अन्ततः २१ घण्टा खुल्ने भयाे एयरपाेर्ट, बिहान ६ देखि राति ३ बजेसम्म सञ्चालन

२१ घण्टा विमानस्थल सञ्चालनको लागि ८५ देखि ९० एटिसी आवश्यक पर्छ । प्राधिकरणसँग २ सय ५० जना एटिसी छन् । हाल दैनिक ४ सयभन्दा बढी उडान हुने गरेको छ, तीमध्ये ८० ओटा अन्तर्राष्ट्रिय उडान हुन्छन् भने ३ सय २० ओटा आन्तरिक उडान हुने गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पहिलो प्रतिबद्धता पूरा भएको छ । नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो ट्राफिक जामलाई न्यूनिकरण गर्न २१ घण्टा एयरपोर्ट सञ्चालन गर्ने घोषणा गरेका थिए । जसअनुसार सोमबारबाट एयरपोर्ट २१ घण्टा सञ्चालनमा आउने भएको हो । अब विहान ६ देखि राति ३ बजेसम्म एयपोर्ट सञ्चालनमा आउने छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विमानस्थल २१ घण्टा सञ्चालनको लागि तयारी अवस्थामा रहेको जानकारी दिए । ‘हामी २१ घण्टा एयरपोर्ट सञ्चालनको लागि पूर्ण तयारीमा छौ,’ महाप्रवन्धक क्षेत्रीले भने,आज २ वजे मन्त्री ज्यूले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।’ २१ घण्टा एयरपोर्ट सञ्चालनको लागि आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन भइसकेको महाप्रवन्धक क्षेत्रीले जानकारी दिए ।

एक साता अघि पर्यटन मन्त्री अधिकारी सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सम्पूर्ण ट्रेड युनियनका पदाधारीबीच २१ घण्टा विमानस्थल सञ्चालनको विषयमा छलफल भएको थियो । छलफलको क्रममा ट्रेडयुनियनका पदाधारीहरुले राखेको मागलाई सम्बोधन भइसकेको महाप्रवन्धक क्षेत्रीको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक सञ्जीव गौत्तमले २१ घण्टा विमानस्थल सञ्चालनको लागि आवश्यक एटिसीको व्यवस्था भइसकको बताए । महानिर्देशक गौत्तमले २१ घण्टा विमानस्थल सञ्चालनको लागि ८५ देखि ९० एटिसी आवश्यक पर्ने बताउदै प्राधिकरणसँग २ सय ५० जना एटिसी रहेको बताए । हाल दैनिक ४ सयभन्दा बढी उडान हुने गरेको छ, तीमध्ये ८० ओटा अन्तर्राष्ट्रिय उडान हुन्छन् भने ३ सय २० ओटा आन्तरिक उडान हुने गरेको छ ।
राजधानीमा एक मात्र विमानस्थल भएकोले दैनिक १ देखि २ घण्टासम्म एयर ट्राफिक जाम हुने गरेको छ । आन्तरिक र बाह्य उडानमा चाप बढेसँगै एयर ट्राफिक जाम बढ्ने गरेको थियो ।

नेपाल एसोसिएसन अफ टुर ट्राभल एण्ड एजेन्टस(नाट्टा)का अध्यक्ष सीएन पाण्डेले २१ घण्टा एयरपोर्ट सञ्चालनमा आएपछि आन्तरिक एवंम बाह्य पर्यटकको संख्यामा बृद्धि हुने बताए । ‘राति ३ बजेसम्म एयरपोर्ट सञ्चालन भएपछि आन्तरिक एवंम बाह्य पर्यटक राजधानी भित्रन र राजधानी बाहिर जान सहज हुन्छ,’ नाट्टाका अध्यक्ष पाण्डेले भने ,यो पर्यटन क्षेत्रको लागि ठूलो उपलब्धि हो ।’