नयाँ सिमेन्ट उद्योगमा थपिए स्थापित ‘प्लेयर’, ६ अर्ब लगानीमा २२ सय टन क्षमता

पहिलो चरणमा दुई हजार दुई सय टन ओपीसी सिमेन्ट बजारमा आउने छ । त्यसपछि बजारको मागलाई मध्यनजर गर्दै क्षमता विस्तारमा लाग्ने कम्पनीको योजना छ ।

उत्पादन र सेवामुलक क्षेत्रमा स्थापित शङ्कर ग्रुप र अम्बे गु्रपले ६ अर्ब लगानीमा नयाँ सिमेन्ट उद्योग स्थापना गरेका छन् ।

नेपालमा सिमेन्टको माग बढ्दै गएपछि स्थापित दुई गु्रपले दुई हजार दुई सय टन क्षमताको सिमेन्ट उद्योग खोल्न लागेको हो । कम्पनीले आगामी असोजसम्म सञ्चालनमा ल्याउने गरी पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको छ । कम्पनीले रिद्धीसिद्धी ब्रान्डमा सिमेन्ट बजारमा ल्याउन लागेको हो ।

‘हेटौडामा सञ्चालनमा आउन लागेको उद्योग नेपालको ठूलो मध्येको एक हो,’ रिद्धीसिद्धी सिमेन्टका सञ्चालकमध्ये एक साहिल अग्रवालले क्यापिटल नेपालसँग भने, ‘यो उद्योग आगामी असोजसम्म सञ्चालनमा आईसक्छ ।’

उनका अनुसार पहिलो चरणमा दुई हजार दुई सय टन ओपीसी सिमेन्ट बजारमा आउने छ । त्यसपछि बजारको मागलाई मध्यनजर गर्दै क्षमता विस्तारमा लाग्ने कम्पनीको योजना छ ।
अग्रवालका अनुसार नेपालमा प्रत्येक वर्ष सिमेन्ट र स्टिलमा औसत १० प्रतिसतले माग बढ्दै गएको छ । यसलाई पनि हेरेर नयाँ उद्योग लगाउने सोच बनाएको बताए ।
केही वर्षयता नेपालमा क्लिङ्कर उद्योग स्थापना हुनेक्रम बढेसँगै नेपाल सिमेन्टमा आत्मनिर्भरउन्मुख हुँदै गएको अग्रवालले जानकारी दिए ।

‘बजारमा पक्का पनि खाली ठाउँ भएर नै सिमेन्ट उद्योग ल्याएको हो,’ उनले भने, ‘भारतबाट आएको सिमेन्ट तथा क्लिङकरलाई विस्थापित गरेर यहाँ सिमेन्ट र क्लिङकर उद्योग आएका हुन्,’ उनले भने, ‘अहिले माग र आपुर्ति करिब बराबर जस्तैमा आइपुगेको छ । क्लिङकर र सिमेन्टमा हामी ९५ प्रतिसत भन्दा बढी आत्मनिर्भर भइसकेका छौं ।’