२१ घण्टा एयरपोर्ट सञ्चालनपछि निजी क्षेत्र उत्साही

विश्वका धेरै एयरपोर्टहरु २४सै घण्टा सञ्चालन हुने गरेको बताउँदै नेपालमा २१ घण्टा सञ्चालनमा आउँदा विश्व बजारमा सकारात्मक सन्देश गएको अध्यक्ष पाण्डेको भनाइ छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा आएपछि निजी क्षेत्र उत्साहित भएका छन् । १८ घण्टा सञ्चालन हुँदै आएको एयरपोर्ट २१ घण्टा सञ्चालनमा आएपछि पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने सम्बद्ध व्यवसायीहरुको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सीएन पाण्डेले २१ घण्टा विमानस्थल सुचारु हुँदा निजी क्षेत्र उत्साहित भएको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले कार्यभार सम्हाले लगत्तै नाट्टाको तर्फबाट २६ बुँदे कार्ययोजना हस्तान्तरण गरी २४सै घण्टा एयरपोर्ट सञ्चालनको माग गरेका थिए ।

‘हामीले २४ घण्टा एयरपोर्ट सञ्चालनको माग गरेका थियौं, तत्कालका लागि २१ घण्टा सञ्चालनमा आएको छ,’ नाट्टाका अध्यक्ष पाण्डेले भने, ‘यो सकरात्मक हो ।’ विश्वका धेरै एयरपोर्टहरु २४सै घण्टा सञ्चालन हुने गरेको बताउँदै नेपालमा २१ घण्टा सञ्चालनमा आउँदा विश्व बजारमा सकारात्मक सन्देश गएको अध्यक्ष पाण्डेको भनाइ छ ।

होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाहले २१ घण्टा एयरपोर्ट सञ्चालनमा आएपछि होटल व्यवसायीलाई धेरै फाइदा हुने बताए । तर एयरलाइन्सहरुसँग पर्याप्त छलफल नगर्दा अगस्टसम्म सबै उडानहरु बुक गरिसकेकाले तत्काल कुनै फाइदा नहुने उनको तर्क छ ।

अगस्टपछि भने राम्रो प्रभाव पर्नेमा आफूहरु विश्वस्त रहेको बताए । एयरपोर्ट २१ घण्टा सञ्चालन भएपनि त्यहाँबाट सम्बन्धित ठाउँसम्म जाने सुलभ यातायातको सुविधा नहुँदा महँगो शुल्क लाग्ने ट्याक्सीमा जानुपर्ने बाध्यता भने कायमै रहेकोले त्यसतर्फ पनि विमानस्थलले ध्यान पु¥याउन जरुरी रहेको यात्रीहरुले बताए ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले २१ घण्टा एयरपोर्ट सञ्चालनमा आएपछि विस्तारै एयरट्राफिक जाम कम हुन थालेको बताए । महाप्रवन्धक क्षेत्रीले केही एयरलाइन्सहरुले राति १२ बजेपछि उडान वा अवतरण गर्नुपरेमा विषेश समय माग गर्नुपर्ने बाध्यता हटेको बताए ।

दैनिक ६ बजेदेखि राति १२ बजेसम्म मात्र सञ्चालनमा रहेको विमानस्थल जेठ ७ गतेबाट राति ३ बजेसम्म सञ्चालनमा आएको हो । पर्यटनमन्त्री अधिकारीले सय दिनभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घण्टा सञ्चालन गर्ने घोषणा गरेका थिए ।