जनकपुर र महेन्द्रनगर हवाइ रुट दिन भारतको सैद्धान्तिक सहमति

भारतले जनकपुर र महेन्द्रनगरबाट नयाँ रुट दिन सहमति जनाएको मन्त्रालयका सह–सचिव सुरेश आचार्यले बताए । ‘नयाँ रुटका लागि सैद्धान्तिक सहमति भएको छ,’ सह–सचिव आचार्यले भने, ‘लिखित सहमति हुन सकेको छैन ।’

भारतले नयाँ हवाइ रुट उपलब्ध नगराएकै कारण अन्तर्राष्ट्रिय भाडा महँगो भएपछि सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा जनकपुर र महेन्द्रनगर रुट खुलाउन पहल गर्ने भएको छ ।

हाल सिमरा रुटबाट मात्रै जहाजहरु नेपाल प्रवेश गर्ने गरेका छन् । विश्वका विभिन्न ठाउँबाट नेपाल आउने जहाजको ‘इन्ट्री प्वाइन्ट’ सिमरा भएको र त्यहाँबाट जहाज घुमेर आउँदा भाडादर महँगो भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

नेपालले यसअघि पटक–पटक हिमालय रुट दिन भारतसँग आग्रह गरे पनि पूरा हुन सकेको थिएन । हिमालय रुट दिने हो भने, चीन, थाइल्यान्ड, श्रीलङ्का लगायतका देशबाट आउने जहाज सिधै हिमालय रुट प्रयोग गरेर आउन सक्नेछन् । भारतले जनकपुर र महेन्द्रनगरबाट नयाँ रुट दिन सहमति जनाएको मन्त्रालयका सह–सचिव सुरेश आचार्यले बताए । ‘नयाँ रुटका लागि सैद्धान्तिक सहमति भएको छ,’ सह–सचिव आचार्यले भने, ‘लिखित सहमति हुन सकेको छैन ।’

नेपाल र भारतका दुवै नागरिक उड्डयन मन्त्रालयबीच नयाँ एयर रुटका लागि सहमति भए पनि नेपाल र भारतबीच हुनुपर्ने खुल्ला आकाश सम्झौता (एएसए) हुन नसकेको सह सचिव आचार्यको भनाइ छ । भारतीय प्रधानमन्त्री मोदी नेपाल आएका बेला एएसए सम्झौता गर्न पहल गर्ने बताए ।

नेपालमा हाल सिमराको रुटबाट मात्र अन्तर्राष्ट्रिय जहाजहरु नेपाल भित्रिने गरेका छन् । सिमराबाट मात्र अन्तर्राष्ट्रिय जहाजहरु नेपाल भित्रिँदा एयर ट्राफिक जाम बढ्ने गरेको छ । एउटा मात्रै रुट प्रयोग गरेर आउँदा एयर ट्राफिक जाम बढी हुने गरेको र सबै जहाज सिमराबाट घुमेर काठमाडौं आउँदा भाडा पनि महँगो भएको छ ।