पाण्डे इज ब्याक

व्यवसायी प्रदीपजङ्ग पाण्डेले एउटा रफ्तार समातिसकेका थिए । तर, समयले उनलाई साथ दिएन, अचानक त्यो रफ्तारमा ‘ब्रेक’ लाग्यो । त्यो ब्रेकपछि पब्लिक फोरममा पाण्डे नदेखिएको ठ्याक्कै तीन वर्ष भयो । बाहिर बुझाइ छ, यी तीन वर्ष पाण्डेका लागि राम्रा रहेनन् । तर, उनकै लागि चाहिँ यी तीन वर्ष ‘गोल्डेन’ वर्ष हुन् ।

कैलाशचौर लाजिम्पाटस्थित लोमस फर्मास्युटिकल्स अफिसको क्याबिनबाट निस्किएर मिटिङ लाउन्जमा आउँदा पाण्डेको अनुहारको भाव प्रस्ट बुझिन्थ्यो– उनी गम्भीर छन् । सायद, यी तीन वर्षले पाण्डेको गाम्भीर्य झन् बढाएको थियो, अनुहारमै झल्किने गरी ।

 

हाम्रो अनुमानविपरीत उनले भने, ‘यी तीन वर्ष त मेरो जीवनका सबैभन्दा प्रिय वर्ष हुन्, यी वर्षमा मैले नजिकबाट मित्र र शत्रु चिन्ने मौका पाएँ ।’योबीचमा टेबलमा आइसकको ग्रिन टीको एक चुस्की लिए र पाण्डे फेरि विगतमा फर्किए । उद्योग वाणिज्य महासङ्घमा ४ वर्षअघि अध्यक्षमा निर्वाचित पाण्डेले केही योजना बनाएका थिए, तर उनले ती सबै योजना कार्यान्वयनमा लैजान पाएनन् ।
अब ती योजनासहित पाण्डे व्यावसायमा दोस्रो इनिङ सुरु गर्दै छन् ।

‘अब झन् सजिलो हुने भएको छ,’ उनले भने, ‘आफ्ना र पराइ चिनेकाले अब जिन्दगी र व्यवसायको स्पिड आफूअनुकूल अगाडि लैजान पाउँछु ।’
सम्भवतः पाण्डेले योबीचमा पहिले निकट मानेका केही व्यक्ति वस्तवमा निकट रहेनछन् भन्ने थाहा पाए । यसले पक्कै पनि उनलाई निरास बनायो । ‘होइन, म निरास हुने मान्छे होइन,’ पाण्डेले भने, ‘अब त व्यवसायको सगरमाथा हेरिरहेको छु ।’

व्यवसायमा हेभी डोज खोजिरहेका पाण्डे व्यवसायलाई मात्र ध्यान पनि दिँदैनन्, उनी सिर्जनात्मक छन् र केही न केही नयाँ सिर्जना गरिरहेका पनि हुन्छन् ।
तर, उनी आफ्नो लेखनबारे खासै खुल्दैनन् । यसपटक पनि उनले भने, ‘केही सिर्जना त भयो । तर, त्योभन्दा बढीचाहिँ व्यवसाय अगाडि लैजाने योजना र मुलुकको वित्तीय अवस्थाबारे नै धेरै ध्यान गयो ।’

व्यवसायमा शिखरमा जम्न खोजिरहेका पाण्डेको अघिल्लो पुस्ताचाहिँ व्यवसायमा थिएन । उनको परिवारको अघिल्लो पुस्ता जागिरे थिए, प्रायः लाहुरे । त्यसैको प्रभाव पाण्डेमा पनि थियो । व्यवस्थापन अध्ययन गरेका उनी पनि जागिरे थिए । तर, व्यवस्थापन पढेका पाण्डेलाई व्यवसाय गर्न हुटहुटी चल्यो र जागिरलाई हापे । अहिले लोमस ग्रुपअन्तर्गतका दर्जनौं व्यवसाय र उद्योगका उनी मालिक छन् ।

‘व्यवस्थापनले धेरै कुरा सिकाउँछ, त्यही व्यवस्थापनले गर्दा व्यवसायमा हात हालियो, त्यो पनि औषधि उद्योगबाट,’ उनले भने ।
व्यवस्थापनको त्यो अध्ययन पाण्डेले आफ्नो दैनिकीसँग पनि जोडेका छन् । बिहान ५ बजे उठेर मर्निङ वाक, त्यसपछि सामान्य कसरत । त्यसपछि पूजाआजा, चिया पिउने र १० बजेभित्र अफिस पुग्ने ।

घरमा ‘लन्च’ गरेर अफिस निस्कने पाण्डे दैनिक १६ घन्टा खटिन्छन् । ग्रुपअन्तर्गतको विभिन्न व्यवसाय र उद्योग सम्हाल्ने उनका तीन छोरा भए पनि कामप्रतिको उनको खटाइ झन बढ्दै गएको छ । ‘तीन छोराहरुले फरक–फरक व्यवसाय हेर्छन् । तर, म तिनीहरुलाई गाइड गर्छु । त्यसैले पनि सबैभन्दा बढी काम मेरो नै हुन्छ,’ उनले भने, ‘भोलिको योजना आज नै बनाएर काम गरिरहेको हुन्छु । त्यसैले, मेरो सबै काम सेडुअलमा जान्छ ।’

ठ्याक्कै यस्तै सेडुअल उनले नेपाल उद्योग वाणिज्य महासङ्घमा हुँदा बनाएका थिए । १४ वर्ष महासङ्घमा बसेका पाण्डे अध्यक्ष भएपछि एक वर्षको बीचमा तीव्र गतिमा काम गरेका थिए । मजदुर, व्यवसायी र सरकारलाई कन्भिन्स गरेर सबैलाई हित हुने योजना अगाडि सारेका थिए ।
महासङ्घका विभिन्न पदमा बस्दा पाण्डेले औद्योगिक नीतिलाई परिमार्जन गर्न लागिपरे । राष्ट्रिय जडीबुटी नीति ल्याउनलाई पहल गरे । औषधि नीति, वाणिज्य नीतिमा काम गरे । मजदुरको विषयमा विवाद थियो । त्यसलाई समाधानका लागि काम गरे । पहिला–पहिला मजदुर आन्दोलन व्यापक हुन्थ्यो, बन्दहडताल हुन्थ्यो । अहिले कम्तीमा उद्योगमा त्यस्तो अवस्था छैन ।

‘भारतको भारतीय उद्योग परिसङ्घ (सीआईआई)को अध्यक्षको कार्यकाल एक वर्षको मात्र हुन्छ, त्यस्तै कार्यकाल रह्यो मेरो पनि महासङ्घमा,’ उनले भने । ‘सीआईआईको अध्यक्षले पनि एक वर्ष आफ्नो व्यवसायलाई भन्दा बढी समय संस्थालाई दिन्छ, मैले पनि त्यो बेला व्यवसाय हेर्दै हेरिनँ,’ पाण्डेले भने, ‘महासङ्घको अध्यक्ष हुँदा सामान्य रुपमा एक वर्षको योजना बनिसकेको थियो, तिनै योजना कार्यान्वयन हुँदै थिए । तर, गतिमा ब्रेक लगाउनेहरु अगाडि आए ।’

यी तीन वर्ष फर्मल काममा नभएका पाण्डेले नयाँ कम्पनी थप्ने योजना बनाइसकेका छन् । सञ्चालन भइरहेका उद्योगको क्षमता बढाएका छन् । औषधि, सिमेन्ट र क्लिङ्कर उद्योगमा क्षमता विस्तार गरे । नयाँ बिमा कम्पनी र हेलिकप्टर कम्पनी सञ्चालनको अन्तिम तयारी छ । मिस्त्रीखोला हाइड्रोपावरलाई अझ अगाडि बढाउन सक्रियता बढाएका छन् । आखिर फाइदा पाण्डेलाई नै भयो, जसले उनको बेफाइदा चाहन्थ्यो, उनीहरु अहिले उल्टै गुमनाम छन् ।

‘हामीकहाँ कसैले लगानी गर्छु भनेर हल्ला मात्र गरिरहन्छ, कसैले लगानी गरिरहन्छ हल्ला गर्दैन, म दोस्रोमा पर्छु,’ उनले आफ्नो यो स्वभावभन्दा उनको अनुहार उज्यालो देखियो ।
खुसी देखिएको यही मौकामा उनलाई प्रश्न सोधेँ, फेरि गीत लेखनबारे ।

उनले त्यसको जवाफमा भने, ‘व्यवसायलाई सरकारले साथ दिनुपर्छ । सरकार र व्यवसायी सँगसँगै जानुपर्छ । हामीकहाँ प्राकृतिक स्रोतसाधन छ । तर, जनशक्तिलाई तालिम दिन सकिएन । हामीसँग पैसा पनि छ । तर, नेपालीहरु खाडी गइरहेका छन् । भारतीयहरु नेपाल आएर काम गरिरहेका छन्, यसले लागत महँगो भएको छ ।’ हो, पाण्डे आफ्नो गीतलेखनबारे बोल्न चाहँदैनन् भन्ने पनि यसपटक प्रमाणित गरे ।
उनका जेठा छोरा प्रबलजङ्ग पाण्डेले सिमेन्ट, लोमस औषधिको उत्पादन, डाटा सेन्टर र प्रडक्सन युनिट, माइला छोरा प्रतापले वित्तीय क्षेत्र र हेलिकप्टर कम्पनी एवम् कान्छा छोरा प्रज्वलले लोमसको मार्केटिङ, कलेज, प्रि–स्कुल हेर्छन् । व्यवसायका यी तीन सारथिले गर्दा पाण्डेलाई आगामी रणनीति बनाउन झनै सजिलो भएको छ ।

‘आफ्नो स्ट्याटस थाहा पाएर मात्र अगाडि बढ्नुपर्छ । आफ्नो मुख्य समस्या पत्ता लगाएर अगाडि बढ्दा यात्रा सजिलो हुन्छ अनि जस्तो अवरोध भए पनि समाधान हुन्छ,’ उनले भने ।

पाण्डे कति ‘मुभिङ’ छन् भने उनले ५ वर्षअघि आफ्नो गीति एल्बमलाई पनि नाम दिएका थिए– गतिशील ।
अब पाण्डे खुल्न थाले र गीतियात्राबारे भने, ‘गीत लेख्ने काम पनि आवश्यकता हो, सिर्जनशीलता मर्न दिनुभएन, सिर्जनशीलताले समाजमा योगदान पु¥याउँछ ।’

व्यवसायमा यति व्यस्त पाण्डेले खासमा कतिबेला गीत लेख्छन् त ?
‘घरको परिवार सुतेपछि, सिर्जनामा नै केन्द्रित हुँदा सकारात्मक सोच पनि बढ्छ,’ उनी मुस्कुराए ।