तस्करीको चिनी ठूला व्यापारिक घरानामा

भन्सार कर्मचारीसँग मिलेमतो गरी वार्षिक ५० हजार टन चिनी नेपाल भित्रिने गरेको छ । यो चिनी नाम चलेका व्यापारिक घरानाले प्रयोग गर्ने गरेको स्रोतको दाबी छ ।

तस्कर र भन्सारका कर्मचारीको मिलेमतोमा गैरकानुनी किसिमले नेपाल भित्रिएको चिनी ठूला व्यापारिक घरानाले प्रयोग गरेको पाइएको छ । भन्सार कर्मचारीसँग मिलेमतो गरी वार्षिक ५० हजार टन चिनी नेपाल भित्रिने गरेको छ । यो चिनी नाम चलेका व्यापारिक घरानाले प्रयोग गर्ने गरेको स्रोतको दाबी छ ।

‘आयातकर्ताले एक ट्रकको कागज देखाएर ५ ट्रकसम्म चिनी नेपाल भित्र्याउने गरेका छन्,’ भन्सार विभागका एक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘भन्सार छली गरेर ल्याइएको चार ट्रक चिनी बिस्कुट उद्योग तथा चकलेट फ्याक्ट्रीमा प्रयोग हुने गरेको छ । हामीले अहिले सानो परिणामका त्यस्ता चिनी जफत गरेका छौं,’ उनले भने ।

‘कर्मचारीसँग मिल्ने, एक ट्रक चिनी आयात गरेको कागज देखाउने, बाँकी चिनी भन्सार छलेर नेपाल ल्याउने प्रचलन दिनप्रतिदिन बढ्दै गएको छ,’ ती अधिकारीले भने, ‘यसरी चिनी तस्कर गर्नेलाई सरकारले भन्सार बढाउनु र नबढाउनुमा कुनै असर परेको छैन ।’ सरकारले गत साता चिनीको आयात दर दोब्बर पारेको थियो । विदेशी चिनी नेपाल आयात हुँदा १५ प्रतिशत लाग्ने भन्सारलाई सरकारले ३० प्रतिशत पुर्याएको हो ।

अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले मन्त्रालयमा यसबारे गुनासो आएको बताए । ‘अहिले मन्त्रालयले यस विषयमा सूक्ष्म अध्ययन गरिरहेको छ,’ ढुङ्गानाले भने, ‘यदि दोषी देखिए भन्सारका कर्मचारीलाई पनि तत्काल कारबाही हुन्छ ।’

नेपालमा सञ्चालित बिस्कुट तथा चकलेट उद्योगले कानुनी प्रक्रियाबाट भित्रिएको चिनी केही मात्रामा प्रयोग गर्ने गरेका छन् । बाँकी सबै चिनी तस्करीबाट आउने र सोही चिनी प्रयोग गर्ने गरेको स्रोतको दाबी छ । यसरी प्रयोग गर्नेमा तराई क्षेत्रका ठूला उद्योग बढी छन् । चिनीलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर विभिन्न खाद्य वस्तु उत्पादन गर्दै आएका केही व्यापारीले तस्करीमार्फत् ठूलो परिमाणमा चिनी भित्रिने गरेको स्वीकार गर्छन् ।

‘एउटा व्यापारीको एकल प्रयासमा भन्सारबाट चिनी तस्करी भएर नेपाल भित्रिन सक्दैन,’ एक उद्योगीले भने, ‘भन्सारका कर्मचारीको प्रत्यक्ष संग्लनता हुन्छ, तबमात्रै भन्सार छलेर चिनी नेपाल आइपुग्छ,’ एक बिस्कुट उत्पादकले क्यापिटल नेपाललाई बताए । अर्थ मन्त्रालय स्रोतका अनुसार तस्करीमार्फत् नेपाल भित्रिने चिनी तराईका नाका नजिकैका उद्योगले प्रयोग गर्ने गरेका छन् । ‘तस्करीमार्फत् भित्रिएको चिनी सबै त्यहीँ खपत हुन्छ भन्ने त होइन,’ स्रोतले भन्यो, ‘तर, ठूलो परिमाणमा त्यहीँ खपत हुन्छ ।’

सरकारले चिनीको भन्सार दोब्बरले बढाएपछि केही व्यापारीले चिनी आयात कम गरेका छन् । तर, नेपालमा चिनी आउन भने कम भएको छैन । सरकारले प्रतिटन ४ सय ६० डलरकै आधारमा भन्सार लगाउँदै आएको छ । तर, कर्मचारीसँग मिलेर प्रतिटन ३ सय ४७ डलरमै चिनी भित्र्याइरहेको व्यापारीहरु आफै स्वीकार गर्छन् ।

अर्थमन्त्री युवराज खतिवडाले भन्सारमा हुने भ्रष्टाचारलाई रोक्न मुहान नै सफा गर्ने अभियान सञ्चालन गरे पनि यस्तो प्रवृत्तिले सार्थकता पाउन सकेको छैन । खतिवडाले भन्सारका कर्मचारी मिलेर न्यूनबिजकीकरण गर्दै सामान पठाउने गरेको थाहा पाएपछि कडाइ गरेपनि त्यो रोकिन सकेको छैन ।