सुबिसु केबलनेट प्रालिलाई प्राधिकरणले गोरखाका दुई सय २१ स्थान, धादिङका दुई सय ३ स्थान, र मकवानपुरका एक सय ५५ स्थानमा इन्टरनेट विस्तारको जिम्मा दिएको थियो । त्यसैगरि मर्कन्टायलले पनि २३ करोड रुपैयाँ लागतमा दोलखा, रामेछाप, सिन्धुली, र ओखलढुङ्गाका सात सय १६ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गरिसकेको छ ।
भूकम्पबाट अति प्रभावित ११ जिल्लामध्ये सात जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार सकिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्पबाट अति प्रभावित ११ जिल्लमा ब्रोडव्यान्ड इन्टरनेट विस्तार गर्न तीन सेवाप्रदायक कम्पनीलाई जिम्मा दिएको थियो । त्यसमा हाल सुबिसु केबलनेट प्रालि तथा मर्कन्टायल प्रालिले मात्र काम पूरा गरेका छन् ।
अहिले सुबिसु केबलनेटले सबै स्थानमा ब्रोडब्यान्ड इन्टरनेट जडान गरिसकेको छ भने प्राविधिक टोलीले पनि अनुगमन गरिसकेका छन् । त्यस्तै मर्कन्टायलले पनि इन्टरनेट विस्तार कार्य सम्पन्न गरिसकेको र उक्त परियोजनाको काम भेरिफिकेसनको क्रममा रहेको प्रधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट विस्तारका लागि नेपाल दूरसञ्चार कम्पनी, सुबिसु केवलनेट प्रालि र मर्कन्टायल प्रालिलााई ग्रामीण दूरसञ्चार कोषको रकम खर्च गर्दै प्राधिकरणले एक वर्षभित्र ब्रोडब्यान्ड विस्तारको कार्य जिम्मा दिएको थियो । तर अहिलेसम्म निजी स्वामित्वमा रहेका दुई इन्टरनेट सेवाप्रदायकले मात्र समयमा काम सकेका छन् । नेपाल टेलिकमले थप दुई महिनाभित्र काम सम्पन्न गरिसक्ने प्रतिबद्धतासहित समयावधि थप गरेका प्रधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
प्राधिकरणले कुल २० करोड रुपैयाँ लगानीमा जिम्मा दिएको गोरखा, धादिङ र मकवानपुरका सबै गाउँपालिका, शैक्षिक संस्था, स्वास्थ्य संस्थाहरुमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार परियोजना सम्पन्न भइसकेको सुबिसु केबलनेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले बताए । उक्त परियोजनामा सुबिसु केबलनेटका प्रालिका प्राविधिकले पनि अनुगमन गरिसकेको र दूरसञ्चार प्राधिकरणलाई रिपोर्ट दिन मात्र बाँकी रहेको उनको भनाइ छ ।
सुबिसु केबलनेट प्रालिलाई प्राधिकरणले गोरखाका दुई सय २१ स्थान, धादिङका दुई सय ३ स्थान, र मकवानपुरका एक सय ५५ स्थानमा इन्टरनेट विस्तारको जिम्मा दिएको थियो । त्यसैगरि मर्कन्टायलले पनि २३ करोड रुपैयाँ लागतमा दोलखा, रामेछाप, सिन्धुली, र ओखलढुङ्गाका सात सय १६ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गरिसकेको छ ।
मर्कन्टायललाई प्राधिकरणले दोलखाका एक सय ८३ स्थानमा, सिन्धुलीका दुई सय एक स्थान, रामेछापका एक सय ७७ स्थान र ओखलढुङ्गाका एक सय ५५ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट विस्तारका लागि जिम्मा दिएको थियो । कुनै समस्याबिनै काम सम्पन्न भइसकेको मर्कन्टायलका प्रमुख कार्यकारी निर्देशक विजय पन्तले जानकारी दिए । ब्रोडब्यान्ड जडान भएका सबै स्थानमा अनुगमन कार्य भइरहेको उनले बताए ।
ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न नेपाल टेलिकमले प्राधिकरणसँग करिब २० करोड रुपैयाँ लागतमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका सात सय ४७ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने सम्झौता गरेको थियो । तर अहिले टेलिकमको समयावधि सकिइसके पनि काम सकिएको छैन । थप दुई महिनामा काम सम्पन्न गर्ने गरी समयावधि थपेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।