उज्यालोका सारथि

४७ वर्षीय दुगड २२ वर्षअघि पारिवारिक व्यवसायअन्तर्गतको बालाजुस्थित कोल्ड स्टोरेजको व्यवसाय हेरेर कर्पाेरेट जगत्मा प्रवेश गरेका हुन् । नेपालको सबैभन्दा ठूलो कोल्ड स्टोरेजलाई तीन वर्षसम्म हेरेपछि उनले ग्रुपभित्रको इम्पोर्ट डिभिजन सम्हाले ।

एक सय ३७ वर्षको पारिवारिक व्यवसायको इतिहासमा २२ वर्षदेखि संलग्न एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले पारिवारिक विरासत मात्र धानेका छैनन्, ग्रुप मातहत नयाँ व्यवसाय सञ्चालन गर्ने योजना बनाउने काममा पनि ‘फोकस’ छन् उनी ।

४७ वर्षीय दुगड २२ वर्षअघि पारिवारिक व्यवसायअन्तर्गतको बालाजुस्थित कोल्ड स्टोरेजको व्यवसाय हेरेर कर्पाेरेट जगत्मा प्रवेश गरेका हुन् । नेपालको सबैभन्दा ठूलो कोल्ड स्टोरेजलाई तीन वर्षसम्म हेरेपछि उनले ग्रुपभित्रको इम्पोर्ट डिभिजन सम्हाले ।

अहिले गु्रपको नेक्स्ट बिजनेस प्लानमा सहभागी भएर बैङ्क, इन्सुरेन्स र हाइड्रोपावरमा दुगड लागेका छन् । ग्रुपको सनराइज बैङ्क, गुराँस लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्समा मुख्य सेयर छ । ‘बुबाले गरेको व्यवसायलाई आधुनिक एवम् अझ व्यवस्थित बनाउँदै अघि बढेको छु,’ उनले भने, ‘हामी अहिले अटोमोबाइल र हाइड्रोपावरमा बढी केन्द्रित छौं, त्यसका लागि योजना बनाइरहेका छौं ।’

एमभी दुगड ग्रुप अटोमोबाइल व्यवसायमा लागेको ४७ वर्ष भयो । पछिल्लो १० वर्षमा ग्रुपले बैङ्क तथा इन्स्योरेन्समा पनि लगानी बढाएको छ । त्यस्तै हाइड्रोपावरमा पनि आक्रामक लगानी गरिरहेको छ । पारिवारिक व्यवसायमा एक सय ३७ वर्षअघि टेक्सटायल, जुट प्रोसेसिङ र निर्यात, खाद्यान्नबाट सुरु भएको ग्रुपले अहिले पाँच वर्षभित्र पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम थालेको छ ।

‘देशका लागि फाइदा पुग्ने व्यवसाय भनेको हाइड्रो नै हो, त्यसैले हामी यसैमा केन्द्रित छौं,’ दुगडले भने, ‘पाँच वर्षमा पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने हाम्रो लक्ष्य हो, त्यसका लागि काम अघि बढेको छ ।’ गु्रपले अहिले २९ मेगावाटको लिखु ए, ७७ मेगावाटको लिखु १ र ५१ मेगावाटको लिखु २ गरी १ सय ५६ मेगावाट विद्युत् उत्पादनमा लगानी गरिरहेको छ ।

‘हामी उज्यालो नेपालको सहयात्री हुन चाहन्छौं, हाम्रो उद्देश्य नै सरकारलाई सहयोग पुर्याउने हो,’ दुगडले भने, ‘सरकारले हाइड्रोपावरका लागि बाटो निर्माण गर्ने भए पनि हामी आफैंले ८५ किलोमिटर बाटो बनाएका छौं । प्रसारण लाइन पनि बनाएर अघि बढेका छौं ।’

नेपालमा बाइकिङ कल्चर भित्र्याउन दुगडले नयाँनयाँ योजनासमेत बनाए । नेपालमा एक सय सिसी क्षमताको मोटरसाइकलको माग बढी भइरहेको समयमा उनले १७ वर्षअघि रोयल इन्फिल्ड मोटरसाइकल भित्र्याए । ‘हामीले यसको भविष्य हेरेर नेपालमा रोयल इन्फिल्ड भित्र्याएका थियौं,’ उनले भने, ‘हामीले जे सोचेको थियौं, अहिले त्यही भइरहेको छ ।’

सुरुमा वार्षिक ५० ओटा मात्र बिक्री हुने रोयल इन्फिल्ड अहिले पाँच हजारको सङ्ख्यामा बिक्री हुने गरेको छ । नेपालमा बाइक राइडरहरुले क्लब बनाएरै ठाउँठाउँमा घुम्न जाने योजना बनाउने प्रचलन बढेपछि ‘बाइकिङ कल्चर’मा अहिले परिवर्तन आएको उनको भनाइ छ ।

‘नेपालमा ठुल्ठूला पूर्वाधार निर्माणको चरणमा छन्,’ उनले आफ्नो योजना सुनाए, ‘त्यसका लागि आवश्यक पर्ने हेभी इक्विपमेन्टसम्बन्धी कम्पनी स्थापना गरेर आयोजनाहरुलाई रेन्टमा दिने योजना छ ।’