नयाँ हवाई रुटको विषयमा भारतीय पक्षसँग वार्ता सुरु

नयाँ हवाई रुटको विषयमा भारतीय पक्षसँग नेपाली टोलीले वार्ता सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक संजीव गौत्तमले केहिदिन अघिबाट नै वार्ता सुरु भएको जानकारी दिए ।

‘भारतको एयर्पोटस अर्थोरिटी अफ इन्डिया (एएआइ) सँग क्यानका प्रतिनिधिहरुले इमेल र फोन मार्फत वार्ता सुरु गरिसकेका छन्,’ महानिर्देशक गौत्तमले भने । ‘भारतीय पक्ष थप विषयमा कुरा गर्न जुनमहिना भित्रै नेपाल आउछन’् ।

नेपालको तर्फबाट एएआइसँग प्रस्थानविन्दुका लागि दुई वटा हवाई रुट माग भएको छ । पहिलो महेन्द्रनगर र दोश्रोमा विराटनगर वा जनकपुर मध्ये एक रुट माग गरेको गौतमले जानकारी दिए । हामीले राखेको मागमा उनीहरु सकारात्कम भएका छन् तर छलफलपछि निर्णय हुने उनले बताए । एक महिना अघि महाप्रवन्धक गौत्तमले एएआइ लाई नेपालमै वार्ताको लागी आउन पत्र पठाएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि नेपाल भ्रमण आउँदा नयाँ हवाई रुटको लागि दुबै देशका लागि प्राविधिकहरुलाई छलफलमा बस्न निर्देशन दिएका थिए ।

नेपालले यसअघि पटक–पटक हिमालय रुट दिन भारतसँग आग्रह गरे पनि पुरा हुन सकेको थिएन । हिमालय रुट दिने हो भने, चीन, थाइल्यान्ड, श्रीलङका लगायतका देशबाट आउने जहाज सिधै हिमालय रुट प्रयोग गरेर आउन सक्नेछन् । नेपाल र भारतका दुवै नागरिक उड्डयन मन्त्रालयबीच नयाँ एयर रुटका लागि सहमति भए पनि नेपाल र भारतबीच हुनुपर्ने खुला आकाश सम्झौता (एएसए) हुन नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।

नेपालमा हाल सिमराको रुटबाट मात्र अन्तर्राष्ट्रिय जहाजहरु नेपाल भित्रिने गरेका छन् । सिमराबाट मात्र अन्तर्रा्ष्ट्रिय जहाजहरु नेपाल भित्रिदा एयर ट्राफिक जाम बढ्ने गरेको छ । एउटा मात्रै रुट प्रयोग गरेर आउँदा एयर ट्राफिक जाम बढी हुने गरेको र सबै जहाज सिमराबाट घुमेर काठमाडौं आउँदा भाडा पनि महँगो भएको प्राधिकरणले जनाएको छ ।