८१ प्रतिशत पर्यटक हवाईमार्गबाट नेपाल आउँछन्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्कअनुसार २०१७ मा भारत, चीन, अमेरिका, बेलायत र श्रीलङ्काका पर्यटक सबैभन्दा बढी नेपाल आउने गरेका छन् । ती पाँच देशका पर्यटकले कुल पर्यटकको ४७ प्रतिशत अंश ओगटेका छन् ।

हवाईमार्गबाट नेपाल आउने पर्यटकको सङ्ख्या ८१ प्रतिशत पुगेको छ । सरकारले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७४/७५ मा हवाईमार्गबाट ७ लाख ६० हजार ५ सय ७७ जना पर्यटक नेपाल भित्रिएको सार्वजनिक गरिएको छ ।

सन् २०१६ मा ५ लाख ७२ हजार ५ सय ६३, सन् २०१५ मा ४ लाख ७ हजार ४ सय १२ र सन् २०१३ मा ५ लाख ९४ हजार ८ सय ४८ पर्यटक हवाईमार्गबाट नेपाल आएका थिए । यस्तै स्थलमार्गबाट १ लाख ७९ हजार ६ सय ४१ जना पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्यामा स्थलमार्गबाट नेपाल भित्रने भारतीय पर्यटकलाई समावेश गरिएको छैन । सन् २०१६ मा १ लाख ८० हजार ४ सय ३९, सन् २०१५ मा १ लाख ३१ हजार ५ सय ५८, सन् २०१४ मा २ लाख ४ हजार ३७ र सन् २०१३ मा २ लाख २ हजार ७ सय ६८ पर्यटक नेपाल भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्कअनुसार २०१७ मा भारत, चीन, अमेरिका, बेलायत र श्रीलङ्काका पर्यटक सबैभन्दा बढी नेपाल आउने गरेका छन् । ती पाँच देशका पर्यटकले कुल पर्यटकको ४७ प्रतिशत अंश ओगटेका छन् । पछिल्लो समय पर्यटक आगमनमा भारत र अमेरिकाको हिस्सा बढ्दै गएको छ । भारतबाट १७.१ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् भने अमेरिकाबाट ८.४ प्रतिशत भित्रिएका छन् । यस्तै चीन ११.१, बेलायत ५.४, श्रीलङ्का ४.८ र अन्य देशबाट ५३.२ प्रतिशत पर्यटक नेपाल आउने गरेका छन् ।

मन्त्रालयको तथ्याङ्कमा नेपाल आउने पर्यटकको बसाइ अवधि घटेको र खर्च बढेको उल्लेख छ । सन् २०१७ मा प्रतिपर्यटक औसत १२.६ दिनको बसाइ अवधि रहेको छ भने प्रतिदिन प्रतिपर्यटक खर्च ५४ अमेरिकी डलर पुगेको छ । सन् २०१६ मा प्रतिपर्यटक बसाइ अवधि औसत १३.४ दिन र प्रतिदिनप्रति पर्यटक खर्च ५३ अमेरिकी डलर थियो ।