम्प प्रभावित जिल्लाका गाउँपालिका, नगरपालिका, शैक्षिक तथा स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड एक्सेस नेटवर्क परियोजना सम्पन्न गर्नुपर्ने भएतापनि हालसम्म सुबिसु केबल नेट, मर्कन्टायल कम्युनिकेसन प्रालि र नेपाल टेलिकमले मात्र सो परियोजनालाई प्राथमिकता दिँदै आएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालका अनुसार भूकम्प प्रभावित जिल्लामध्ये गोरखा, धादिङ र मकवानपुरका पाँच सय ७९ स्थान र दोलखा, रामेछाप, ओखल्ढुङ्गा तथा सिन्धुली जिल्लाका सात सय १६ स्थान गरी सात जिल्लाका कुल १२ सय ९५ स्थानमा परियोजनाको काम सम्पन्न भइसकेको छ । यस परियोजनाका लागि प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा रहेको रकम प्रयोग गरेको थियो ।

त्यस्तै प्राधिकरणले काभ्रेपलान्चोक, सिन्धुपाल्चोेक, रसुवा र नुवाकोट जिल्लाका लागि नेपाल टेलिकमलाई सेवा प्रदायकका रुपमा छनोट गरी ब्रोडब्यान्ड नेटवर्क परियाजनाको जिम्मा दिएको थियो । नेपाल टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले उक्त चार जिल्लामा परियोजना सम्पन्न भई कार्यान्वयनमा समेत आइसकेको बताइन् । सो परियोजना का लागि २१ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

ब्रोडब्यान्ड नेटवर्क परियाजनाअन्तर्गत कर्णाली अञ्चललगायत प्रदेश नं.६ का विभिन्न आठ जिल्लामा ४५ करोड रुपैयाँ लगानीमा वर्ल्ड लिङ्क कम्युनिकेसन प्रालि सेवा प्रदायक संस्थामा छनोट भई सम्झौता भएको थियो । यस क्षेत्रमा पनि योजनाको काम तीव्र रुपमा अगाडि बढिरहेको अर्याल बताउँछन् । त्यसैगरी ६ नं प्रदेशमा भायोनेट कम्पनीले जिम्मेवारी पाएको छ । भायो नेटले ६ नं प्रदेशका चार जिल्लाका आठ सय १९ स्थानमा सो परियोजना सम्पन्न गर्नु पर्ने छ । सो कार्य पूरा गर्न २६ करोड रुपैयाँ बजेट छुट्ट्याइएको प्राधिकरणले बताएको छ ।

मर्कन्टायल कम्युनिकेसन प्रालिले २६ करोड लागतमा प्रदेश नं ७ का तीन तथा प्रदेश नं १ का तीन जिल्लाका लागि २० करोड रुपैयाँमा ब्रोडब्यान्ड एक्सेस नेटवर्क परियाजनाका लागि २ वर्षभित्र काम सक्ने प्रतिबद्धतासहित प्राधिकरणसँग सम्झौता गरेको थियो ।