नयाँ ट्याङ्कर नथपिए हवाइ इन्धन हाहाकार

निगमसँग हाल एक सय ६५ वटा एटीएफ ट्याङ्कर छन् । एयरपोर्टको भण्डारण क्षमता ७ हजार ६ सय केएल मात्रै छ । अहिले दैनिक माग ७ सय केएल रहेको छ । यसरी हिसाव गर्दा निगमसँग भएको भण्डारणले दश दिन मात्रै पुग्छ । यदि देशमा विपद् आयो भने, उडानको चाप बढी हुने र त्यसलाई थेग्न निगम नसक्ने अवस्थामा छ ।

आन्तरिक तथा बाह्य उडानको बढ्दो चापलाई थेग्न नयाँ हवाई इन्धन (एटीएफ) बोक्ने ट्याङ्कर नथपिए इन्धन हाहाकार हुने भएको छ ।
नेपालमा अन्तराष्ट्रिय उडान कम्पनीहरु थपिरहने क्रम जारी रहने तर भण्डारण क्षमता विस्तार नहुने हो भने आगामी दिनमा नेपाल आयल निगमले एटीएफ उपलब्ध गराउन नसक्ने वितरण विभाग प्रमुख वीरेन्द्र गोईतले जानकारी दिए ।

‘अहिले दैनिक ७ सय किलोलिटर (केएल) माग भइरहेको छ । अहिले भएको संरचनाले यही मागलाई मात्र सम्बोधन गर्न पनि कठीन छ,’ उनले भने, ‘तर, नेपालमा नयाँ नयाँ कम्पनी थपिने क्रम जारी रहेकाले एटीएफको क्षमता विस्तार गर्न आवश्यक छ ।’

‘२० ओटा अन्तराष्ट्रिय उडान हुँदाको जति क्षमता छ, आज ३३ ओेटा अन्तराष्ट्रिय उडान हुँदा पनि सोही क्षमताले धान्नु परेको छ,’ गोइतले भने, ‘यदि यो क्षमतालाई नबढाए, देशभित्र प्राविधिक समस्या देखा पर्नासाथ सबैभन्दा पहिले एयरपोर्ट बन्द गर्नुपर्ने हुन्छ ।’

निगमसँग हाल एक सय ६५ वटा एटीएफ ट्याङ्कर छन् । एयरपोर्टको भण्डारण क्षमता ७ हजार ६ सय केएल मात्रै छ । अहिले दैनिक माग ७ सय केएल रहेको छ । यसरी हिसाव गर्दा निगमसँग भएको भण्डारणले दश दिन मात्रै पुग्छ । यदि देशमा विपद् आयो भने, उडानको चाप बढी हुने र त्यसलाई थेग्न निगम नसक्ने अवस्थामा छ ।

गोइतका अनुसार हाल भइरहेको ट्याङ्करको सङ्ख्यालाई बढाएर कम्तिमा पनि २ सय ५० पुर्याउनुपर्ने देखिन्छ । त्यसैगरी, ट्याङ्कर थप्ने वित्तिकै भण्डार निर्माणमा पनि निगम लाग्नुपर्ने हुन्छ । २ सय ५० पुर्याउन ८५ अाेटा नयाँ ट्याङ्कर अावश्यक हुने गाेइतले बताए

‘एयरपोर्टको एटीएफ भएको ठाउँमा क्षमता विस्तार गर्न मिल्दैन्,’ उनले भने, ‘नयाँ ठाउँमा भण्डारण गर्नुपर्छ । जहाँबाट छिटो र सजिलोसँग एटीएफ ल्याउन सकियोस्, ।’

सरकारले नाकाबन्दीको बेला तीन महिनालाई पुग्ने स्टोरेज क्षमता बढाउन निगमलाई निर्देशन दिएको थियो । तर, अहिलेसम्म त्यो काम हुन सकेको छैन ।

नेपालमा केही समययता आन्तरिक उडानमा पनि नयाँ जहाज आएकाले थप समस्या बढ्दै गएको निगमको भनाइ छ । ‘विमानहरु थपिनेक्रम बढ्दो छ,’ निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘तर, भण्डारण क्षमता अहिलेसम्म बढ्न सकेको छैन ।’
निगमका अनुसार विमानस्थलमा तेल भर्ने उपकरण तथा प्रविधि सबै पुराना भइसका छन् । त्यसलाई विस्थापित गरेर नयाँ ल्याउन नसकेको भट्टराइले जानकारी दिए ।