निगमले दोस्रो बोइङको पनि बिक्री तयारी थाल्यो

३२ वर्षअघि तत्कालीन शाही नेपाल वायुसेवा निगमले खरिद गरेको जहाजलाई निगमले बिक्री गर्न एक महिनाभित्र ग्लोबल टेन्डर गर्ने जनाएको छ । निगमले ७ महिनाअघि मात्र पहिलो बोइङ बिक्री गरेको थियो ।

नेपाल वायुसेवा निगमले बोइङ जहाजलाई पूर्ण रुपमा विस्थापित गर्ने भएको छ । निगमले आफूसँग भएको दोस्रो बोइङलाई पनि बिक्री गर्न थालेको हो । निगमले ७५७ एसीए सिरिजको गण्डकी जहाज बिक्री गर्नेका लागि प्रक्रिया थालेको छ ।

३२ वर्षअघि तत्कालीन शाही नेपाल वायुसेवा निगमले खरिद गरेको जहाजलाई निगमले बिक्री गर्न एक महिनाभित्र ग्लोबल टेन्डर गर्ने जनाएको छ । निगमले ७ महिनाअघि मात्र पहिलो बोइङ बिक्री गरेको थियो ।

‘हामीसँग भएको दोस्रो बोइङ पनि बिक्री गर्नका लागि तयारी थालेका छौं,’ निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने, ‘बोइङ जहाजलाई विस्थापित गरेर हामी पूर्ण रुपमा एयरबसमा जान थालेका छौं ।’

‘जहाज धेरै पुरानो पनि भयो, यसको मर्मत खर्चदेखि लिएर तेल पनि बढी खाने भएकाले बिक्री गर्न लागेका हौं,’ उनले भने, ‘एयरबस र बोइङ गरेर दुई प्रकारका जहाज सञ्चालन गर्न पनि निगमलाई समस्या भएको थियो । त्यसैले एउटै प्रकारका जहाज चलाउनका लागि पनि बोइङलाई विस्थापित गर्न जरुरी भएकाले बिक्री गर्नुपर्छ ।’

निगमको पहिलो बोइङ जहाज गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टको स्वामित्वमा रहेको बीबी एयरवेजले खरिद गरेको थियो । बीबीले १५ करोड १७ लाखमा जहाज खरिद गरेको थियो ।

निगमले अहिले २ ओटा एयरबसमार्फत सेवा दिइरहेको छ भने अर्काे एयरबस असार १४ गते नेपाल आउने कंसाकारले बताए ।