नेपालमा फस्टाउँदै बहुराष्ट्रिय कम्पनी

कार्ल्सबर्ग, टुबोर्गलगायत बियर उद्योग पनि फस्टाउँदै गएका छन् भने भर्खरै जर्मनी ब्रान्ड र नेपाली लगानीमा वार्सटाइनर बियर बजारमा आएको छ । क्लोथिङ ब्रान्डहरुका लागि नेपाल अझै भर्जिन छ ।

‘नेपाल लगानीका लागि अत्यन्तै राम्रो मुलुक हो, अन्य देशको तुलनामा यहाँ प्रतिफल पनि राम्रो छ । एउटा लगानीकर्तालाई नेपाल नयाँ बजार पनि हो’ हल्का पेय कोकाकोलाको उत्पादक बोटलर्स नेपाल प्रालिका महाप्रबन्धक पुनित भार्सेनीले गत वर्ष फागुनमा भएको लगानी सम्मेलनमा राखेको भनाइ हो यो । उनले त्यो बेला आफ्नो भनाइलाई त्यतिमा मात्रै टुङ्ग्याएनन्, नेपालमा लगानी विस्तार गर्न वातावरणलाई नजिकबाट नियालिरहेको समेत उल्लेख गर्न भ्याए ।

सोही कार्यक्रममा अर्को बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालका तत्कालीन महाप्रबन्धक सुयश चौहानले लगानीअनुसार प्रतिफल पाउनु नेपालमा कुनै कठिन काम नभएको बताएका थिए । ‘पुँजी र योजना राम्रो भएपछि परिणाम पनि राम्रो आउँछ,’ चौहानले कार्यक्रममा भनेका थिए । हाल उनी युनिलिभरसँग आबद्ध छैनन् ।

लगानी सम्मेलनको उद्घाटन सत्रमै युनिलिभरले नेपालमा मात्रै नभई विदेशी बजारमा पनि नेपालमा उत्पादन गरेका वस्तु पठाउने सोचमा रहेको जानकारी दिएको थियो । ‘स्थानीय बजारमा मात्रै होइन, यहाँ उत्पादन बढाएर अर्को बजारमा पनि पठाउने सोचेका छौँ,’ चौहानको भनाइ थियो ।
उनीहरुको भनाइलाई बहुराष्ट्रिय कम्पनीले गत आर्थिक वर्षमा कमाएको नाफाले पनि पुष्टि गर्छ । गत आर्थिक वर्ष २०७३÷७४ को वित्तीय विवरणअनुसार चुक्ता पुँजीभन्दा धेरै कमाइ गर्ने बहुराष्ट्रिय कम्पनीहरुमा क्रमशः युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई, बोटलर्स नेपाल बालाजु छन् । युनिलिभर नेपालले चालू आर्थिक वर्षको ६ महिनामा १५ करोड ३० लाख रुपैयाँ नाफा गरेको छ ।

जम्मा ९ करोड २० लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी भएको युनिलिभर कम्पनीले सेयरधनीलाई विगतका वर्षमा लगातार लोभलाग्दो लाभांश दिइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६६/६७ देखि २०७२/७३ सम्म आइपुग्दा प्रत्येक वर्ष क्रमशः पाँच सय ९०, ६ सय ८०, सात सय ६०, आठ सय ६०, नौ सय ९० र एक हजार २० रुपैयाँ लाभांश बाँडेको छ । अर्थात् २०७२÷७३ मा कम्पनीको २ हजार कित्ता सेयर भएको लगानीकर्ताले नगद लाभांश मात्र २० लाख ४० हजार रुपैयाँ बुझिसकेका छन् । यो कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता २५ हजार रुपैयाँभन्दा बढी मूल्य रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये युनिलिभर नेपालले आफ्नो चुक्ता पुँजीभन्दा धेरै कमाइ गर्न सफल भएको देखिएको छ । कुशल व्यवस्थापन र संस्थागत सुशासनले कम्पनीको चुक्ता पुँजीभन्दा खुद नाफा बढी आर्जन गर्न सकेको युनिलिभर नेपालका नेपाली साझेदार रविभक्त श्रेष्ठ बताउँछन् । ‘औँलामा गन्न सकिने नेपाली कम्पनीमा युनिलिभर नेपाल पर्नु नेपालमा वैदेशिक लगानीका लागि वातावरण छैन भन्नेका लागि गतिलो उदाहरण भएकोे छ,’ श्रेष्ठले क्यापिटलसँग भने, ‘इमानदार भएर काम गर्ने हो भने वातावरण धेरै सुधिँ्रदै गएको छ ।’ उनका अनुसार सूचीकृत कम्पनीमध्ये सबैभन्दा बढी प्रतिसेयर आम्दानी गर्ने कम्पनीमा युनिलिभर नेपाल छ ।

नेपालमा लगानीको वातावरण नभएको चर्चा भइरहँदा प्रत्यक्ष वैदेशिक लगानीका उद्योगहरुले आफ्नो चुक्ता पुँजीभन्दा बढी नाफा आर्जन गर्न सफल भएका छन् । यसबाट पुँजी निर्माण र वितरणमा बहुराष्ट्रिय कम्पनी अब्बल रहेको पुष्टि हुन्छ ।

हिन्दुस्तान युनिलिभर कम्पनीको सहायक कम्पनी (सब्सिडियरी)का रूपमा नेपालमा स्थापित तथा नेप्सेमा सूचीकृत युनिलिभर नेपाल देशकै उत्पादन क्षेत्रको एकमात्र ‘ब्लु चिप’ कम्पनी पनि हो । उत्पादनमूलक क्षेत्रका अन्य कम्पनीको सेयर बजारमा अत्तोपत्तो नरहेका बेला बजारमा युनिलिभर नेपालको सेयर सबैभन्दा महँगो तथा अत्यधिक माग भएकाले ब्लु चिप सेयर भएको छ र यो सहजै किन्न पनि पाइँदैन ।

युनिलिभर नेपालमा हिन्दुस्तान युनिलिभरको ८० प्रतिशत र नेपाली सर्वसाधारणको २० प्रतिशत सेयर छ । अर्थात्, कुल ९ लाख २० हजार ७ सय सूचीकृत सेयरमा नेपाली सर्वसाधारणसँग युनिलिभरको १ लाख ८४ हजार १ सय ४० कित्ता सेयर मात्र छ । स्याम्पु, टुथपेस्ट, डिटर्जेन्ट पाउडरजस्ता घरायसी उपभोगका वस्तुहरु घरेलु बजारलगायत निर्यातका लागि समेत उत्पादन गर्ने युनिलिभर नेपालका सनसिल्क, लक्स, फेयर एन्ड लभ्लीजस्ता वस्तु बढी प्रचलित छन् । यी उत्पादन दैनिक उपभोगमा आधारित छन् । युनिलिभर मात्रै होइन, बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुले पनि आफ्नो चुक्ता पुँजीभन्दा धेरै कमाइ गर्दै आएका छन् ।

सर्वसाधारणलाई सेयर दिनेबित्तिकै पारदर्शी हुनुपर्छ भन्ने डरका कारण नेपालमा कतिपय कम्पनी पब्लिक हुन डराइरहेका छन् । यस्तो बेला २७ वर्ष पुगेको युनिलिभरको सफलताले नेपालमा पारदर्शी रुपमा लगानी गरेर पुँजी निर्माण तथा पुँजी वितरण गरी लोभलाग्दो प्रतिफल दिँदै पुँजीवादको बाटोबाट समाजवादसम्म पुग्न सकिन्छ भन्ने राम्रो उदाहरण प्रस्तुत गरेको श्रेष्ठको दाबी छ । प्रतिस्पर्धात्मक क्षमता भएका र गुणस्तरीय उत्पादन गरे मुलुकमा उत्पादित वस्तुको निर्यात बढ्ने सम्भावना प्रचुर रहेको उनको भनाइ छ । ‘पहिलेदेखि नै सबै बहुराष्ट्रिय कम्पनीका वस्तुहरु राम्रोसँग चलेका छन्,’ उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘अहिले श्रम समस्या र लोडसेडिङ कम भए पनि नीतिगत समस्या हटाउँदै राजनीतिक प्रतिबद्धता कार्यान्वयन गर्न सके अझ राम्रो हुन्छ ।’

नेपालमा मकवानपुरको हेटौँडामा मुख्य कार्यालय रहेको युनिलिभर नेपालले सनसिल्क, डोभ, क्लिनिक प्लस, क्लियर ब्रान्डका स्याम्पु उत्पादन गर्दै आएको छ, जुन प्रख्यात रहेको देखिन्छ । लक्स, लिरिल र लाइफब्वाय ब्रान्डको साबुन तथा पेप्सोडेन्ट र क्लोजअप ब्रान्डको दन्तमञ्जन पनि नेपालमा राम्रो चलेको छ । ह्विल, रिन, भीम, डोमेक्स, सर्फ एक्सल ब्रान्डका कपडा धुने पाउडर चर्चित छन् भने फेयर एन्ड लभ्ली, भेसलिन, पन्ड्स, एभियन्स ब्रान्डका क्रिमको बजार पनि राम्रो छ । यीबाहेक विभिन्न प्रकारका सुगन्धित तेल र स्प्रे पनि बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका प्याकेजिङ खाद्यान्न तथा पेय पदार्थ पनि पाइन्छ । मोडर्न कुकिज, कफी, ताजमहल र ताजा चिया, किसान ससेज, लिप्टन जुसको पनि नेपालमा बजार विस्तार हुँदै गएको छ । त्यसैगरी, कुशल व्यवस्थापन र कर्मचारीलाई आफ्नो सम्पत्ति मान्दै आएको सूर्य नेपाल पनि एक सफल बहुराष्ट्रिय कम्पनी हो । चुरोट र केही अघिसम्म गार्मेन्टमा समेत सूर्य नेपालमार्फत लगानी गरेको भारतीय कम्पनी आईटीसी लिमिटेड पनि नेपालमा जमेको छ । सूर्य नेपालमा आईटीसीको ५९ प्रतिशत सेयर छ । ‘संसारमा केही न केही समस्या भइहाल्छ,’ सूर्य नेपालका उपाध्यक्ष रवि केसी भन्छन्, ‘समस्या हुँदाहुँदै पनि राम्रो व्यवस्थापन भए असम्भव भन्ने कुरा केही हुँदैन ।’ उनका अनुसार सूर्य नेपालले स्थापनाकालको तेस्रो वर्षदेखि नाफा कमाउन थालेको थियो ।

‘नेपाल विश्वकै लागि एक लगानीयोग्य मुलुक हो । नेपालमा हरेक स्रोत उपलब्ध छ । छिमेकी भारत र चीन ठूलो बजार हो । चीनमा श्रमिक अत्यन्तै महँगो भइसकेको छ,’ केसीले भने, ‘नेपालमा विद्युत्, श्रम संसारकै सबैभन्दा सस्तो छ । यसकारण पनि नेपाल संसारकै लागि लगानीयोग्य मुलुक बन्न सक्छ ।’ नेपालमा आएका बहुराष्ट्रिय कम्पनी ‘खेतबारीमा खनजोत तथा मलसमेत नहाली छर्देको बीउबाट बाली उमे्रर सफलता दिएको’ जस्तो काम रहेको केसीको भनाइ छ । ‘राम्रो वातावरण दिने हो भने संसारका कुनै पनि उद्योग नेपालमा आउन सक्छन् । नेपालमा त्यति स्रोत छ, जुन अरु देशमा कहीँ पनि छैन,’ उनको भनाइ छ ।

निरन्तर उकालो चढिरहेको संस्थाहरुको सूचीमा आपूmलाई उभ्याउँदै लगेको डाबर नेपाल एउटा सफल कम्पनी हो । मुख्य लगानीकर्ता डाबर इन्टरनेसनलको ९७ दशमलव ५ प्रतिशत लगानी रहेको डाबर नेपालको कारोबार हिस्सा ९ प्रतिशत छ । सन् १९८९ मा स्थापना भएको डाबर नेपालले तीन वर्षपछि मात्रै व्यावसायिक उत्पादन सुरु गरेको हो । पहिलो वर्ष ५३ लाख कारोबार गरेको यो कम्पनीले अहिले १० अर्बको कारोबार गर्छ । कम्पनीले प्रत्यक्ष रुपमा एक हजार जनालाई रोजगारी दिएको छ भने अप्रत्यक्ष रुपमा २० हजारले यसबाट आम्दानी गरिरहेका छन् ।

डाबरले रियल जुस, च्यवनप्रास, टुथपेस्ट, अमला हेयर आयल, हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोस्टाइल, ओडोनिलजस्ता सामान उत्पादन गर्दै आएको छ । नेपालसहित विश्वका सात राष्ट्र युनाइटेड अरब इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलङ्का, बङ्गलादेश र भारतमा १२ ओटा गरी जम्मा १९ ओटा यसका उत्पादन केन्द्रहरु छन् । डाबरका उत्पादनहरु विश्वका एक सय २० राष्ट्रका ६० लाख पसलमा उपलब्ध छन् ।

उत्पादनमूलक उद्योगहरुमध्ये बहुराष्ट्रिय कम्पनीले आपूmलाई दरिलोसँग हरेक देशमा उभ्याइसकेका छन् । यस सँगसँगै सेवामूलक क्षेत्रमा पनि विदेशी लगानी भएका कम्पनीले ठूलो फड्को मारेका छन् । सबैभन्दा धेरै ग्राहक भएको दूरसञ्चार कम्पनी एनसेलले नेपालमा आफूलाई अब्बल सावित गर्दै आएको छ । टेलियासोनेराबाट केही समयअघि एक्जियटाले खरिद गरेको कम्पनी ऐनसेलले धेरै राम्रो सेवा प्रवाह गरेको देखिन्छ । ‘एनसेललाई साइनिङ स्टार भनेर उल्लेख गर्ने गरिएको छ,’ एनसेलका कर्पोरेट कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माले भने, ‘विभिन्न समस्यासँग जुध्दै हामी स्तरीय सेवा दिँदै अघि बढिरहेका छौँ र अझै गर्न सक्छौँ ।’

अर्को भारतीय कम्पनी एसियन पेन्ट्सले ६ वर्षअघि नेपालमा उत्पादन क्षमता विस्तार गरेको थियो । उक्त कम्पनी पनि नेपालमा जमेरै बसेको छ । वार्षिक प्रतिवेदनअनुसार नेपालको उत्पादन क्षमता बढाएर कम्पनीले ४० हजार किलोलिटर (वार्षिक) पु¥याएको छ ।

जापानी प्रविधिको बहुराष्ट्रिय पेन्ट्स कम्पनी कान्साई नेरोल्याकले व्यावसायिक उत्पादन थालेको चार वर्ष पुगेको छ । कान्साई नेरोल्याकले लिडमुक्त पेन्ट्स उत्पादन गर्दै आएको छ । नेरोल्याकले गुणस्तरीय उत्पादन गरेर बजारमा पठाइरहेको छ । यसका इन्टेरियरमा इम्प्रेसन २४ क्यारेट, लिटिल मास्टर आदि छन् । मागअनुसार डिस्टेम्पर, इनामेल र औद्योगिक उपयोगको उत्पादन पनि गरिरहेको कम्पनीको भनाइ छ । उपभोक्ताले कम्पनीबाट ४ हजार विविधताबाट पेन्ट्स छान्न सक्छन् ।

चार्टर्ड एकाउन्टेन्ट टीआर उपाध्यायका अनुसार विदेशी लगानीमा स्थापित कम्पनीको चुस्त व्यवस्थापनका कारण यी राम्रो देखिएका छन् । ‘आफ्नो उत्पादनलाई बजारीकरण गर्न र ब्रान्ड स्थापित गर्न सक्ने क्षमता उनीहरुमा अब्बल छ,’ उनी भन्छन्, ‘पर्याप्त पुँजी परिचालनको क्षमता राख्छन् र सम्भावित बजारको क्षेत्रमा मात्रै हात हाल्छन् ।’ यस्ता विषयमा नेपाली कम्पनीले ध्यान पु¥याउन नसकेको उनको भनाइ छ । उनका अनुसार नेपाली कम्पनीको व्यवस्थापन परिवारमैत्री छ । ‘बहुराष्ट्रिय कम्पनीले स्वस्थ प्रतिस्पर्धाबाट व्यवस्थापक चयन गरेका हुन्छन्,’ उनले भने ।

राजस्व सचिव शिशिरकुमार ढुङ्गानाका अनुसार सबैभन्दा बढी कर बुझाउने १० कम्पनीमा आधा बहुराष्ट्रिय कम्पनी छन् । उनीहरुको प्रतिफल पनि राम्रो छ र कर पनि धेरै बुझाउने गरेको उनी बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्यले नेपालमा अझै विदेशी लगानीकर्ताका लागि धेरै सम्भावना भएको बताए । ‘अहिले एकदमै थोरै मात्रामा बहुराष्ट्रिय कम्पनी नेपालमा छन्, विश्वमा भएका सबै कम्पनी नेपाल आउन सक्छन्, त्यो वातावरण बन्दै गएको छ,’ उनले भने, ‘उनीहरुलाई आकर्षित गर्न सरकारले केही नीनिगत सुधार गर्नु आवश्यक छ ।’

उत्पादनमूलक, सेवामूलक उद्योगबाहेक पनि विदेशी कम्पनीको उपस्थिति नेपालमा बाक्लै छ । विदेशी साझेदार बनेर छिरेका बैङ्क तथा वित्तीय संस्था पनि नाफाका हिसाबले अब्बल छन् । स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले चालू आर्थिक वर्षको सात महिनामा एक अर्ब एक करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैङ्कको ७५ प्रतिसत सेयर स्ट्यान्डर्ड चार्डर्ट समूहसँग छ । विदेशी साझेदारीमा सञ्चालित अन्य बैङ्क पनि फाइदामै छन् । यस्ता कम्पनीका सेयर लगानीकर्ताको आँखामा पनि राम्रै मानिएका छन् ।

त्यसैगरी, विदेशी लगानी रहेको नबिल बैङ्कले पनि राम्रो नाफा कमाएको छ । चालू आर्थिक वर्षको सात महिनामा बैङ्कको नाफा एक अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा एक अर्ब ७४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
विदेशी लगानी साझेदार बैङ्क हिमालयनको नाफा पनि उकालो ग्राफमै छ । सात महिनामा बैङ्कले एक अर्ब १० करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब दुई करोड रुपैयाँ नाफा कमाएको बैङ्कको प्रतिवेदनमा उल्लेख छ । भारतको स्टेट बैङ्क अफ इन्डियाको ५५ प्रतिशत सेयर रहेको नेपाल एसबीआई बैङ्कले राम्रो नाफा गरेको छ । त्यस्तै, भारतको पन्जाब नेसनल बैङ्कको २० प्रतिशत लगानी रहेको एभरेस्टको नाफा पनि उच्च नै छ ।

नेपालमा भित्रिएका बहुराष्ट्रिय कम्पनीले ठूलो सङ्ख्यामा रोजगारी उपलब्ध गराएका छन् । साथै, राज्यलाई अर्बौं रुपैयाँ करसमेत बुझाएर व्यवसाय गरिरहेको सूर्य नेपालका उपाध्यक्ष केसी बताउँछन् । ‘एकाधबाहेक नेपालबाट ‘फेलिएर’ भएर कुनै पनि बहुराष्ट्रिय कम्पनी बाहिरिएको इतिहास छैन,’ उनले भने, ‘आफ्नै व्यवस्थापन चुस्त नभएर केही समस्यामा परेका होलान्, ती नगन्य मात्रामा छन् ।’

सरकारले खुला अर्थनीतिलाई आत्मसात् गरेपछि नेपालमा विदेशी लगानीमा नयाँ उद्योग खुल्ने तथा नेपालीलाई साझेदार बनाएर भित्रिने काम भएको महासङ्घका पूर्वअध्यक्ष श्रेष्ठको भनाइ छ । ‘सुरुसुरुमा बहुराष्ट्रिय कम्पनीको उत्पादन ल्याएर नेपालमा बिक्री हुन्थ्यो,’ उनले भने, ‘नेपालमा माग बढ्दै गएको र कम्पनीले नेपाल पनि एक ठूलो बजार हो भन्ने सोचेकाले नेपालमा उद्योग स्थापना गरेको हो ।’

स्वदेशमा विदेशी लगानीसहित उद्योग स्थापना गर्दा रोजगारीको अवसर सिर्जना हुनुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाल पनि लगानीका लागि उपयुक्त मुलुक हो भन्ने सन्देशसमेत गएको अर्का पूर्वअध्यक्ष वैद्यको बुझाइ छ । ‘नेपालमा बहुराष्ट्रिय कम्पनी भित्रिँदा रोजगारी मात्रै सिर्जना हुँदैन,’ उनले भने, ‘नेपाल लगानी गर्न उपयुक्त मुलुक हो भन्ने पनि सन्देश विश्वसामु फैलिन्छ ।’

त्यसैगरी नेपालमा विश्वप्रख्यात होटलको चेन पनि खुल्ने क्रम बढ्दै गएको छ । गैरआवासीय नेपाली सङ्घका निर्वतमान अध्यक्ष शेष घलेको काठमाडौंमा पाँचतारे ‘सेराटन काठमाडौं होटल’ निर्माणाधीन अवस्थामा छ । यसको प्रवद्र्धन अस्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङ्सले गर्ने बताइएको छ । व्यवस्थापन तथा सञ्चालन भने सिङ्गापुरको स्टारउड ग्रुपले गर्नेछ । त्यसैगरी, उद्यमी शशिकान्त अग्रवालले पनि काठमाडौंमै हिल्टन चेन होटल ल्याउँदै छन् । हाल यो होटेल निर्माणको चरणमा छ । त्यसैगरी, शङ्कर ग्रुपले अन्तर्राष्ट्रिय चेन होटलको निर्माण गरिरहेको छ ।

यसअघि पनि बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राइड चिकेन) चेन होटलका रुपमा नेपाल आइसकेको छ । यो विश्वबजारमा स्थापित ब्रान्ड हो । त्यसैगरी, प्रान पनि नेपाली बजारमा जम्दै गरेको ब्रान्ड हो । बङ्गलादेशमा मुख्य कार्यालय रहेको प्रानले विश्वका विभिन्न देशमा आफ्नो उद्योग सञ्चालनमा ल्याएको छ ।

त्यसबाहेक काल्र्सबर्ग, टुबोर्गलगायत बियर उद्योग पनि फस्टाउँदै गएका छन् भने भर्खरै जर्मनी ब्रान्ड र नेपाली लगानीमा वार्सटाइनर बियर बजारमा आएको छ । क्लोथिङ ब्रान्डहरुका लागि नेपाल अझै भर्जिन छ । नेपालीहरु ब्रान्डप्रति सचेत हुँदै गएसँगै विभिन्न विदेशी ब्रान्ड नेपाल भित्रिने क्रम बढेको छ । हाल बजारमा दामिलानो इटालिया, नाइकी, एडिडास, पुमालगायतका ब्रान्डले बजार कब्जा गरेको देखिन्छ ।