मेलोडी टुरमार्फत देश चिनाउँदै

नेपालको सौन्दर्यलाई अथ्र्याउन विभिन्न उपमा दिइन्छ, भनिन्छ– नेपाल ४ जात ३६ वर्णको फूलबारी हो । देशको यो सौन्दर्य हेर्न, डुल्नुपर्छ । विविध भाषा, संस्कृति, परम्पराको आफ्नै धुन हुन्छ, जुन देशको सबैभन्दा ठूलो सम्पत्ति हो ।

तर, यो सम्पत्ति कसरी जोगाइरहन सकिन्छ ? आफ्नो देशको माया गर्ने सबैले यो सम्पत्ति जोगियोस् भन्ने त चाहन्छन् तर कसरी भन्ने थाहा नपाएका हुन सक्छन् ।
यही प्रयास गर्दै छन्, दुई युवा । र, उनीहरुले यसका लागि माध्यम बनाएका छन्– गीत, सङ्गीत र डकुमेन्ट्री ।

यसरी देशको सम्पत्तिलाई अर्काइभ बनाउन लागेका यी दुई युवा हुन्, मानव सुवेदी र राजेन्द्र सापकोटा । सुवेदीले यसअघि अन्तराल, नेपथ्यलगायत चलचित्रमा अभिनेताका रुपमा काम गरिसकेका छन् । डेडलक कपाललाई सुम्सुमाउँदै देश दौडाहामा निस्किएका राजेन्द्र सापकोटाले चाहिँ दर्जनभन्दा बढी म्युजिक भिडियोलाई छायाङ्कन गरिसकेका छन् ।

र, देश घुम्दै यी दुईले आधा दर्जन गीत निर्माण गरिसकेका छन् । यी गीतको विशेषता के भने यीनमा संगीत र सुरिलो आवाज मात्र होइन, सबैले एउटा न एउटा कथा बोलेका छन् । घुमे सारा पूर्वपश्चिम, साझा मान्छे, आयो आयो फर्की आयो, सबै सुतेका छन् यहाँ, नाम्लोको डाम र परिवर्तनले राम्रो रेस्पोन्स पाए । उनीहरु साउनभित्र अर्को गीत ल्याउने तयारीमा छन् ।

नाताले मामाभान्जा पर्ने राजेन्द्र र मानवले पछाडि पारिएको वर्गसँगै विभिन्न जातजातिको संस्कृति, रहनसहनलाई ‘नेपाल डायरी’ डकुमेन्ट्रीमा पनि उतारेका छन् । अन्तराल चलचित्र गरेपछि सङ्गीतमा व्यस्त भएका मानवले बीचमा देश सम्झेर लेखिएका शब्दमा सङ्गीत भर्ने काम गरे र देशका विभिन्न भागमा पुगे ।
यी दुईजनाले राउटे, सन्थाल र थारु समुदायसँग बसेर उनीहरुको रहनसहनलाई पनि भिडियोमा उतारिसकेका छन् । ‘निधारैमा नाम्लो…’ गीतमा कर्णाली पारिदेखि मुस्ताङसम्म पुगेर एउटै गीतमा पूरै नेपाल अटाउने प्रयास पनि गरेका छन् ।

मानव र राजेन्द्र

नायकको छविमा देखिएका मानव गायक मात्र होइनन्, गीत लेख्ने, सङ्गीत भर्ने पनि गर्छन् र भिडियोको निर्देशन पनि ।
राजधानीको पुतलीसडकस्थित कपास क्याफेमा भेटिएका सन् २०१० का मिस्टर काठमाडौँका उपविजेता सुवेदी भन्छन्, ‘नेपाल गाउँ नै गाउँले भरिएको छ, प्रत्येक गाउँमा कथा छन्, हामी त्यही अग्र्यानिक कथालाई पछ्याइरहेका छौं । गाउँ जति रमाइलो छ, अभाव पनि त्यस्तै छ । द्वन्द्वले निरास बनेका जनतामा भूकम्पले पीडा थपिदिएको छ ।’
कलाकारिता गहिरो विषय हो, जुन परिवेशको गीत बनाउने हो, त्यही पुग्नुपर्छ । गीतमा कथा हुनुपर्छ । अग्र्यानिक कथा किन गाउँमा गएर किन नखोज्ने भनेर गाउँमा पसेको उनले बताए ।


गीत निर्माणकै क्रममा मानव र राजेन्द्र १४ जिल्लाका विभिन्न गाउँ घुमिसकेका छन् । झापा, इलाम, मोरङ, चितवन, मुस्ताङ, कास्की, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुराका गाउँमा पुगेर देशको विविध आयाम गीत र दृश्यमा उतारेका छन् ।

‘वास्तविक नेपाल देख्न र कैद गर्न मन लागेपछि हामी १४ जिल्ला पुगेका हौं । हाम्रो यात्रा अझै जारी छ, ७५ ओटै जिल्ला पुग्ने लक्ष्य छ,’ राजेन्द्रले बताए ।
‘कर्णालीपारिका थारु बस्तीमा गएर त्यहाँको परिवेश खिचेपछि लाग्यो, हरेक जातिमा विशेषता छ । यस्तो विविधता भएको मुलुकमा हामी हुँदा पनि हामीले केही दिन सकिएन भने समय नै खेर जान्छ भन्ने सोच पनि आयो अनि मानवसँग उद्देश्य मिल्यो र सँगै अघि बढ्यौं,’ उनले भने ।


दुईजनाले नाकाबन्दीको विषयलाई लिएर बनाएको भिडियो युट्युबमा राखेपछि वसन्त चौधरीले भेट्न खोजे । ‘हामीले गरेको काम देखेर वसन्त सरले भेट्न खोज्नुभयो । हामीले भेट्यौं र एउटा प्रस्ताव पेस ग¥यौं, उहाँले सहयोग गरेपछि झन् अगाडि बढ्यौं,’ राजेन्द्रले भने ।

विभिन्न जिल्लाका गाउँ घुम्दा अनेक अनुभव पनि छन् उनीहरुसँग । हामीले कहिले व्यक्तिको घरमा त कहिले होमस्टेमा बस्यौं, आधा पेट पनि खाएर काम गरियो, उनले भने । गोठमा पनि सुत्नुप¥यो, तराईमा लामखुट्टेले टोक्दा पनि सहेर आफ्नो काममा अगाडि बढेको उनले बताए ।

अब मानव र राजेन्द्रको एउटा सपना छ– उपल्लो मुस्ताङमै बसेर त्यहाँको परिवेश उतार्ने । त्यसका लागि उनीहरु तयार भइसकेका छन् । उनीहरुको मन उडेर उपल्लो मुस्ताङ पुगिसकेको छ । ट्राइपड र क्यामेरा पुग्न बाँकी छ ।