महासङ्घमा ढकालको ‘हालीमुहाली’ झनै बढ्यो

केही वर्षअघि व्यवसायबाट ‘टाट’ पल्टिएर फुर्सदिला बनेका ढकाल त्यसपछि महासङ्घको गतिविधिमा ‘फुल टाइमर’ भएका हुन् । फुर्सदिला ढकालले महासङ्घको गतिविधिलाई आफुअनुकूल बनाउन पटक पटक अनेक अस्त्र प्रयोग गरिसकेका छन् ।

उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घमा पछिल्लो पटक देखिएको विधान संशोधनको बहस कोठे बैठकमा बढी हुन थालेको छ ।

गत चैत २७ .गते भएको साधारणसभामा विधान संशोधनले प्रवेश पाएपछि त्यसलाई अहिले लबिङका लागि कोठे बैठकमा व्यापकता बनाइएको हो । खासगरी विधान संशोधनलाई तीव्र रुपमा उठाइरहेका पूर्व अध्यक्ष हुन्,– चण्डीराज ढकाल । उनले अहिले विधान संशोधन गर्ने जिल्लाका अध्यक्षलाई काठमाडौं बोलाएर केही पदाधिकारीसँग सम्पर्क गराउन थालिसकेका छन् ।

केही वर्षअघि व्यवसायबाट ‘टाट’ पल्टिएर फुर्सदिला बनेका ढकाल त्यसपछि महासङ्घको गतिविधिमा ‘फुल टाइमर’ भएका हुन् । फुर्सदिला ढकालले महासङ्घको गतिविधिलाई आफुअनुकूल बनाउन पटक पटक अनेक अस्त्र प्रयोग गरिसकेका छन् । खासमा महासङ्घ नै ढकालको व्यवसाय जस्तो पनि देखिन थालेको छ । महासङ्घका पूर्वअध्यक्षमध्ये ढकालबाहेक अरु महासङ्घको काममा यति धेरै हस्तक्षेपकारी सायदै छन् होला ।

ढकाल आफू निवर्तमान भएपछि नै महासङ्घको अध्यक्ष बनाउने÷हराउने जिम्मा लिने काममा बढी नै सक्रिय हुन थाले । जिल्लातिर केही पकड बनाएका उनले उम्मेदवारसँग बार्गेनिङ गर्ने गरेको महासङ्घकै सदस्यहरु बताउँछन् । जिल्ला÷नगरका सदस्यलाई सधैंभरि आफ्नो पक्षमा पार्ने र त्यही शक्ति देखाएर उम्मेदवारसँग बार्गेनिङ गर्दै आएको ती सदस्य बताउँछन् ।

ढकाल यस विषयमा भन्छन्, ‘म महासङ्घको गतिविधिमा खराब नियतले लागेको छैन, महासङ्घलाई झन बलियो बनाउन लागेको हुँ ।’ क्यापिटनेपालसँग कुरा गर्दै ढकालले भने, ‘महासङ्घ पछिल्लो पटक कमजोर जस्तो देखियो, जिल्लाका साथीहरुमा पनि असन्तुष्टि देखिन थालेपछि कसै न कसैले सक्रियता लिनुपर्छ भनेर म एक्टिभ भएको हुँ ।’

ढकालको सक्रियता यति बढेको छ कि महासङ्घका विभिन्न पदमा आफ्ना मान्छे ‘सेट’ गर्नेगरेका छन् । महासङ्घमा पनि आफू माथिल्लो तहमा बस्ने र त्यहीँबाट सबैसँग बार्गेनिङ गर्ने गरेको महासङ्घका पूर्व अध्यक्षहरु बताउँछन् ।

ढकालको हस्तक्षेपपछि महासङ्घअन्तर्गतका विभिन्न महत्त्वपूर्ण ठाउँमा ढकाल आफैं र आफ्ना मान्छे परेका छन् । ढकाल आफै पनि महासङ्घका विशिष्ट सदस्य हुन् । मर्यादाक्रमअनुसार विशिष्ट सदस्य भनेको तेस्रो स्थानमा पर्छ । मर्यादाक्रममा सबैभन्दा पहिला अध्यक्ष त्यसपछि निवर्तमान अध्यक्ष तेस्रोक्रममा विशिष्ट सदस्य रहने व्यवस्था छ ।

ढकालले जिल्ला/नगरको ‘ब्याकअप’ देखाउँदै विधान संशोधन कमिटीको सदस्य समेत आफै बनेका छन् । त्यसैगरी, आफ्ना भाइ हेमराज ढकाललाई कृषि उद्यम केन्द्रको प्रमुख जिम्मेवारी दिएका छन् ।

महासङ्घकी अध्यक्ष भवानी राणालाई दबाबमा पारेर सार्क चेम्बर अफ कमर्सको उपाध्यक्षमा आफ्नो नाम सिफारिस गर्न लगाए । अहिले उनी सार्क चेम्बरको उपाध्यक्ष छन् ।

ढकालले गत चैत २७ मा भएको महासङ्घको साधारणसभामा पनि हस्तक्षेप गरेका थिए । मर्यादाक्रमअनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष, विशिष्ट सदस्य र वरिष्ठ उपाध्यक्षको ‘नेमप्लेट’ राखिएको थियो । तर, ढकालले जिल्ला÷नगरका उपाध्यक्ष किशोर प्रधानलाई प्रयोग गरेर अध्यक्षको ‘नेमप्लेट’पछि आफ्नो नेमप्लेट राख्न लगाए र निवर्तमान अध्यक्ष पशुपति मुरारकाको नेमप्लेटलाई पछाडि सारिदिएका थिए ।

ढकालले गत वर्ष विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान ल्याए । विधान संशोधन गरेको १८ महिना नबित्दै फेरि पुरानै व्यवस्था अर्थात् अध्यक्ष पदका लागि चुनाव नै गर्ने व्यवस्था ल्याउन विधान संशोधन गर्न लागेका छन् ।

आउने अध्यक्षले चण्डीराजलाई ‘बाइकट’ गरेर जाने देखिएपछि अहिले पुनः अध्यक्षमा चुनाव गराउने गरी विधान संशोधनको पक्षमा छन् । ढकालले आफूले भनेको नमान्ने महासङ्घका अध्यक्षलाई असहयोग गर्न गुटबन्दी नै गरेर हिँड्ने गरेका छन् ।

सुरज वैद्य महासङ्घको अध्यक्ष हुँदा ढकाललाई ‘बाइकट’ गरेर अघि बढ्दा वैद्यको कार्यकाल असफल बनाउन ठूलो प्रयास गरेका थिए । तर, वैद्यलाई पदाधिकारीको ठूलो सहयोग रहेकाले ढकालले आफ्नो मिसन पूरा गर्न सकेनन् ।

ढकालले आफूलाई सहयोग गर्ने मान्छेलाई मात्रै अध्यक्ष बनाउने र अध्यक्षमा सहयोग गर्नुपूर्व विभिन्न सर्त समेत राख्ने गरेका छन् । सुरजले उनको सर्त नमानी अध्यक्ष बनेका थिए । उनको कार्यकाल असफल बनाउन खुलेरै लाग्दा पनि ढकाल सफल भएका थिएनन् ।

त्यसपछिका अध्यक्षलाई उनैले चलाउँदै आएका छन् । निवर्तमान अध्यक्ष पशुपति मुरारकाले थोरै भए पनि ‘स्ट्यान्ड’ लिने गरेका थिए । पशुपति पनि आपूmले भनेअनुसार नचलेपछि ढकाल उनका विरुद्ध लागेका थिए ।

ढकालले अहिले बहालवाला अध्यक्षलाई यदि मेरो ‘एगेन्स्ट’मा गए कार्यकाल असफल बनाउने धम्की दिँदै आएका छन् । कार्यसमिति तथा पदाधिकारीमा अझैपनि मेरो बहुमत रहेको र मेरा विरुद्ध गए सुरजलाई जस्तै असहयोग गर्ने चेतावनी सार्वजनिक रुपमै दिएका छन् ।