ट्राभल मार्टमा सिनेमा पर्यटनको बहस, फिल्मका लागि नेपाल प्राकृतिक सेट

ट्राभल मार्टमा ३७ देशका १ सय ६० जनाको सहभागिता छ । मार्टमा ५५ स्टल र १७ जना वक्ता रहेका छन् । कार्यक्रम आइतबारसम्म चल्नेछ ।

नेपालमा रहेका प्राकृतिक सौन्दर्यलाई विश्व सिनेमामा उतारेर नेपालले सिनेमा पर्यटनमार्फत मुलुकलाई चिनाउन सक्ने फिल्मकर्मीहरुले बताएका छन् ।

नेपालको लोकेसन फिल्मका लागि प्राकृतिक सेट नै भएकाले विश्व सिनेमाको ध्यान नेपालतिर तानेर सिनेमा पर्यटनमार्फत मुलुकले विकास गर्नुपर्नेमा भारतीय निर्देशक मधुर भण्डाकरले जोड दिएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको दोस्रो हिमालयन ट्राभल मार्टमाको नेपालमा सिनेमा पर्यटनसम्बन्धी विषयमा बोल्दै भण्डाकरले देशको पर्यटन प्रवद्र्धनमा सिनेमाको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे । भारतीय सिनेमा र पर्यटनको उदाहरण दिँदै अधिकांश भारतीयहरु स्विट्जरल्यान्ड घुम्न जानुको कारण धेरै एस चोपडाका फिल्म स्विट्जरल्यान्डमा सुटिङ भएको र त्यहाँको लोकेसन फिल्ममा देखेर जाने गरेको उनले बताए ।

स्विट्जरल्यान्डका विभिन्न स्थानमा भारतीय सिनेमा सुटिङ हुँदा भारतीयहरु स्विट्जरल्यान्ड घुम्न जाने क्रम बढेको छ,’ उनले भने, ‘नेपालमा पनि राम्रो लोकेसन छ, विश्वका सिनेमा मेकरलाई नेपालमा सुटिङका लागि वातावरण मिलाउनुुपर्छ । नेपालले पनि सिनेमा पर्यटनमार्फत फड्को मार्न सक्छ ।’

सरकारले सिनेमा सुटिङका लागि एकद्वार नीति अपनाउनुपर्ने उनको भनाइ छ । ‘सरकारले नै यसका लागि एउटा टिम बनाएर विश्वभरका सिनेमा मेकरलाई एप्रोच गर्नुपर्छ,’ उनले भने ।

अभिनेता राजेश हमालले नेपालमा सिनेमा सुटिङका लागि पर्याप्त लोकेसन रहे पनि सरकारी समन्वयले विदेशी फिल्ममेकर आउन समस्या परेको बताए । ‘सिनेमामा देखेको कुरा रियल लाइफमा देख्दा अझ बढी रोमाञ्चित र यादगार हुन्छ । त्यसैले नेपालका लोकेसनलाई विदेशी सिनेमामा उतार्नुपर्छ,’ उनले भने ।

सिनेमा र पर्यटनको बहस सुरु हुनुअघि शुक्रबारदेखि सुरु भएको दोस्रो हिमालयन ट्राभल मार्टको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेका थिए । पहिलो दिन चिनियाँ पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा इन्टरनेसनल चाइना इभेस्टमेन्ट फोरमका अध्यक्ष डा. मारक्युस लीले आफ्नो धारणा राखेका थिए । त्यस्तै विलियम भ्याजक्युजले फोटोग्राफीमार्फत पर्यटन प्रवद्र्धनका अवधारणा राखेका थिए ।

ट्राभल मार्टमा ३७ देशका १ सय ६० जनाको सहभागिता छ । मार्टमा ५५ स्टल र १७ जना वक्ता रहेका छन् । कार्यक्रम आइतबारसम्म चल्नेछ ।