नौ ठूला अस्पतालका ७५ जना डाक्टरले छले कर

कर नबुझाउने डाक्टरहरुमा भरत रावत, अशोक बास्कोटा, जगदीशाल वैद्य, भोला रिजाल, उपेन्द्र देवकोटालगायत रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

नेपालका चर्चित नौ ठूला अस्पतालका ७५ जना डाक्टरले कर छली गरेको पाइएको छ । अस्पताल सञ्चालक र डाक्टर एकै व्यक्ति हुँदाहुँदै पनि कन्सल्टेन्सीका रुपमा कार्यरत भएको भन्दै १५ प्रतिशत मात्र कर बुझाएर २० प्रतिशत कर छलिरहेको रहस्य खुलेको हो ।

क्यापिटल नेपाललाई प्राप्त महालेखापरीक्षकको ५५औं वार्षिक प्रतिवेदनको गोप्य डकुमेन्टमामा नर्भिक, ग्रान्डी, बी एन्ड बी, ओम, मेडिकेयर, एभरेस्ट, वयोधा, अन्नपूर्ण न्युरो र न्युरो अस्पतालका ७५ जना डाक्टरहरुले ३५ प्रतिशत कर बुझाउनुपर्नेमा कन्सल्टेन्सीबापत भन्दै १५ प्रतिशत कर मात्र बुझाएको पाइएको छ ।

मूल्य अभिवृद्धि करमा दर्ता नभई कारोबार गर्ने हो भने प्रत्यक्ष रोजगारको आय हुने र सोमा कर्मचारीको तलब तथा कार्यालय सञ्चालनका खर्च कट्टी गर्न नमिल्ने भएकाले नौ वटा अस्पतालले राजस्व कार्यालयमा विवरण पेस गरेका ७५ डाक्टरले दाबी गरेको खर्च अमान्य गरी नपुग २० प्रतिशत कर रु. १४ करोड ७२ लाख र सोमा लाग्ने शुल्क तथा जरिवानासमेत असुल हुनुपर्ने उल्लेख छ । कर नबुझाउने डाक्टरहरुमा भरत रावत, अशोक बास्कोटा, जगदीशाल वैद्य, भोला रिजाल, उपेन्द्र देवकोटालगायत रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

आयकर ऐन, २०५८ को दफा ८ (२)ले रोजगारदाताबाट कुनै आय वर्षमा ज्याला, तलब, अतिरिक्त समय काम गरेबापतको आयलगायत जुनसुकै रकम पारिश्रमिक आयमा गणना गर्नुपर्दछ । ठूला एवम् निजी अस्पतालहरुले चिकित्सक तथा अन्य पदाधिकारीलाई अस्पतालमा काम गरेबापतको पारिश्रमकिलाई सेवाका रुपमा खर्च लेखेका छन् ।

परामर्शदाता चिकित्सकहरुले अस्पतालमा सेवा दिँदा अन्य स्रोतसाधन, सहयोगी कर्मचारीको सेवासुविधाको रकम अस्पतालले नै खर्च लेखेको अवस्थामा पुनः परामर्श प्रदान गर्ने चिकित्सकहरुले आफूले छुट्टै कर्मचारी राखेको उल्लेख गरी खर्च दाबी गरेको अवस्था छ । परामर्श दिने चिसित्सकहरुले यी अस्पतालका स्रोत सामग्री, भौतिक पूर्वधार र सहयोगी जनशक्ति प्रयोग गरी रोजगारीको हैसियतबाट भुक्तानी प्राप्त गरेको अवस्थामा अन्य खर्च दाबी गर्न मिल्ने नदेखिएको महालेखाको दाबी छ ।

मूल्य अभिवृद्धि कर ऐनको अनुसूची १ मा उल्लिखित वस्तु तथा सेवाबाहेकका सम्पूर्ण वस्तु तथा सेवा मूल्य अभिवृद्धि कर लाग्ने कारोबार हुन् । परामर्श सेवा उल्लेख गरी रकम प्राप्त गरेको अवस्थामा ती डाक्टरले उपलब्ध गराएको परामर्श सेवामा मूल अभिवृद्धि कर लाग्नेमा असुल नभएको प्रतिवेदनमा उल्लेख छ ।