मोदीको भ्रमणपछि नयाँ हवाइ रुट पाउने आशा पलायो

दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालले माग गरिरहेको हवाइ रुट दिनेबारे छिट्टै छलफल गर्न आ आफ्ना देशका प्राविधिक टोलीलाई निर्देशन दिएसँगै नयाँ आशा पलाएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि नयाँ हवाइ रुट पाउने आशा पुनः पलाएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले नयाँ हवाइ रुटका लागि दुवै देशका प्राविधिकहरुलाई छलफल अगाडि बढाउन निर्देशन दिएसँगै नेपालले नयाँ हवाइ रुट पाउने आशा पलाएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालले माग गरिरहेको हवाइ रुट दिनेबारे छिट्टै छलफल गर्न आ आफ्ना देशका प्राविधिक टोलीलाई निर्देशन दिएसँगै नयाँ आशा पलाएको हो ।

लामो समयदेखि नेपालले भारतसँग नयाँ हवाइ रुटका लागि माग गर्दै आएको थियो । पटक पटक भएको वार्तामा नेपालका लागि नयाँ हवाइ रुट दिन भारत तयार भए पनि कुन कुन रुट दिने भन्ने विषयमा टुङ्गोमा पुग्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमको भनाइ छ ।

‘प्रधानमन्त्रीस्तरमै कुरा भएकाले आशा पलाएको छ,’ क्यानका महानिर्देशक गौतमले भने, ‘हामी काम अगाडि बढाउँछौं ।’ उनले भारतीय प्रधानमन्त्री मोदी नेपाल आउनुअघि नै एयरपोर्ट अथोरिटी अफ इन्डियाका प्रमुखलाई पत्र लेखेर नेपालमै वार्ताका लागि आव्हान गरेर पत्र पठाएको जानकारी दिए । ‘दुवै देशका प्राविधिकहरुबीच छलफल गर्न पटक पटक प्रयास गरेपनि असफल भएपछि पत्र लेखेको हुँ,’ महानिर्देशक गौतमले भने, अब म आफैँ टेकओभर गर्छु ।’

नेपालले यसअघि पटक–पटक हिमालय रुट दिन भारतसँग आग्रह गरे पनि पूरा हुन सकेको थिएन । हिमालय रुट दिने हो भने, चीन, थाइल्यान्ड, श्रीलङ्का लगायतका देशबाट आउने जहाज सिधै हिमालय रुट प्रयोग गरेर आउन सक्नेछन् । नेपाल र भारतका दुवै नागरिक उड्डयन मन्त्रालयबीच नयाँ एयर रुटका लागि सहमति भए पनि नेपाल र भारतबीच हुनुपर्ने खुला आकाश सम्झौता (एएसए) हुन नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।

नेपालमा हाल सिमराको रुटबाट मात्र अन्तर्राष्ट्रिय जहाजहरु नेपाल भित्रिने गरेका छन् । सिमराबाट मात्र अन्तर्राष्ट्रिय जहाजहरु नेपाल भित्रिँदा एयर ट्राफिक जाम बढ्ने गरेको छ । एउटा मात्रै रुट प्रयोग गरेर आउँदा एयर ट्राफिक जाम बढी हुने गरेको र सबै जहाज सिमराबाट घुमेर काठमाडौं आउँदा भाडा पनि महँगो भएको छ ।